१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली धार फेर्दै, बस्ती जोखिममा

टीकापुर – तटबन्ध भासिएपछि कर्णाली नदी बर्दियातर्फ मोडिने खतरा बढेको छ । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुलको पूर्वी भागको उत्तरतर्फको तटबन्ध नदीमा भासिएको छ । स्थानीयका अनुसार करिब एक सय मिटर तटबन्ध नदीमा भासिएको हो । नदीमा दुई फिट मात्रै पानीको सतह बढ्ने बित्तिकै तटबन्ध पूर्ण रूपमा भत्किने अवस्था आएको छ । यसले गर्दा नदीले धार नै परिवर्तन गर्ने खतरा बढेको छ । नदी पश्चिमतर्फको तटबन्धमा ठोक्किएर पूर्वतर्फ मोडिएको छ । यसरी नदीले धार परिवर्तन गरे बर्दियातर्फ ठूलो क्षति पुग्ने स्थानीय बताउँछन् । 

नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायतका गाउँमा क्षति पुग्नसक्ने देखिन्छ । कैलालीतर्फको श्रीलंका टापुका गाउँमासमेत नदीले क्षति पु¥याउने खतरा उत्तिकै बढेको छ । स्थानीय लोगबहादुर बुढाले नदीले धार परिवर्तन गरे दुःखद अवस्था निम्तिने बताए । उनले ठूलो क्षतिको त्रास स्थानीयमा देखिएको बताए । ‘त्यस्तो दुःखद घटना भोग्न नपरोस्,’ उनले भने, ‘तर नदीको अवस्था निकै डरलाग्दो देखिएको छ ।’

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुल नजिकै कर्णाली नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायतका र कैलालीतर्फको श्रीलंका टापुका बस्ती जोखिममा परेका छन् 

२०४० सालअघि नदी अहिले फर्किन खोजेको ठाउँ हुँदै बग्थ्यो । सो वर्ष आएको बाढीले धार परिवर्तन गरेपछि नदी कैलालीतर्फ मोडिएको थियो । नदीले साविक धनसिंहपुर गाविसका वडा नम्बर १, २, ८ र ९ का सयौं घर बगाएको थियो ।

 अहिले नदीको धार पुरानै बाटोतर्फ मोडिन खोजेको स्थानीयको भनाइ छ । तटबन्ध भासिएको ठाउँमा ढुङ्गा र बालुवाको थुप्रो मात्रै बचेको छ । टीकापुर नगरपालिका–८ वनगाउँका राजकुमार चौधरीले २/४ दिन यता तटबन्ध भासिदै गइरहेको बताए । ‘दिनदिनै तटबन्ध नदीमा डुब्दै गएको छ,’ उनले भने, ‘तटबन्ध भन्दा माथिको भाग ढुङ्गा र बालुवाको थुप्रो हो । सानो पानीले पनि भत्किन सक्छ।’

उनले तटबन्ध गत वैशाखमा निर्माण भएको बताए । हुलाकी राजमार्ग व्यवस्थापन कार्यालयले तटबन्ध निर्माण गरेको बताइएको छ । हुलाकी राजमार्गअन्तर्गत पुल निर्माण भएपछि आसपासको क्षेत्रमा कार्यालयले तटबन्ध गरेको थियो । इलाका प्रशासन कार्यालय राजापुरका प्रमुख कृष्ण गौतमले यस बारेमा जानकारी नभएको बताए । उनले यस्तो अवस्था आए ठूलो समस्या उत्पन्न हुने बताए । ‘यसले धेरै ठूलो समस्या ल्याउन सक्छ,’ उनले भने, ‘रोकथामका लागि प्रयत्न गर्छु ।’

हुलाकी मार्गअन्तर्गतको पुल र आसपासको तटबन्ध रसुवा कन्ट्रक्सनले निर्माण गरेको हो । दुई वर्षअघि निर्माण सम्पन्न भएको पुलको पूर्वतर्फको पिल्लर नजिकैको तटबन्ध समेत गतवर्ष भासिएको थियो । पिलर नजिकै तटबन्ध भासिएको ठाउँमा बोरामा बालुवा राखेर रोकथामको प्रयास भएको थियो । अहिले माथिपट्टिको तटबन्ध समेत भासिन थालेपछि निर्माण पक्षको गुणस्तरमाथि आशंका उब्जिएको छ । तटबन्ध भासिएको जानकारी पाएपछि कन्ट्रक्सनले प्राविधिक टोली खटाएको बताएको छ । 

प्रकाशित: १० श्रावण २०७४ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App