coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

जो जेठो, उही पुजारी

शिरमा सेतो पगरी। पगरीमा रातो फूलबुट्टा। कानमा झुन्डिएका छन्, सुनौला कुमाले (गहना)। साउन पहिलो साता ललितपुरको पुरानो नेवार बस्ती खोकनामा यस्तै स्वरूपमा भेटिए, ९४ वर्षीय न्हुच्छेलाल महर्जन। हसिलो मुद्रामा भेटिएका उनले पहिरिएका थिए, कालो इस्टकोट। देब्रो कानमा सिउरिएका थिए, रातो फूल।

'जीवन माटो त रहेछ,' आफ्नो उर्जाशील समय माटोसँगै बिताएका उनी मुस्काउदै भन्छन्, 'आखिर सबैथोक माटोबाट आउने र माटैमा जाने त हो नी!'

प्रसिद्ध रुद्रयाणी मन्दिरका पुजारी उनी खोकनाको महर्जन समुदायकै सबैभन्दा जेठा पुरूष समेत हुन्। सबैभन्दा ज्येष्ठ पुरूषलाई पुजारी बनाउने परम्परा धान्न उनी गत वर्षदेखि रुद्रयाणी मन्दिरको मठाधीश बनेका हुन्। हुनत खोकनामा उनीभन्दा जेठा महिला नभएका होइनन्। तर, सामाजिक र सांस्कृतिक मान्यता अनुसार पुरूष नै पुजारी बन्नुपर्ने भएपछि उनको काँधमा जिम्मेवारी आएको हो।

'मन्दिरमा पूजाआजा गर्ने जिम्मा मेरो हो,' महर्जन भन्छन्, 'यो उमेरमा जिम्मेवारी पाउँदा खुसी लागेको छ।' मन्दिरको नित्यकर्मका लागि उनको उमेर बाधक बनेको छैन। छोराछोरीको साथ सहयोगले झण्डै शताब्दी पुग्न लागेका उनलाई थप सजिलो पारिदिएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर २२ मा पर्ने खोकनाका महर्जन समुदायले सबैभन्दा जेठा पुरूष सदस्यलाई रुद्रयाणी मन्दिरको पुजारी बनाउँदै आएको वडाध्यक्ष रविन्द्र महर्जन बताउँछन्। 'यो परम्परादेखिकै चलन हो,' उनी भन्छन्, 'समुदायका सबैभन्दा ज्येष्ठ नागरिकले मन्दिरको जिम्मा लिने गर्छन् ।'

बुढेसकालमा पुजारी बनेका न्हुच्छेलाल अचेल हरेक दिन मन्दिरको पाटीमा बिताउँछन्। मन्दिरमा जम्मा हुने आफूजस्तै ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्छन्। मन्दिरमा जम्मा हुने बूढाहरू ख्यालठट्टामा रमाउँछन्। 'हास्नलाई ठूलो कुरा चाहिन्न,' उनी भन्छन्, 'अलिअलि आफूले गरेका राम्रा काम र केही उट्पट्याङ सम्झे पुग्छ।'

खोकनाको महर्जन टोलका सबैभन्दा पाका उनी समाजमा धेरैखाले परिवर्तन आएको महसुस गरिरहेका छन्। ति परिवर्तनले टोलका जात्रा पर्वलाई समेत छोइसकेको छ। खोकनामा हरेक वर्ष हुने सिकाली जात्रामा समेत परिवर्तन भइसकेको उनको अनुभव छ। सिकाली जात्रामा नाचगानका साथै धुमधामका साथ अतिथिको स्वागत गर्ने चलन थियो। 'अहिले जात्रा त बेग्लै भइसक्यो, समय फेरिँदै गएको छ,' उनी भन्छन्। 

कुनै बेला तोरीको तेलका लागि प्रख्यात खोकनामा अहिले तेल उत्पादन नै कम हुन थालेको छ। 'पहिले यहाँका फाँट तोरीले पहेँलै हुन्थे, गाउँभर कोल चल्थ्यो,' उनी भन्छन्, 'बिस्तारै यो हराउँदै छ।' नयाँ बस्तीले पुरानो खोकनाको स्वरूप परिवर्तन गरेको छ। 'अब त नयाँ घर, नयाँ लुगा,' उनी भन्छन्, 'पुराना घर र पहिरन हराउँदै गए।'

१९९० सालको भूकम्प भोकेका उनी दुई वर्षअघिको भूकम्प पछिको निर्माणप्रति असन्तुष्ट देखिए। 'उतिबेला जे जति पाउने पटापट पाइएको थियो,' उनी भन्छन्, 'अहिले कहिले के भन्छन्, कहिले के भनेर पन्छाउँछन्।'

रु›ायणी मन्दिर अगाडि पोखरीमा हरेक वर्ष बाख्राका पाठीको बली दिने चलन छ। महर्जन यसमा सरिक हुन्छन्। कतिपयले बलीको विरोध गरिरहेका बेला उनी भन्छन्, 'राम्रो/नराम्रो थाहा छैन, पहिलेदेखि नै यसैगरी जात्रा चल्दै आएको छ।'

जीवनको उत्तरार्धमा पुजारी बने पनि न्हुच्छेलाल पूर्वार्धमा भने पूर्णकालीन कृषक थिए। 'जीवन माटो त रहेछ,' आफ्नो ऊर्जाशील समय माटोसँगै बिताएका उनी मुस्काउँदै भन्छन्, 'आखिर सबैथोक माटोबाट आउने र माटैमा जाने त हो नि!'

प्रकाशित: १६ श्रावण २०७४ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App