१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'यहाँका सहर सम्झँदा मन खिन्न हुन्छ'

नम्रता सापकोटा, अभिनेत्री

तपार्इंलाई मनपर्ने सहर कुन हो?

मलाई सफा, हरियाली र प्रदूषणमुक्त सहर मनपर्छ। नेपालका थोरैमात्र सहरमा यी कुरा पाउन सकिन्न। काठमाडौं सहर पछिल्लो समय एकदमै फोहोर र अव्यवस्थित भएको छ। पहिला–पहिला मलाई काठमाडौं धेरै राम्रो लाग्थ्यो। तर पछिल्लो समय म बाध्यताले मात्रै काठमाडौं बसेकी छु भन्ने महसुस हुन्छ। नेपालको सहरमध्ये सबैभन्दा राम्रो पोखरा र चितवनको सौराहा मनपर्छ। यी ठाउँ सफा र आनन्द दिने खालका छन्।

तपाईं विदेशी मुलुकका धेरै सहर घुम्नुभएको छ, तीमध्ये मनपरेको सहर कुन हो?

बाहिर सहर हाम्रा सहरभन्दा धेरै राम्रा छन्। हामी नेपालबाट बाहिरीनासाथ प्रदूषण र फोहोर खासै देख्नु पर्दैन तर अरु देशबाट नेपाल आउँदा फोहोर भइन्छ। म पछिल्लोपल्ट जापानको नागोया गएकी थिएँ। यो सहर एकदमै राम्रो लाग्यो। त्यहाँको बाहिरी वातावरणदेखि घर सबै सफा छन्। पुराना बस्तीका आफ्नै विशेषता रहेछ।

बाहिरी मुलुकका सहर घुम्दा हाम्रो देशका सहर कस्तो छन् जस्तो लाग्छ?

विदेशका सहर घुम्दा मन खिन्न हुन्छ। हाम्रा सहर पनि यस्तै सफा किन बन्न सकेनन् भन्ने जिज्ञासा उब्जिन्छ। विदेशका जस्तै हाम्रा सहर सुरक्षित पनि छैन जस्तो लाग्छ। विकासको हिसाबले पनि हामी पछाडि नै छौं। सरकारले चासो नदेखाउँदा हाम्रा सहर पछाडि परेका हुन्। अलिकति व्यवस्थित पार्ने हो भने यी नमुना बन्न सक्छन्। यहाँ विदेशका कुनै पनि ठाउँमा पाउन नसकिने प्राकृतिक सौन्दर्यता छ। विदेशमा सडक व्यवस्थित छ। ट्राफिक नियम पनि कडा छ। सबै मिलेर यहाँका सहर पनि त्यस्तै बनाउनुपर्छ। 

तपाईंको सपनाको सहर कस्तो हुनुपर्छ?

मेरा सपनाको सहर हरियाली होस्, बाटोमा हिँड्दा पनि हरियो देख्न पाइयोस्। घरनजिकै बेेलुकीपख घुम्न निस्कने ठाउँ होस्। फोहोर र प्रदूषण देख्न नपरोस्। मेरो सपनाको सहर पोखरा र चितवनको सौराहा हो। म जहाँ गए पनि यी ठाउँलाई एकदमै माया गर्छु। सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषय केन्द्रमा राखेर काम गर्ने हो भने काठमाडौं पनि राम्रो हुन सक्छ।

काठमाडौं उपत्यकाको मनपर्ने पक्ष के हो?

यहाँको मनपर्ने पक्ष पुराना बस्ती र खानाका परिकार हुन्। फोहोर भए पनि हामीले चाहेका सबै सुविधा यहाँ सजिलै पाइन्छ। सरकारले काठमाडौंलाई सपार्ने हो भने यो सहरले धेरै पयर्टक पनि तान्छ जस्तो लाग्छ।

फेसन र साथीभाइ भेटघाटमा कत्तिको रुचि राख्नुहुन्छ?

म आफूलाई सजिलो लाग्ने पहिरन मन पराउँछु। खासगरी हाफ पाइन्ट, चप्पल, टिसर्ट लगाएर हिँड्छु। कहिलेकाहीँ ठाउँ अनुसारको परिरन पनि गर्छु।

सहरवासीको मननपर्ने बानी के हो?

मैले विदेशका धेरै ठाउँ घुमें। ती ठाउँमा बस्दा र घुम्दा राम्रो भएपनि राम्रो मन भएको मान्छे भेट्न सकिनँ। बाहिरी कुरा जस्तो भएपनि मान्छे चाहि नेपाली नै राम्रो लाग्यो। सबैजना मिलेर काम गर्ने हो भने सहर राम्रो बन्छ। विदेशीको तुलनामा नेपाली एकदमै मनकारी र दयालु छन्।

सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला?

केही गर्नु पदैन। मात्र भएको नीतिनियम र योजनालाई मूर्त रूप दिन सक्नुपर्छ। म आफैले पनि बाटो हिँड्दा धेरै समस्या भोगेकी छु। कहिलेकाहीँ त काठमाडौंमा बस्नै नपरेपनि हुन्थ्यो जस्तो लाग्छ। तर सबैथोक यही भएकोले बस्न बाध्य भइन्छ। आखिर सबैजना मिलेर गर्ने हो भने सहर यतिसाह्रै फोहोर हुँदैन्थ्यो होला। कहिलेकाहीँ बाटोमा हिँड्दा केही खाएकी छु भने त्यसको फोहोर झोलामा राखेर घरमा ल्याएर फ्याक्छु। सहरको सुन्दरताप्रति सबैजना सचेत भएर काम गर्ने हो भने सहर राम्रो बन्न सक्छ। सरकारले पनि ल्याएका योजनालाई तुरुन्तै कार्यान्वयनतर्फ लाग्न जरुरी देखिन्छ।

साथीभाइसँग कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ?

म साथीहरूसँग खासै हिँड्दिन। कहिलेकाहीँ मौका मिल्यो भने सौराहा र पोखरा जान्छु। यी ठाउँमा गएपछि आनन्द मिल्छ।

सहरको मनपर्ने खानेकुरा के हो?

मलाई सहरको मम र यहाँ पाक्ने हरेक खानेकुराको बास्ना एकदमै मनपर्छ। पहिलापहिला मम एकदमै खान्थें। झोल मम भनेपछि मेरो मन पनि हुरुक्कै हुन्थ्यो। तर, आजकाल अली कम गरेकी छु। साथीभाइ भेट्दा प्रायः कफी खाने चलन छ।

तपाईं केही समयका लागि प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो?

सुरुमा काठमाडौं उपत्यका र उपत्यका बाहिरिने सडक बनाउँथे। यी समस्या समाधान गरेपछि धेरै समस्या सुल्भि्कन्छन्। त्यसपछि सहरवासीका मुख्य समस्या हेरेर काम गथर्ें।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १६ श्रावण २०७४ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App