coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

परिवार नै क्यानभासमा

सुरुमा सोखले चित्रकलामा तानिएका पोखराका बुद्धि गुरुङलाई चित्र कोरेरै नाम र दाम कमाउन सकिन्छ भन्ने लागेको थिएन । अहिले उनले चित्रकलाबाटै सम्पूर्ण जीवनवृत्ति चलाएका मात्रै छैनन्, दामसँगै नाम कमाउँदा सन्तुष्ट पनि छन् । त्यति मात्र होइन अहिले उनको परिवार नै क्यानभासमा रमाएको छ ।
सिंगो क्याभास जस्तो पोखराको मनोरम प्रकृतिले चित्र कोर्न प्रेरित भएका गुरुङको पेन्टिङ यात्रा सात कक्षा पढ्दाबाटै सुरु भएको हो । राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा पढ्दा शिक्षिका वसन्ती गौचनले वर्षे बिदाको अवधिमा विज्ञानका सबै चित्र बनाएर ल्याउन भनिन् । बिदापछि विद्यालय आउँदा केहीले थोरै चित्र उतारेर ल्याए, धेरैले ल्याउँदै ल्याएनन् । उनले भने सबै चित्र उतारेर बुझाए । त्यो पनि सबैको भन्दा सुन्दर । उनको कलालाई मिसले मात्रै तारिफ गरिनन्, कक्षामा सबै विद्यार्थी र शिक्षककले मन पराए । त्यसबेलादेखि नै उनी स्कुलभरि नै चित्रकार भनेर चिनिन पुगे ।
आफू बस्ने वरिपरि नै बिहानको सफा आकाशमा माछापुच्छे« हिमाल छ्याङ्ग खुल्थ्यो । खरले छाएका र रातोमाटोले लिपेका घरको दृश्य आफैँमा चित्रजस्ता देखिन्थे । उनी त्यही हेरेर दृश्यचित्र तयार पार्ने गरेको अनुभव सुनाउँछन् । ‘बिहान उठ्यो, हिमाल हे¥यो, चित्र बनाउन मन लागिहाल्ने,’ उनी भन्छन् । आफूले बनाएका चित्र उनले आफ्ना गुरु दुर्गा बराल ‘वात्सायन’लाई देखाउँथे । वात्सायनले उनको कलालाई हौस्याइदिन्थे । आफूसँगै कला सिकेका हरेराम जोजिजू, यादवचन्द्र भूर्तेल, विश्वरत्न शाक्य र गोपाल श्रेष्ठ पनि उनको संगतमा थिए ।
त्यस बेला तेर्सापट्टीमा नेपाल ललित कला (नाफा) को शाखा थियो । त्यस पसलमा चित्रहरू बिक्री भइरहेको देखेपछि हरेराम र बुद्धिलाई पनि आफ्ना चित्र बेच्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । साथीसंगत बढ्दै जाँदा हरेराम, यादवचन्द्र भूर्तेल, विश्वरत्न शाक्य, गोपाल श्रेष्ठलगायत नौ जनाको टोली बन्यो । त्यत्रो ठूलो टोली बनेपछि अब आर्ट ग्यालरी खोल्नुपर्छ भन्ने ध्याउन्न सुरु भयो । पोखरा एयरपोर्ट छेउमै ग्यालरी खुल्यो–जसको नाम थियो फाइन आर्ट ग्यालरी । बुद्धिले त्यहाँ बसेर चित्र पूरा गर्न नपाउँदै त्यही बाटो भएर हिँड्ने पर्यटक पर्खिएरै पनि बनाउँदैको चित्र किन्न थाले ।
चित्र बेचेरै रानीपौवामा दुई तले घर र अन्य ठाउँमा घडेरी जोड्न भ्याएका उनी कलालाई बेच्ने वस्तु मात्रै भने ठान्दैनन् । ‘पेन्टिङमै मन लागेर गरेको काम हो,’ उनी कलाकारितामै लागिरहनुको रहस्य सुनाउँछन्, ‘बेच्ने नै भनेर मात्रै कसैले यस्तो बनाइदे भन्दैमा चित्र बनाउँदिनँ । मन लागे बनाउँछु । मन लागेर बनाएको अरुलाई मनपर्दाे रहेछ र किन्दा रहेछन् ।’ आफ्नो मनले रोजेको विषयबाहेक कसैको दबाबमा भने उनले चित्र बनाउँदैनन् ।
