७ वैशाख २०८१ शुक्रबार
कला

चित्रमा सुन्दरताको भाषा

सार्क आर्टिष्ट क्याम्पमा चित्र कोर्दै कलाकारहरू । तस्बिर : चाँदनी हमाल

काठमाडौं – सार्कराष्ट्रका कलाकार यतिखेर नेपालको राजधानीमा छन् । सार्क आर्टिष्ट क्याम्पमा सहभागी हुन आएका उनीहरूले शुक्रबार अन्तरदेशीय कलामा सुन्दरताको बारेमा गम्भीर छलफल गरे भने शनिबार सोही विषयलाई चित्रमा जोडे । फरक देश, फरक संस्कृति र भाषाका कलाकार भए पनि कुचीले बोल्ने विषय सुन्दरता रह्यो । उनीहरूले शनिबार गोकर्ण रिसोर्टको हरियालीमा बसेर ‘सेक्रेट अफ ब्युटी एण्ड ब्युटी विथ नेचर’ शीर्षकमा चित्र कोरे ।

परम्परागत कलाबाट सहभागी भएका कलाकार लोक चित्रकारले परम्परागत कलाको आधार लिँदै त्यसमा आधुनिकता भरे । दुई वटा थिम मध्ये उनले पहिलो थिममा करुणामय चित्र गरे । चित्रमा उनले भिक्षुले घाइते कुकुरको उपचार गरेको देखाइएका छन् । भगवानको खोजी गर्दै ध्यानमा बसेका भिक्षुले धेरै महिनासम्म भगवान भेटेनन् । ‘निराश भएका निस्केका उनले गुफा बाहिर घाइते कुकुर भेटे,’ लोक चित्रकारले आफ्नो चित्रको विषय बताए, ‘किरा परेको कुकुरको घाउमा आफ्नो मासु काटेर राखिदिए अनि कुकुरको उपचार गरे । त्यहीनेर उनले भगवान देखे ।’

सार्कसँगै विभिन्न देशबाट आएका कलाकारले शनिबार सुन्दरतालाई प्रकृतिसँग जोडेर क्यानभाषमा प्रस्तुत गरे । 

‘प्रकृतिसँग सुन्दरता’ सम्बन्धी थिममा पनि उनले परम्परागत र आधुनिक कलाको फ्युजन गरेका थिए । मिथिला कलाका पारंगत कलाकार एस.सी.सुमनले मिथिला कलाबाटै आधुनिकता दिने प्रयास गरे । ‘जे जानेका छौं, त्यसैमा कन्टेम्पोररी आभास दिने हो,’ उनले भने, ‘मिथिलाकलासँग मिसिएर बनेको सुन्दर स्वयम्भूले यही भन्छ ।’ मिथिला कलाबाटै आएकी नम्रताले पनि सुन्दरतालाई आधुनिक मिथिला फ्लेवरमा ढालेकी छिन् । 

कलाकार उदयचरण श्रेष्ठले काठमाडौं उपत्यकाको सुन्दरतालाई चित्रमा उतारे । वरिपरि सुरक्षा दिएर बसेका अष्टमात्रिकाको रहस्य खुलाउँदै उनले कुमारी देवीलाई बीचमा  राखेको चित्र आकर्षक देखिन्छ । ल्यान्डस्केपमा ज्योतिप्रकाश विकले बनाएको कलात्मक मन्दिरको सहर काठमाडौंले पनि यहाँको सुन्दरता देखाएको छ ।

अनिता खनालको सुन्दर प्राकृतिक चित्र निकै मनमोहक देखिन्छ । उनले नेपाली प्रकृतिको सुन्दरतालाई चित्रमा उतार्न पाउनु सौभाग्य रहेको बताइन् । स्वदेशी कलाकारले मात्र हैन, विदेशी कलाकारले पनि आफ्नो मनमा लागेको नेपाली सुन्दरता चित्रमा उतारे । भारतीय कलाकार हर्षवर्दन नेपालले स्वयम्भूको ध्वनिलाई  कोरेका थिए । ‘त्यही धुनका सुन्दर तरंग र भावना कलामा खोजेको छु,’ उनले भने ।  

बिहानैदेखि आफ्नै सुरमा रिसोर्टको गल्फ खेल्ने स्थान आसपास छरिएर चित्र बनाएका कलाकारले राति अबेरसम्म चित्र बनाएका थिए । माल्दिभ्सका कलाकार आज्मीले क्यानभाषमा हिमाली भेगको कथा कोरे । सबैले चित्र बनाएको देखेर सार्क कल्चर सेन्टरकी सह–निर्देशक किसानीले पनि चित्र कोरिन् । ‘म चित्रकार हैन तर यहाँ सबैले बनाएको देखेर कोर्दैछु,’ उनले भनिन् ।

नेपाल, श्रीलंका र माल्दिभ्सका कलाकारले बढी जसो प्रकृतिकै काखमा बसेर चित्र कोरे । केही कलाकार भने बाहिरको अनुभूतिलाई कोठैभित्र बसेर क्यान्भासमा उतार्दै थिए । आयोजक पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव भरतमणि सुवेदीसहितका पदाधिकारी भने कलाकारका आवश्यकता पूरा गर्न दौडादौड गरिरहेका थिए । क्याम्पमा सार्कसँगै विभिन्न देशका ४० कलाकार सामेल छन् । सोमबारसम्म चल्ने क्याम्पको तेस्रो दिन आइतबार कलाकारले राजधानीका प्राकृतिक सम्पदाको अवलोकन गर्नेछन् । चौथोदिन क्याम्पमा बनेका कलाको प्रदर्शनीसँगै समापन हुनेछ । 

प्रकाशित: १५ श्रावण २०७४ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App