coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

बुबा खोज्दै जाँदा १६ वर्षअघि जब विनयजंग बस्नेत शिक्षण अस्पतालको बेवारिसे शव कक्ष पुगे, उनमा अनौठो इच्छा पलायो– बेवारिसे शवको दाहसंस्कार गर्ने।

त्यही अठोट पूरा गर्न उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

०००

ललितपुर, टीकाथलीबाट साथीको घरमा जान्छु भनेर हिँडेका बुबा श्यामबहादुर तीन दिनपछि शिक्षण अस्पतालको बेवारिसे शव कक्षमा भेटिए।

'गाडीको ठक्करबाट बुबाको मृत्यु भएको रहेछ,' विनयले १६ वर्षअघिको घटना सुनाए, 'खोज्दै जाँदा शिक्षण अस्पतालको बेवारिसे शव कक्षमा बुबाको शव भेटियो।' शव कक्षमा उनका बुबाको मात्रै होइन, थुप्रै शव राखिएका थिए।

'समयमै बुबाको शव पायौं भाइ, कम्तिमा शव त कुहिएन,' शव कक्षका पालेले उनलाई भने, 'यहाँ कयौं शव लामो समयदेखि बेवारिसे छन्।' कुहिएर गन्हाएपछि कति फोहोरको गाडीमा हालेर फालेको ती पालेले बताए। पालेको कुराले उनको मन छोयो। दिवंगत आत्माको शान्तिका लागि बेवारिसे शवको दाहसंस्कार गर्ने इच्छा जाग्यो।

तर, उनीसँग दाहसंस्कारलाई आवश्यक पैसा थिएन। यसले उनको चाहना पूरा हुन सकेन। उनले पैसा कमाएपछि यो काम गर्ने अठोठ लिए।

यसअघि नै उनकी आमा स्वर्गारोहण भएकी थिइन्। आमाबुबाबाट टाडिनुको पीडाले उनी दुर्व्यसनीमा फस्दै गए। पाँच/सात वर्षसम्म दुव्यर्सनमै फसे।

मामाको छोरा नवीन खड्का अमेरिकाबाट फर्केपछि उनलाई पुनस्थार्पना केन्द्रसम्म पुर्‍यायो। उनी चौभारको रिजमण्ड फेलोसिप नेपाल पुनर्स्थापना केन्द्रमा तीन महिना बसे। उनी अहिले त्यही काम गरिरहेका छन्।

पुनर्स्थापना केन्द्रमा बसेपछि उनी अठोठ पूरा गर्न लागिपरे। पुनर्स्थापना केन्द्रमा मोटिभेसन कक्षाबाट कमाएको रकम अहिले उनी दाहसंस्कारमा खर्चिने गरेका छन्। 'आधा दर्जनभन्दा बढी पुनर्स्थापना केन्द्रमा मोटिभेसन कक्षा लिने गरेको छु,' विनयले भने, 'त्यहीको पारिश्रमिकबाट बेवारिसे शवको दाहसंस्कार गर्न खर्च चलाइरहेकोे छु।'

०००

तीन वर्षअघि उनी पुनर्स्थापना केन्द्रबाट कक्षा सकाएर फर्किदै थिए। इमाडोलको एउटा पार्टीमा बेवारिसे बिरामी छटपटाइरहेको देखे। त्यहाँ अरु मान्छे पनि थिए। तर, कसैले सहयोग गरेनन्।

बिरामीलाई उनले किस्ट अस्पताल पुर्‍याए। तर, अस्पतालले भर्ना गर्न मानेन। उनले चिकित्सकको सल्लाहअनुसार बिरामीका लागि औषधी किनिदिए। पछि उक्त बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो। त्यसको केही दिनपछि बिरामीको मृत्यु भयो। विनयले पहिलोपटक दाहसंस्कार गरेको बेवारिसे सव त्यही नै थियो।

०००

'नियम अनुसार मृत्यु भएको ३५ दिन पुगेपछि कानुन प्रक्रिया पुर्‍याएर दाहसंस्कार गर्न मिल्छ ,' उनले भने। 

एउटा शवको दाहसंस्कारका लागि ८–११ हजार रूपैयाँसम्म खर्च हुने गरेको छ। दिवंगत आत्माको शान्तिका लागि दाहसंस्कार गरेको १३ दिनपछि पूजा गर्छन्। त्यति मात्र होइन, प्रत्येक बिहान दागबत्ती दिएका शवको सम्झनामा धुप सल्काउने गरेको विनय बताउँछन्।

