८ वैशाख २०८१ शनिबार
राजनीति

'मधेस एक प्रदेश' अजेन्डा ब्युँताउँदै माओवादी नेता

माओवादी नेता मातृका यादब

काठमाडौं— नयाँ संविधानले अस्वीकार गरेको ‘समग्र मधेस एक प्रदेश’ को अजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः बहसमा ल्याउने प्रयत्न थालिएको छ।

समग्र मधेस एक प्रदेशको अजेन्डामा सहमत हुने राजनीति दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा ‘मधेस भ्वाइस एसेम्बली’ गठन गरेर सो मुद्दालाई पुनः बहस र छलफलमा ल्याउने प्रयत्न गरिएको हो । त्यसका लागि ५ सदस्सीय कमिटी पनि गठन गरिएको छ।

‘राजपा र संघीय फोरम, काठमाडौं पुग्दा अजेन्डा छाडिसकेका छन्, दुवै पार्टी मधेसमा पन्चर भएको अवस्थामा छन्,’ तिवारीले भने, ‘तर, जनता अझै पनि समग्र मधेस एक प्रदेशका पक्षमा रहेकाले हामीले त्यो अजेन्डा बोक्न लागेका हौं ।’

सो कमिटीमा मातृका, राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका नेता विकास तिवारी, संघीय समाजवादी नेपाल, फोरमका नेता रिजवान अन्सारी र डा. रामकेवल साह छन् । ‘समग्र मधेस एक प्रदेशको अजेन्डालाई पुनः बहसमा ल्याउन सो एसेम्बली गठन गरिएको हो,’ सदस्य तिवारीले नागरिकसँग भने, ‘त्यसले समग्र मधेस एक प्रदेशको पक्षमा जनमत बढाउन छलफल र अन्तक्र्रिया गर्नेछ ।’ उनका अनुसार त्यस्ता छलफल र अन्तक्र्रिया जिल्लाजिल्लामा गरिने छन् ।

तिवारीका अनुसार संसद्भित्र रहेका तराई मधेसकेन्द्रित दल राजपा र संघीय फोरमलगायतले यो मुद्दालाई किनारा लगाउँदै गएपछि पुनर्जागृत गर्न एसेम्बली गठन गरिएको हो । ‘राजपा र संघीय फोरम, काठमाडौं पुग्दा अजेन्डा छाडिसकेका छन्, दुवै पार्टी मधेसमा पन्चर भएको अवस्थामा छन्,’ तिवारीले भने, ‘तर, जनता अझै पनि समग्र मधेस एक प्रदेशका पक्षमा रहेकाले हामीले त्यो अजेन्डा बोक्न लागेका हौं ।’ उनका अनुसार मधेसमा एसेम्बलीले नयाँ शिराबाट बहस गराउने छ ।

सो अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका माओवादी अर्का नेता भरत साहले एसेम्बलीलाई अन्तरपार्टी सञ्जालका रुपमा विकास गर्न लागिएको छ । ‘तत्कालका लागि माओवादी, राजपालगायत दलका नेताको सहभागिता रहे पनि अन्य जोडिँदै जानेछन्,’ साहले भने, ‘यसको मुख्य काम समग्र मधेस एक प्रदेशको अजेन्डामा जनमत निमार्ण गर्ने हो ।’ उनका अनुसार यो अभियान तत्कालै जिल्ला जिल्लाबाट सुरु गरिनेछ ।

सो एसेम्बली गठन गर्नुअघि मातृकाको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा र संयुक्त राष्ट्रिय मधेसी आन्दोलन समितिको नामबाट साउन ८ गते काठमाडौंमा एक कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त कार्यक्रमको आयोजक दुवै माओवादी भ्रातृ र शुभेच्छुक संगठन हुन् ।

उक्त कार्यक्रममा सहभागी राजपा नेता बृषेशचन्द्र लालले माओवादीका नेता पनि समग्र मधेस एक प्रदेशको अजेन्डामा आउनु स्वागतयोग्य भएको बताएका थिए । ‘पछिल्लो समयमा आएर माओवादीका नेताले पनि समग्र मधेस एक प्रदेश बनाउने भन्दै विषय प्रवेश गराउनुभएको छ, यसका लागि मातृकाजीलाई धन्यवाद दिन चाहान्छु’, लालले नागरिकसँग भने । तर, एसेम्बलीमा रहने वा नरहने भन्नेबारेमा कुनै निर्णय नलिएको लालले बताए । 

‘समग्र मधेस एक प्रदेश’ लागि जनमत जुटाउन मातृकाको नेतृत्वमा कार्यक्रम गरिएपछि माओवादी केन्द्रभित्र भने विवाद उत्पन्न भएको छ । सो कार्यक्रमप्रति माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमा नै आपत्ति जनाएका छन् । ‘हाम्रो पार्टी एक मधेस एक प्रदेशविरुद्ध दृढ छ, यो अनावश्यक मात्रै होइन, हानिककारक पनि छ, कसैमा कुनै भ्रममा नपरोस्’, श्रेष्ठले ट्विटमा भनेका छन् । तर, यादवले भने अध्यक्ष पुष्पकमल दाहालको सहमति र समर्थनमा उक्त कार्यक्रम तराई÷मधेसका जिल्लामा गर्न लागेको स्रोतको दाबी छ ।

प्रकाशित: ११ श्रावण २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App