८ वैशाख २०८१ शनिबार
राजनीति

सुविधा बढाउँदै जनप्रतिनिधि

जिल्लामा पहिलोपटक हलो जोतेर चर्चामा अाएकी थलारा गाउँपालिकाकी उपाध्यक्ष गंगु खडायत। तस्विरः रासस

सुर्खेत— स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो सुविधा बढाउन आफूखुसी निर्णय गर्न थालेका छन्। पश्चिमको चौकुने गाउँपालिकाले जनप्रतिनिधिका लागि मोटरसाइकल खरिद गर्न २० लाख रूपैयाँ छुट्याएको छ । यस्तै बराह गाउँपालिकाले अध्यक्षदेखि वडाध्यक्षसम्मलाई मासिक तलब निर्धारण गरेको छ।

जनप्रतिनिधिले विकास निर्माणमा भन्दा आफ्नो सुविधाका लागि बजेट विनियोजन गर्न थालेपछि स्थानीय भने असन्तुष्ट बनेका छन् । चौकुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र पाँचजना वडाध्यक्षका लागि नौवटा मोटरसाइकल किन्न २० लाख रुपैयाँ छुट्याएको अध्यक्ष धीरबहादुर शाहीले बताए । ‘१० वटा वडा रहेको चौकुनेमा पाँचवटा वडाले मोटरसाइकल किनिसकेका छन्,’ शाहीले भने, ‘बाँकी पाँच वडा र गाउँपालिका कार्यालयका लागि नौवटा मोटरसाइकल खरिद गर्न २० लाख रुपैयाँ छुट्याएका हौं।’

अघिल्लो साता भएको प्रथम गाउँसभाले जनप्रतिनिधिका लागि मोटरसाइकल खरिद गर्ने निर्णय गरेको थियो । ‘सबैको सुझाव लिएर हामीले मोटरसाइकल खरिद गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘जनताकै कामका लागि यी साधन प्रयोग गर्छौं ।’

स्थानीयले भने गाउँपालिकाको निर्णयप्रति सामाजिक सञ्जालमार्फत चर्को असहमति जनाएका छन् । रोजगारीका लागि दक्षिण कोरियामा रहेका चौकुनेका किरण बिसीले बिरामी बोक्ने स्टेचर नपाएर छटपटाइरहेका स्थानीयको पीडा सम्झेर मोटरसाइकल किन्नका लागि छुट्याइएको २२ लाख रुपैयाँले एम्बुलेन्स किन्न आग्रह गरेका छन् ।

अध्यक्ष शाहीले भने एम्बुलेन्स र मोटरसाइकल किन्ने कुरा फरक–फरक भएको बताए ।

‘गुठु स्वास्थ्य चौकीले एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाएको छ, गाउँपालिकाभित्रका अरू स्वास्थ्य चौकीले पनि एम्बुलेन्स खरिद गर्दैछन्,’ उनले भने । उनले सडकको स्तर राम्रो नभएको, विकट बस्ती भएको, जनतालाई सेवा दिँदा चुस्तता अपनाउन सहज होस् भन्ने उद्देश्यले मोटरसाइकल किन्ने निर्णय गरिएको बताए । ‘सार्वजनिक सवारी साधनमा चढेर जनताको सेवा गर्न सकिँदैन,’ उनले भने । उनले मोटरसाइकल किन्ने निर्णय फिर्ता नहुने पनि जनाए ।

यस्तै बराहताल गाउँपालिकाका जनप्रतिनिधिले आफ्नै लागि तलब सुविधा तोकेका छन् । चालू प्रथम गाउँसभामा लगिएको प्रस्तावमा अध्यक्षका लागि २५ हजार, उपाध्यक्षका लागि २० हजार र वडाध्यक्षका लागि १५ हजार रुपियाँ मासिक तलब तोकिएको छ ।

गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले गाउँपालिकाको आन्तरिक स्रोतबाट पाउने गरेर तलब सुविधा निर्धारण गरिएको बताए । ‘गाउँपालिकामै जनप्रतिनिधि बस्नका लागि घर भाडा तिर्नुपर्छ, यातायात खर्च चाहिन्छ,’ उनले भने, ‘तलब तोकिदिएपछि सजिलो हुन्छ भनेर गाउँसभामा प्रस्ताव लगेका छौं ।’ उनले बुधबारभित्र गाउँसभाले तलबको बारेमा निर्णय लिने बताए । बराह गाउँपालिकाको वार्षिक बजेट ३३ करोड छ । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई मासिक तलब दिँदा वर्षमा २३ लाख ४० हजार रुपियाँ खर्च हुन्छ । यसका साथै बैठक भत्ता, पर्वमा हुने खर्च जोड्दा धेरै हुन्छ ।

प्रकाशित: ११ श्रावण २०७४ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App