६ वैशाख २०८१ बिहीबार
समाज

७० लाख माटोमा

हालै बौद्ध सडक खण्डमा माटो हालेर खाल्डा पुर्दै ठेकेदार कम्पनीका कामदार । तस्बिर : खिलक बुढाथोकी

काठमाडौं – चाबहिलचोकमा हप्तौंदेखि पानी जमेर पोखरी बनेको छ । चुच्चेपाटीसम्म पुग्दा पोखरी, खाल्डा र हिलोबाहेक सडकमा कालोपत्रे कतै भेटिन्न । चुच्चेपाटीदेखि टुसालचोकसम्म सडक पिच छ । यहाँ बेलाबेला हुने जामबाहेक कुनै समस्या छैन। 

टुसालचोकदेखि जोरपाटी नारायणटारसम्म पुग्दा सडकमा कतै कालोपत्रे भेटिन्न । सडकमा खाल्डैखाल्डा छन् । वर्षात्को पानीले सडक तलाउ बनेका छन् । हिलोले असारे खेत जस्तै छ चाबहिल–जोरपाटी खण्डको करिब तीन किमि सडक। 

सडक बिग्रिएको झन्डै तीन वर्ष भयो । यस अवधिमा चार पटक सडकको मर्मत पनि गरियो । मर्मतकै लागि करिब ७० लाख खर्च भएको देखिन्छ । तर, सडकको अवस्था सुध्रिएको छैन।

‘ढलको समस्या समाधान नगरी सडक समस्या समाधान हुँदैन । वर्षाको पानीले निकास नपाउँदा सडक तलाउमा परिणत भएका छन् ।’

सडक विस्तार हुने क्रममा छ । चाबहिल–जोरपाटी बागमतीपुलसम्मको ३.६ किमि सडक विस्तारका लागि २०७२ असोज १३ मा युनाइटेड विल्डर्स निर्माण कम्पनीले जिम्मा लियो । स्थानीयको अवरोधका कारण विस्तारको काम अघि बढ्न नसके पनि ठेक्का लिएयता कम्पनीले चार पटक मर्मत गरिसकेको छ । सडक मर्मतका लागि करिब ७० लाख रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनायो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पनि चाबहिल–जोरपाटी खण्ड सडक विस्तारका लागि लाखौं खर्च भएको जनायो।

‘निर्माण कम्पनीले आयोजनाबाट चार करोड ३७ लाख रुपैयाँ भुक्तानी बुझेको छ,’ आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले भने, ‘त्यसमा तीन करोड ७३ लाख रुपैयाँ ठेक्कापछि पाउने मोबिलाइजेसन खर्च हो भने बाँकी मर्मत खर्च हो ।’ श्रेष्ठका अनुसार ६४ लाख रुपैयाँ सडक मर्मतमा खर्च भएको देखिन्छ ।

कम्पनीले गत असार, दसैं र भारतीय राष्ट्रपति आउँदा पुस र अहिले गरेर ४ पटक मर्मत गरिसकेको छ । तर, सडकको अवस्था भने मर्मतपछि पनि झन्झन् बिग्रँदो छ । ठेकेदार कम्पनीले सडकका खाल्डामा माटो ल्याएर हाल्दा समस्या निम्तिएको स्थानीयले बताए । ‘खाल्डा ठूलठूला भएपछि निर्माण कम्पनीले माटो ल्याएर खन्याउँछ,’ स्थानीय दुर्गाप्रसाद दाहालले भने, ‘माटोमा हिलो भएर सहज होइन, उल्टै गाडी फस्छन् ।’ उनले माटो हालेर खाल्डा पुर्नुको कुनै अर्थ नरहेको दाबी गरे।

ठेकेदार कम्पनीका सन्दीप हिराचनले माटो नभएर क्रसररन ग्राभेल हालेको बताए । ‘हामीले क्रसररन ग्राभेल हालेर खाल्डा पुर्ने काम गरेका हौं,’ हिराचनले भने, ‘त्यस्तो ग्राभेलमा माटो मिसिएको हुन्छ ।’ उसो त यही माटो पनि भलले बगाएर लैजाने गरेको स्थानीय बताउँछन् । स्थानीयको भनाइलाई आधार मान्दा अहिलेसम्म मर्मत हुँदा भएको करिब ७० लाख रुपैयाँ भने माटोमा बगेको स्पष्ट हुन्छ ।

विस्तार आयोजनाका प्रमुख दीपक केसी पनि ढलका कारण गर्दा बौद्ध सडकको समस्या समधान हुन नसकेको स्वीकार गर्छन् ।

‘स्थानीयको कारणले विस्तार कार्य अगाडि बढाउन सकिएको छैन,’ आयोजना प्रमुख केसीले भने, ‘मर्मत गर्दा पनि त्यहाँको ढल नबन्दा बगाएर लैजाने गरेको छ ।’ व्यवस्थित ढल नहुँदा भने पानी परेको बेला सडक नदीजस्तै बन्ने गरेको छ।

केसीले यस पटकको मर्मतमा ठेकेदार कम्पनीलाई माटो नहाल्न दबाब दिएको बताए । ‘माटो हालेर मर्मत नगर्न दबाब दिएका छौं,’ उनले भने, ‘अबचाहिँ गिटी हालेर केही दरिलो बन्ला ।’ केसीले पनि ढलको समस्या समाधान नगरी सडकको समस्या समाधान नहुने बताए जनाए । सडक विस्तार गर्न भने स्थानीयको अवरोधले हुने नसकेको केसीको भनाइ छ ।

निर्माण कम्पनीका हिराचनले पनि चोकड ढुंगा हालेर खाल्डा पुर्न लागेको बताए । ‘चोकड ढुंगा हालेर खाल्डा पुर्छांै’ उनले भने, ‘तर, जे हालेर पुरे पनि बौद्ध सडकको दूरवस्था भने कालोपत्रे नहुन्जेलसम्म उस्तै रहन्छ ।’  

तर, आयोजना भने कालोपत्रे गर्ने मनसायमा देखिँदैन । ‘हामीले विस्तारका लागि ठेक्का गरेका हौं,’ केसीले भने, ‘यतिकैमा कालोपत्रे गर्ने हो भने त डिभिजन कार्यालय छँदै छ नि ।’ उनले विस्तारपछि मात्रै कालोपत्रे हुने संकेत गरे । तर, विस्तार कहिलेसम्म हुन्छ भन्ने आधिकारिक मिति केसीसँगै छैन । स्थानीयको अवरोध हटे दुई वर्षमा विस्तार हुने अनुमान केसीको छ । तर, मापदण्ड मिचेर बनाएका संरचना हटाएर सडक विस्तारका लागि वातावरण तय गर्ने मनसायमा स्थानीय देखिन्नन् ।

 

प्रकाशित: १५ श्रावण २०७४ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App