'शवमा दागबत्ती दिएपछि दिवंगत आत्माले शान्ति पाएर मेरै आमाबुबा भएको ठाउँमा पुगे होलान जस्तो लाग्छ,' उनले भने।

बेवारिसे शव दाहसंस्कार गर्न उनलाई प्रहरीबाट नै बढी सम्पर्क आउँछ। बाटोघाटोमा बेवारिसे भएका बिरामीलाई पाटन अस्पतालसम्म पुर्‍याउने र मृत्यु भएको खण्डमा प्रहरीले नै विनयलाई सम्पर्क गर्छ। उसो त पाटन अस्पतालले पनि विनयलाई सम्पर्क गर्छ।

'अस्पतालले अनुमति दिएपछि पाटनमा रहेका ९ शव एकै पटक दाहसंस्कार गराए,' उनले भने, 'त्यसपछि पाटनमा अहिलेसम्म शव थन्काएर, कुहाएर वर्षौसम्म राख्नुपरेको छैन।' बेवारिसे शव आएको खण्डमा ३५ दिन पुग्नेबितिकै विनय गएर दाहसंस्कार गर्छन्।

बेवारिसे शबको दाहसंस्कारमा स्थानीय तह तथा प्रहरीले विनयलाई साथ दिन्छन्। स्थानीय तहले गाडीको व्यवस्था गरिदिएर प्रतिनिधि पनि पठाउँछ। प्रहरीले पनि दाहसंस्कारका लागि सहयोग गर्न प्रहरी पठाउँछ। तर, दागबत्ती र लागेको खर्च भने विनय आफैं गर्छन्।

साथीभाइ, अस्पताल र प्रहरीकै सल्लाह अनुसार करिब ६ महिनाअघि उनले बेवारिसे व्यवस्थापन तथा पुनर्स्थापना केन्द्र सञ्चालन गरेका छन्। पछिल्लो समय केहीले गरेको आर्थिक सहयोगबाट काममा सहज भएको उनले बताए।

'संस्था खोल्ने मलाई त कुनै रहर नै थिएन,' उनले भने, 'बेवारिसेको उद्धार तथा दाहसंस्कार गर्न सहज हुने भएकाले सबैले संस्था खोल्ने खोल्ने सल्लाह दिएपछि खोलेको हुँ।'

सुरुमा उनी गोदावरी घाटमा दाहसंस्कार गर्थे। अहिले भने पशुपति आर्यघाटमा दाहसंस्कार गर्छन्। दाहसंस्कार गर्न जग्गा बेचेको र मोटरसाइकल धितो राखेर ऋण लिएको उनी सम्झन्छन्।

उनका अनुसार शिक्षण अस्पतालमा १२७ शव वर्षाैदेखि बेवारिसे अवस्थामा छन्। यिनको दाहसंस्कार गर्न पटक–पटक अस्पताल प्रशासनसँग अनुरोध गरे अटेरी गरेको उनको दुखेसो छ।

'बेवारिसे शवमा पनि ठूलो राजनीति हुँदो रहेछ,' उनले भने, 'कानुनी प्रक्रिया पुगेका शव दाहसंस्कार गरौं भन्दा समेत अस्तपतालले मानेको छैन।'

विनयकी एउटी छोरी छिन्। विनय दुर्व्यसनीमा फसेकै बेला पत्नी भने टाढा भइन्।

गाउँघरमा समेत विनयले पूण्य काम गरेको भनेर चर्चा हुने गरेको छ। विनयकी छोरीले समेत बुबाको कामप्रति गर्व गर्छिन्। 'मैले गरेको कामदेखि गाउँ टोलका आफन्त तथा छोरी समेत खुसी छिन्,' उनले भने, 'अहिले त स्थानीय तहका प्रमुखले पनि मेरो काममा साथ दिने प्रतिबद्धता जनाएका छन्।'

उनी देशभरका बेवारिसे शवको दाहसंस्कार गर्न चाहान्छन्। 'साथीले सहयोग चाहिए सम्पर्क गर्नु भनिरहेका छन्,' उनले भने, 'तर, मलाई सहयोग भन्दा पनि बेवारिसे शवको दाहसंस्कार गर्न मन छ।' दिवंगत आत्माको शान्ति नै उपलब्धि भएको उनको भनाइ छ।

प्रकाशित: १६ श्रावण २०७४ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App