८ वैशाख २०८१ शनिबार
कला

पुस्तकमा डा. नारायणगोविन्द

काठमाडौं- नेपालमा क्षयरोग निवारणका क्षेत्रमा योगदान दिएका डा. नारायणगोविन्द अमात्यको सम्झनामा पुस्तक प्रकाशित भएको छ। 'डा. नारायणगोविन्द अमात्य, सम्झनाका श्रद्धाञ्जली पुष्प श्रद्धासुमन' कृतिको संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार ललितपुरमा विमोचन गरे।

आफ्नो पेसाबाहेक जीवनभर मानवीय सेवामा समर्पित डा. अमात्यको ८५ औं जन्मजयन्ती एवम् दशौं स्मृति दिवसका अवसरमा उक्त ग्रन्थ प्रकाशित गरिएको हो। कार्यक्रममा संस्कृतिविद् जोशीले आफूले डा. अमात्यलाई नजिकबाट चिनेको तर कृति पढ्दा उनलाई निःस्वार्थी चिकित्सक र समाजसेवीका रूपमा धेरै मानिसले चिनेको पाएको बताए।

चेस्ट फिजिसियन डा. गौरीशंकर लाल दासले डा. अमात्यले संसार छाडेको १० वर्ष बितिसके पनि उनको योगदान धेरै कालसम्म स्मरणीय रहने बताए।

धेरै बिरामीलाई नयाँ जीवन दिएका डा. अमात्यले नेपाल, भारत, बेलायतमा रहेर स्वास्थ्य क्षेत्रमा योगदान दिएका थिए। उनकै नेतृत्वमा ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र सार्क क्षयरोग केन्द्रका रूपमा विकास गरिएको थियो। उनले नेपाल मेडिकल संघ, नेपाल क्षयरोग निवारण संस्था, नेपाल बेलायत समाज, राष्ट्रिय पोलियो उन्मूलन समिति, नेपाल छाती तथा क्षयरोग संघ, रोटरी क्लबको नेतृत्वमा रहेर काम गरेका थिए।

अमात्य पत्नी डा. रोशनाले पतिका यिनै योगदान चीरस्मरण गराउने उद्देश्यले स्मृति ग्रन्थ प्रकाशित गरेको बताइन्। कार्यक्रममा देवेन्द्रबहादुर प्रधान, डा. केदारनरसिंह केसी, डा. शरदचन्द्र बर्मा, टीकामान वैद्य, दिवाकर राजकर्णिकार, कमल राणा, डा. आशिष अमात्य, डा. अर्चना अमात्यलगातले नारायणगोविन्द अहिले यस धर्तीमा नरहे पनि उनले स्वास्थ्य क्षेत्रमा दिएको योगदानले सम्झाइरहने बताए।

प्रकाशित: १६ श्रावण २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App