coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कवि बने रंगकर्मी

प्रसुन सिन्धुलीय, सालिक भण्डारी

काठमाडौं – अभिनेता, निर्देशक वा लेखक भएर रंगमञ्चमा व्यस्त भइरहने रंगकर्मीहरू सोमबार भने फरक रूपमा प्रस्तुत भए । मञ्चमा विभिन्न भूमिकामा देखिने उनीहरू सोमबार भने कविता बोकेर फरक मञ्चमा उभिए ।

‘थिएटर मल’ नाटकघरविहीन भएपछि गरिएको पहिलो कार्यक्रम ‘पोयट्री पटरी’ सुन्ने र सुनाउने श्रृंखलामा उनीहरू कविता बोकेर प्रस्तुत भएका हुन् । थिएटर मलको रविभवनस्थित अस्थायी आवास रातो घरको डबलीमा उनीहरूले कविभन्दा पनि रंगकर्मीकै रूपमा कविता सुनाएका हुन् ।

‘रंगकर्मीमा कविता सुन्ने, पढ्ने, लेख्ने रुचि वा क्षमता भएको भन्दै थिएटर मलले ‘पोयट्री पटरी’ को पहिलो शृंखलामा ‘रंगकर्मीका कविता’ गरेको हो । जसमा लामो समयदेखि नेपाली रंगमञ्चमा सक्रियदेखि पछिल्लो समय आबद्ध भएका रंगकर्मीहरू सहभागी थिए । 

तीन जना स्थापित कविलाई अतिथि कविको रूपमा साक्षी राखेर गरिएको कार्यक्रममा ३० जना रंगकर्मीले कविता वाचन गरेका थिए । अतिथि कविका रूपमा लक्ष्मी माली, विप्लव प्रतीक र स्नेह सायमीले पनि आ–आफ्ना कविता सुनाएका थिए।

उनीहरूले रंगकर्मीका कविता सामाजिक र राजनीतिक चेतनाले भरिएको भन्दै शैली र प्रस्तुतीमा पनि कविताकै रंग रहेको औंल्याए । यसै क्रममा कवि सायमीले ठट्टा गर्दै भने, ‘रंगकर्मीका कविता सुनेर अब स्थापित कविहरू चनाखो हुनुपर्छ ।’

वाचनका क्रमका सामान्य नियम जानकारी गराइ कुनै उद्घोषणबिना ‘पोयट्री पटरी’ सुरु भएको थियो । आफ्नो वाचनपछि ‘पटरी’मा रहेकाको नाम टिप्दै गोलाप्रथाबाट पछिल्लो कविको नाम उद्घोेष गरिने नियम आयोजकले राखेको थियो।

‘पोयट्री पटरीः रङ्गकर्मीका कविता’मा कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, केदार श्रेष्ठ, सोमनाथ खनाल, राम केसी, पुरु लम्साल, टीकाभक्त जिरेल, आधा सुर, सञ्जिता सञ्जी, चे शंकर, राज शाह, लक्ष्मी वर्देवा, अंकित खड्का, जीवन भट्टराई, प्रकाश दाहाल, शुभम गणेश पौडेल, रामशरण रेग्मी, इगी होपो सुनुवार, प्रकु पाण्डेय, भूमिका चौधरी, प्रतीक दुलाल, राजिन पनेरु, प्रशुन सिन्धुलीय, सन्दीप पौडेल, अनुप न्यौपाने लगायतका रङ्गकर्मीले कविता सुनाएका थिए।

‘पोयट्री पटरी’लाई नियमित रूपमा आयोजना गर्ने थिएटर मलले जनाएको छ । कविता लेख्न सुरु गरेका नयाँ पुस्ताले कविता सुनाउन चाहेकाले आगामी ‘पोयट्री पटरी’ मा  ‘भुइँमान्छेका कविता’ आयोजना गरिनेछ ।

 

प्रकाशित: ११ श्रावण २०७४ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App