७ वैशाख २०८१ शुक्रबार
राजनीति

चीन-भारत विवादबारे संसदमा बहस : नेपाल मुकदर्शक भएर बस्नु हुँदैन

काठमाडौं—चीन र भारतबीच विवाद चुलिँदै गएको अवस्थामा नेपालको संसदमा सो विषयले प्रवेश पाएको छ। सोमबारको बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो विषयलाई उठाएका हुन्। चीन र भारत उत्तेजित भइरहेको दोक्लम विवादबारे नेपालका राजनीतिक दल तथा सरकारले छलफल गरी समान धारणा बनाउन आवश्यक रहेको उनले औंल्याए।

छिमेकी भारत र चीनकोबीचमा वाक युद्ध चलिरहेको भन्दै सांसद ज्ञवालीले सीमा विवादलाई लिएर भारतीय र चिनियाँ सञ्चारमाध्यमहरुले अत्यन्त उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको संसदमा बताए। दुई देशबीच स्थिति निकै असहज भनिरहँदा समेत नेपाल चुप रहेको उनले जनाए।

'भारत र चीनको बीचमा अवस्थित हाम्रो देश चारैतिर चीन र भारतबाट घेरिएको छ। संसारका अत्यन्त शक्तिशाली दुई मुलुक आजको अवस्थामा कुनै कारणले दुई देशबीच झडप भयो भने १९६२ होइन त्योभन्दा कैयौं गुना ठूलो क्षति पुग्ने अवस्था छ। नेपालको तर्फबाट हामी केही पनि बोलिरहेका छैनौं', उनले भने, ' नेपालको तर्फबाट हामीले कुनै भूमिका निर्वाह पर्छ कि पर्दैन?'

'यस सन्दर्भमा हामी नेपाली चुप लागेर मुकदर्शक भएर बस्नु हुँदैन। सबै राजनीतिक पार्टीहरुको एकीकृत धारणा, एउटै भनाइ, आवाज बन्नुपर्छ। यसमा समयमै ध्यान जानुपर्छ। होइन भने भविष्यमा स्थिति भड्किएर भयावह हुन सक्छ।'

चीन-भारत विवादबारे अमेरिकाले समेत चासो देखाइसकेको भन्दै उनले शान्तिपूर्ण ढंगले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने बताए। 'परिस्थितिले हिंसात्मक रुप नलियवस् झडपमा नजावस् भनेर अमेरिकाले बोलिसकेको छ। नेपालका जिम्मेवार पार्टीहरुले आपसमा बसेर यो विषयमा एउटा साझा धारणा बनाउनु पर्छ', उनले भने।

एकातिर भारतका जिम्मेवार व्यक्तिहरुले भारत सन् १९६२ भन्दा धेरै शक्तिशाली अवस्थामा छ भन्दैछ। अर्कोतिर चीन पनि १९६२ को स्थितिमा छैन शक्तिशाली छ, एउटा लज्जाजनक स्थितिको सामना गर्न तयार रहू भनिरहेको भन्दै उनले शान्तिपूर्ण समाधानका लागि नेपालले अाह्वान गर्नुपर्ने बताए।  भूटान र चीनको सिमानामा पर्ने दोक्लम क्षेत्रलाई लिएर दुई छिमेकीबीच भनाभन चलिरहेको हो। दोक्लम क्षेत्र आसपास चीनले आफ्नो भूभागमा सडक निर्माण थालेपछि भुटानसँगको सो सीमामा भारतीय सेना गएर बसेको छ। अाफूसँगको भुटानी सीमामा भारतीय सेनाको उपस्थितिप्रति चीनले गम्भीर अापत्ति जनाउँदै पछि हट्न चेतावनी दिइरहेको छ।

चीनले भारतीय सीमा भुटानी सीमामा आएको विषयलाई आफूमाथिको हस्तक्षेप भनिरहेको छ। यो भुटान र चीनबीचको मामिला भएको बताउँदै सीमामा भारतले फौज राख्न नपाउने दाबी गरिरहेको छ। भारतीय सेना पछि हटे मात्र वार्ता हुने चेतावनी दिँदै चीनले तिब्बती क्षेत्रमा सैन्य अभ्यास गरिरहेको भन्दै उनले यस विषयमा नेपाल सरकार र राजनीतिक पार्टीहरुको गम्भीर ध्यानाकर्षण गराए।

'समयमै यसबारे हामीले चीन र भारतलाई संयमित हुन आह्वान गर्नुपर्दछ। नेपाल गौतम बुद्ध जन्मेको देश हो', उनले भने। बुद्धले संसारका करोडौं मानिसहरुलाई शान्तिको सन्देश दिएर आपसमा मिलेर एकताका साथ अघि बढ्न सिकाएको स्मरण गर्दै सांसद ज्ञवालीले भने, 'हिंसात्मक गतिविधिबाट होइन शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्नुपर्छ। यस सन्दर्भमा हामी नेपाली चुप लागेर मुकदर्शक भएर बस्नु हुँदैन। सबै राजनीतिक पार्टीहरुको एकीकृत धारणा, एउटै भनाइ, आवाज बन्नुपर्छ। यसमा समयमै ध्यान जानुपर्छ। होइन भने भविष्यमा स्थिति भड्किएर भयावह हुन सक्छ।'

प्रकाशित: ९ श्रावण २०७४ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App