७ वैशाख २०८१ शुक्रबार
अन्य

संगीताको फरक यात्रा

ग्रामीण परिवेशमा हुर्केकी संगीताले बाल्यकालमा खासै ठूला सपना सजाइनन् । प्रतिष्ठित विदेशी विश्वविद्यालय पुगेर विद्यावारिधि गरौँला भन्ने सोच त छँदै थिएन ।
०५४ सालमा गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयबाट एसएलसी दिँदासम्म संगीता पुडासैनीले जीवनको लक्ष्य तय गरेकी थिइनन् । एसएलसीपछि उनले उच्च अध्ययनका लागि विषय रोज्नुपर्ने भयो । गाउँका धेरैले नर्स बन्न सुझाव दिए । अभिभावकले पनि नर्सिङका लागि प्रेरित गरे ।
सबैको साथ पाएपछि उनले थालिन्, नर्सिङ तयारी । प्रवीणता प्रमाणपत्र तहको नर्सिङमा प्रतिस्पर्धी धेरै हुन्थे । तिनलाई पछि पार्दै संगीताले त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रमाणपत्र तहमा छात्रवृत्तिमा पाइन् ।
पढाई सकिएपछि लोकसेवामार्फत उनी सरकारी नर्स बनिन् । जागिरसँगै उनले स्नातक तहको नर्सिङ (बिएन) सुरु गरिन्, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारागन्जमा । महारागन्जबाटै उनले बिएन सकिन्, ०६४ सालमा ।
संगीताका खासै ठूला सपना थिएनन्, सामान्य जीवन जिउनेबाहेक । बिएन सकिएको एक वर्षपछि उनको बिहे छिनियो, अमेरिका बस्ने गैरआवसीय नेपाली कुलप्रसाद काप्रीसँग ।
काप्रीसँग लगनगाँठोमा बाँधिएपछि सपना नदेखे पनि उनलाई ‘डिपेन्डेन्ट भिसा’ले पु¥यायो अमेरिका । न्युयोर्क पुगेकी संगीताले त्यहाँ भने आमनेपालीभन्दा फरक हुने सोचिन् । उनलाई एउटा छुट्टै सपनाले दो¥याउन थाल्यो । अनि बदलियो संगीताको जीवनपथ, अमेरिका पुग्ने अधिकांश नेपालीभन्दा फरक ढंगले ।
‘अमेरिका पुगेपछि धेरैको उद्देश्य पैसा कमाउने मात्र हुन्छ,’ न्युयोर्कस्थित सिराकस विश्वविद्यालयबाट ‘सार्वजनिक स्वास्थ्य तथा बालविकास’मा विद्यावारिधि गरेकी संगीता भन्छिन्, ‘मैलेचाहिँ पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने सोच बनाएर अघि बढेँ, परिवारको पनि साथ पाएँ ।’
अमेरिका पुग्ने धेरै नेपालीले आफ्नो अध्ययनअनुकूल काम पाउँदैनन् । त्यसैले उनीहरू अध्ययनको निरन्तरतालाई आवश्यक पनि ठान्दैनन् । धेरैको ध्यान पढाइको साटो पैसा कमाउनेतर्फ नै हुन्छ ।

देश छाडेपछि अध्ययनमा अब्बल नेपालीले समेत अध्ययन छाडेर पैसाको पछि लाग्ने गरेका छन् । पैसाकै पछि लाग्नेको जमातमा बसेर संगीताले भने पिएचडीसम्मको यात्रा तय गरिन् । त्यसका लागि उनले सजिलो बाटो हिँडेकी भने होइनन् ।


संगीताले भने सुरुमा नेपालमा लिएको बिएनलाई अमेरिकी मान्यता दिलाउन अध्ययन गरिन् । त्यसपछि सिराकस विश्वविद्यालयबाटै अस्पतालमा काम गर्दै स्नातकोत्तर तहको नर्सिङ पूरा गरिन् । सन् २०१० मा नर्सिङको स्नातकोत्तर तह पूरा गरेकी उनले त्यसको दुई वर्षपछि विद्यावारिधि गरेकी हुन् ।
‘मेरो लक भनौँ कि मेहनत, मैले मास्टर्स र पिएचडी दुवै गर्नलाई छात्रवृत्ति पाएँ,’ एक महिनाअघि नेपाल आएकी उनले गतसाता अमेरिका फर्कनुअघि भनिन्, ‘मेहनत गर्दा अमेरिकामा पुगेर पनि अध्ययनलाई निरन्तरता दिन सकिने रहेछ ।’
भविष्यमा नेपालमै फर्किएर अध्ययन (रिसर्च) तथा समाजसेवा गर्ने सोच बनाएकी संगीता अहिले पति र दुई छोराका साथ अमेरिकाको न्युजर्सी बस्छिन् । पिएचडी सकेपछि ‘ग्लोबल हेन्थ’मा ‘एड्भान्स सर्टिफिकेट कोर्स’ समेत गरिसकेकी उनी त्यहीँको एक अस्पतालमा आबद्ध छिन् । सँगसँगै रिसर्चलाई समेत अघि बढाइरहेकी छिन् ।
देश छाडेपछि अध्ययनमा अब्बल नेपालीले समेत अध्ययन छाडेर पैसाका पछि लाग्ने गरेका छन् । पैसाकै पछि लाग्नेको जमातमा बसेर संगीताले भने पिएचडीसम्मको यात्रा तय गरिन् । त्यसका लागि उनले सजिलो बाटो हिँडेकी भने होइनन् । ‘अमेरिकामा उच्च अध्ययन सजिलो भने छैन,’ उनी भन्छिन्, ‘आफैँ पैसा तिरेर पढ्नुपर्दा एकदमै महँगो छ, राम्रो विश्वविद्यालयमा भर्ना लिन पूरा गर्नुपर्ने भाषा र अन्य मापदण्ड पनि सजिला छैनन् ।’

नेपालबाट अमेरिका पुग्न पाए मात्र हुन्थ्यो भनेर मरिहत्ते नगर्न सुझाव दिँदै संगीता भन्छिन्, ‘जसरी पनि अमेरिका पुग्छु भन्ने सोचेर फाइदा छैन, अध्ययनका लागि जानु राम्रै हो ।’ भाषा र अन्य मापदण्ड पूरा गरेर छात्रवृत्तिका लागि आवेदन दिँदा पाउने सम्भावना धेरै हुने भएकाले अध्ययनमा रुचि हुनेलाई उनी आफ्नो योग्यता बनाएर मात्र आवेदन दिन आग्रह गर्छिन् ।

नर्सिङ पढेकालाई अमेरिकामा काम पाउन सजिलो हुन्छ भन्ने मान्यतालाई पनि गलत ठान्छिन् उनी । यहाँ नर्सिङ सकेकाले पनि अमेरिका गएर फेरि पढ्नुपर्छ । काम मात्र गर्नका लागि योग्यता परीक्षा पास गरे हुन्छ । उच्च अध्ययनका लागि भने निकै मेहनत गर्नुपर्छ । ‘अमेरिकामा कामभन्दा पढाइलाई महत्व दिँदा कतिपय नेपालीले खिसी समेत गर्छन्,’ उनी भन्छिन्, ‘तर अध्ययन गरेर आफूलाई निखार्नु भनेको पैसा मात्र कमाउनुभन्दा धेरै राम्रो हो, त्यसले अमेरिकामै पनि प्रतिष्ठा दिन्छ ।’

 

प्रकाशित: ९ श्रावण २०७४ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App