पोखराबाट उत्तरी डाँडो अर्मलाकोटमा जन्मिएका हुन्, गुरुङ । अर्मलाको फेदीतिर पर्छ बाटुलेचौर । बाटुलेचौरमा गन्धर्व गाउँ छ । गन्धर्वका सारंगीको धुनले बुद्धिको मनैसम्म छुन्थ्यो । त्यसलाई उनले रङको सन्तुलन मिलाएर क्यानभासमा उतार्थे । काठमाडौंमा रिक्सा चालकको संघर्ष देख्दा पोखराका उनलाई अचम्म लाग्थ्यो । अनि त्यही अचम्मपनालाई क्यानभासमा शृंखलाबद्ध रुपमा रिक्साचालकका चित्र कोरे । ‘रिक्सा चलाउनेहरू सबै पहाडबाट झरेका थिए । त्यसबाट म प्रभावित भएँ । झन्डै दुई सय वटा चित्र सिरिजमै कोरेँ’ बुद्धि भन्छन् । इमानदार कर्मबाट जीवनमा आशाको बत्ती बल्छ भन्ने उनका चित्रका सन्देश थिए । मूर्धन्य कलाकार लैनसिंह वाङ्देलले बुद्धिका कलामा रङको सन्तुलन प्रभावकारी र अर्थपूर्ण हुने गरेको लिखित टिप्पणी नै गरेर उनलाई स्याबासीको धाप लगाइदिएका थिए । यसले उनलाई झन् ऊर्जा थपिदियो ।
‘थिम’मा आधारित शृंखलाबद्ध चित्रहरू कोरेका बुद्धिले थुप्रै पटक एकल चित्रकला प्रदर्शनी गरिसके । काठमाडौंमा त उनले सन् १९८६ देखि १९८५ सम्म पटकपटक एकल चित्रकला प्रर्दशनी गरे । सामूहिकमा पनि अनेक पटक भाग लिएका छन् । प्रदर्शनीकै लागि भारत, बाङ्लादेश, हङकङ र दक्षिण कोरियासम्म पनि पुगे । उनको कला अन्तर्राष्ट्रिय कूटनीतिक निकायमार्फत अमेरिका, बेलायत, जापान, जर्मनी, डेनमार्क, थाइल्यान्ड, हल्यान्ड, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड पुगिसकेका छन् । दक्षिण कोरियाका डा. रि त उनको कलाबाट यति प्रभावित भए कि बुद्धिलाई भेट्न पोखरामै आए । बुद्धिलाई कोरिया भ्रमण गराए । अहिले पनि रिले बेलाबेलामा सम्झिरहन्छन् । क्यानभास, कलाका राम्राराम्रा किताब रिले पठाइदिन्छन् । ‘कलाकारितामा अहिलेसम्म रहिरहन डा. रिको योगदान पनि उत्तिकै छ,’ बुद्धिले विदेशी डा. रिको योगदालाई सम्झिए ।
बुद्धिलाई उनकी एकल आमाले हुर्काइन् । उनी ६ वर्षको छँदै  बाबाले संसार छाडेका थिए । ब्रिटिस लाहुरे बाबाको याद उनलाई छैन । त्यसैले पनि अरुजस्तै लाहुरे हुने मोह उनमा जागेन । आमालाई आउने पेन्सन नाम मात्रको थियो । बुद्धिकी दिदी लाहुरे भेनासँग भारत गएपछि आमा श्रीमाया छोरालाई पढाउने भनेरै अर्मलाबाट पोखरा झरिन् । जेनतेन दस कक्षासम्म पढाइन् तर यतिञ्जेल उनमा कलाको रन्को चढिसकेको थियो । त्यसैले बुद्धिले त्यसभन्दा माथि पढाइ बढाउन चाहेनन् । पढाइभन्दा चित्र कोर्नमै बढी ध्यान गयो ।
बुद्धिका तीन छोरी छन् । उनीहरु पनि कला क्षेत्रमा उनका उत्तराधिकारी भइसके । पत्नी हरिमायाले उनलाई सधंै कलामा लागिरहन साथ दिइन् । तीनओटी छोरी ज्योति, क्रान्ति र हेमकान्ति तिनैजना बाबुकै बाटोमा हिँड्न सुरु गरिसकेका छन् । पोखराका नवोदित कलाकारमा बुद्धिका तिनै छोरीहरू अग्रणी छन् । माइली अहिले जापान गएकी छन् भने जेठी ज्योति र कान्छी हेमकान्ति कलाकै क्षेत्रमा पूर्ण रुपमा समर्पित छन् । हेमकान्ति त पोखराको अग्रणी वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवारको कला संयोजक भएर काम गरिरहेकी छन् । ‘मैले धेरै फिल्डमा काम गरेँ तर आनन्दचाहिँ आर्टमै लाग्यो,’ हेमकान्तिले परिवारै कलाकारितामा लाग्नुको रहस्य सुनाइन्, ‘बाबाले सपोर्ट गर्ने भएपछि कलामा लाग्न सजिलो भयो । त्यसैले हामी परिवारै कलामा रमाएका छौं ।’ हेमकान्ति र  ज्योति दुवै स्थानीय विद्यालयमा कलाकारिता सिकाउँछन् । ज्योति वुमन आर्टिस्ट फेमिली ग्रुपकी अध्यक्ष पनि हुन् । बुद्धि पनि २०४२ सालदेखि नै एसओएस गण्डकीका कला शिक्षक छन् ।
बुद्धिको अधिकांश समय पोखरा रानीपौवास्थित घरमा बित्छ । घरमै उनले बुद्धिज एटलियर खोलेका छन् । एटलियर अर्थात स्टुडियो । त्यहीँ उनले अनेकन आकृति बनाउँछन्, त्यसमै रमाउँछन् । हरेक दिन उनले घरमै प्रशिक्षार्थीलाई सिकाउँछन् । कलाप्रतिको समर्पणकै कारण उनले अनकौं सम्मान पाएका छन् तर कलाले दिएको सन्तुष्टि पुरस्कारभन्दा महŒवपूर्ण हुने उनको भनाइ छ ।
सुस्तरी बोल्ने बानी छ बुद्धिको, मिजासिलो व्यवहार गर्छन् । त्यसैले होला, उनलाई मन पर्ने रङ पनि शान्तिपूर्ण छ, नीलो र पानी रंग । प्रायः प्रकृतिका दृश्यचित्रमा रमाउन चाहने बुद्धि ठ्याक्कै त्यस्तै दृश्य भने उतार्दैनन् । दृश्यले आफूमा कस्तो भाव उत्पन्न गराउँछ त्यसैअनुसार उतार्छन् । ‘अनुभूतिलाई पनि मिसाउँछु, यसो गर्दा चित्र अझ राम्रो बन्दोरहेछ’ उनी भन्छन् ।
प्रकृतिका हरेक कुरामा उनी सिर्जना भेट्छन् र त्यसलाई नै चित्रमा उतार्छन् । घोरेपानी यात्रामा गएका बेला देखेको लालीगुराँसको जंगल र त्यहाँका बोट–बुट्यानबाट प्रेरित भएका उनले रुख आपसमा अंकमाल गरेर मिलिजुली बसेजस्ता ठाने । कताकता आवाजै निकालेर बोलेजस्तो पनि लाग्यो । अनि त्यसै भावलाई पहाडको ध्वनि शीर्षक दिएर चित्रशृंखला कोरे । अन्नपूर्ण क्षेत्रको अर्काे यात्रामा जाँदा अजंगको चट्टानी पहरा हुँदै छाँगो खसिरहेको देखे । सहयात्रीले छाँगोको सौन्दर्य खिचे तर बुद्धिलाई लाग्यो– पानीले चट्टानसँग ठूलै संघर्ष गरेर आफ्नो बाटो तय गरेको छ । त्यस्तै भाव उत्रने चित्र तुरुन्तै कोरे । बुद्धिलाई भट्टी पसलले पनि उत्तिकै प्रभाव पा¥यो । अनि भट्टी पसलको शृंखलाबद्ध चित्र कोरे । प्रकृतिका चित्र कोर्दा पानी रङलाई पारदर्शी तवरले प्रयोग गर्न उनी खप्पिस छन् । रङको भाषा र व्याकरणलाई ठीकठीक ढंगले मिलाउन पोख्त छन् । अनि रङहरुको सन्तुलनमा सामञ्जय त उनको विशेषतै भइहाल्यो । बढ्ता त पानी रङकै प्रयोगमा उनको ब्रस चल्छ तर एक्रेलिक र आयल कलरलाई पनि उत्तिकै प्रयोग गर्न भ्याएका छन् । ५८ वर्ष टेक्दाटेक्दै उनका चित्रको संख्या आठ हजारभन्दा बढी पुगिसकेको छ ।

तस्वीर : छवि मगर

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १६ श्रावण २०७४ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App