७ वैशाख २०८१ शुक्रबार
समाज

‘रअ’को एजेन्ट बनेर व्यवसायीसँग २० लाख माग्ने पक्राउ

‘रअ’को एजेन्ट भनेर धम्काएर पैसा माग गरेको आरोपमा पक्राउ परेकाहरु तस्बिर : रमेश पौडेल

चितवन – भारतको गुप्तचर संस्था ‘रअ’को एजेन्ट हुँ भन्दै चितवनका व्यपारीलाई धम्काएर २० लाख रुपैयाँ माग्ने व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले बुधबार भरतपुरको जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्‍यो । पत्रकार सम्मेलनमा व्यवसायीहरुको संस्था चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघका पदाधीकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

पत्रकारहरुलाई घटनाको विवरण सुनाएपछि चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपक थापाले व्यवसायीहरुलाई सम्बोधन गर्दै कसैले माग गरेको भरमा पैसा नदिन र धम्कीका सूचना प्रहरीलाई दिन अपिल गरे । सूचना पाएपछि प्रहरीले पिडितहरुको सवै परिचय गोप्य राखेर घटनाको अनुशन्धान गर्ने र धम्काउनेहरुलाई समाएरै छाड्ने एसपी थापाले घोषणा गरे ।

पीडितको सुरक्षाका लागि भन्दै चितवन प्रहरीले २० लाख रुपैयाँ कुन व्यक्तिसँग माग भएको हो भन्ने विवरण दिन अस्विकार गरेको छ । धम्काउने घटनामा संलग्न भएकाहरुलाई भने पत्रकार सम्मेलन मै उपस्थित गराइएको थियो । प्रहरीका अनुसार उनीहरु धादिङ ज्वालामुखीका ईश्वर बस्नेत, रामकृष्ण श्रेष्ठ, रोशन बस्नेत र मनोज श्रेष्ठ हुन् । उनीहरु काठमाडौंबाट पक्राउ परेको एसपी थापाले जानकारी दिए ।

‘१५ दिनअघि फोनबाट पैसा माग गर्न थालेका रहेछन् । गएको शुक्रकार एसएमएस गरेर धम्की दिन थालेको देखिन्छ । उनीहरुले पाँच पटक एसएमएस गरेको देखिन्छ । जसमा आफूहरू भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट भएको उल्लेख गरेका एसएमएसहरु समेत छन्’ एसपी थापाले भने । उनीहरुले व्यपारीलाई धम्क्याउन ‘रअ’को ऐजेन्ट भएको गलत विवरण दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एसएमएसमा मागे अनुसारको पैसा नदिए व्यवसायीको हालत दाङमा हालै मात्र अपहरणपछि हत्या भएका व्यपारीको झै हुने धम्की दिएको प्रहरीको भनाइ छ । केही वर्षअघि काठमाडौंमा हत्या भएका सञ्चार उद्यमी जमिमा शाहलाई पनि आफूहरुकै समूहले मारेको भन्ने एसएमएस लेखेर उनीहरुले ति व्यपारीलाई दवाव दिएको प्रहरीले जनाएको छ । 

सो घटनाका मुख्य अभियुक्त इश्वर बस्नेत भएको प्रहरीको भनाइ छ । उनी सशस्त्र प्रहरीका जवान पदमा भर्ना भए पनि पछि जागिर छाडेर भागेका व्यक्ति भएको प्रहरीले जनाएको छ । फोन र एसएमएसबाट धम्की आउन थालेपछि प्रहरीले उनीहरुको पिछा गरेको थियो । मोबाइल फोनबाट उनीहरु रहेको क्षेत्र पत्ता लागेपछि प्रहरीले कारवाही अगाडि बढाएको थियो । उनीहरु सोमबार काठमाडौंको एक गेष्ट हाउसबाट गिरफ्तार भएका हुन् । 

प्रहरीले उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक प्रयास अन्तर्गत मुद्दा चलाइने एसपी थापाले बताए । त्यस्तै संगठित अपराध अन्तर्गत पनि मुद्दा चल्ने छ । उनीहरुको समूहमा अरु कोही भए नभएको बारेमा प्रहरीले अनुशन्धान सुरु गरेको छ । 

प्रकाशित: ११ श्रावण २०७४ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App