८ वैशाख २०८१ शनिबार
खेल

अफगानिस्तानले नेपाललाई यु १९ विश्वकप खेल्नबाट रोक्यो

काठमाडौं—नेपाल यु १९ विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ। मंगलबार समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै यु १९ विश्वकपमा छनौटको अवसर गुमेको हो। सिंगापुरमा भएको खेलमा नेपाललाई हराउँदै अफगानिस्तान भने अर्को वर्ष न्युजिल्यान्डमा हुने यु १९ विश्वकपमा स्थान सुरक्षित पारेको छ।

पहिला ब्याटिङ गर्दै अफगानिस्तानले नेपाललाई १९६ रनको विजय लक्ष्य दिएको थियो। नेपाल ४०.६ ओभरमा ९९ रन बनाएर अलआउट हुनपुग्यो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। उनले ८१ बल सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरेका थिए। अन्य ब्याट्सम्यान जमेर खेल्न सकेनन्।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनाएको थियो। अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रन बनाएका थिए। त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे। जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए। अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे। डबल राउण्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगिताअन्तर्गतका यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको थियो।

प्रकाशित: १० श्रावण २०७४ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App