coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

विवेकशील साझा भविष्य

यदि राजनीतिले देश अनि आमनागरिकलाई दिशानिर्देश गर्न सक्दैन भने त्यो राजनीतिको काम छैन । हालको हाम्रो राजनीति अर्थात् दलले देशलाई त परै जाओस्, आफ्नो संगठन अनि कार्यकर्तालाई समेत दिशा दिन सकेका छैनन् । त्यसैले वैकल्पिक राजनीतिको आवश्यकता भयो । अबको वैकल्पिक राजनीतिले समाजलाई अनि समग्र देशलाई नै त्यो दिशा दिन सक्नुपर्छ । आफ्ना कार्यकर्तालाई मात्रै होइन, आमनागरिकसम्मलाई प्रगतिका निम्ति उत्साहित बनाउन सक्नुपर्छ । आशा अनि सम्भावनाका ढोकाहरू उघार्न सक्नुपर्छ ।

केही समयअघिको निर्वाचनमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले पाएको २३ हजार ४ सय ३९ मत अनि साझा पार्टीका किशोर थापाले पाएको १८ हजार ४ सय ९६ मत एकै पोल्टामा भएका भए आज काठमाडौँ महानगरको राजनैतिक दृश्य अर्कै हुनेथियो । ढिलै भए पनि यी दुई दल एक ठाउँमा आए, राम्रो भयो । पहिलो संविधानसभाको अवसानसँगै नेपाली राजनीतिमा ठूलो शून्यता पैदा भयो । त्यही बिन्दुबाट विवेकशील नेपाली उठ्यो । त्यही बेला केही उद्यमी, पेसाकर्मी, प्राध्यापक अनि सामाजिक अभियन्ताहरूले राजनीतिमा वैकल्पिक शक्तिबारे गृहकार्य सुरु गरे । २०७० वैशाखमा आमनागरिकको चासो र मुद्दा बुझ्न विवेकशीलका संस्थापकहरूले १४ अञ्चलमा पदयात्रा गरे । त्यही पदयात्राले पार्टीको मार्गचित्र तथा एजेन्डा तय ग¥यो । नागरिकहरू त राजनीतिक मात्रै होइन, सामाजिक अनि आर्थिक परिवर्तनको पर्खाइमा रहेको कुराको प्रत्याभूति भयो, यात्रामा । नागरिकहरु आधारभूत कुरा पानी, स्वास्थ्य, शिक्षा, रोजगार नै कुरिरहेका रहेछन् । तसर्थ, आम नागरिकको मुद्दालाई बुझ्न सक्ने अनि त्यसलाई समाधान गर्न सक्ने नेतृत्वका निम्ति नै विवेकशील नेपालीको जन्म भयो।

२०७० सालको दोस्रो संविधानसभामा पार्टीका रुपमा दर्ता हुन नपाएपछि ‘कुकुर’ चुनाव चिह्न लिएर काठमाडौँका चार स्थानबाट उम्मेदवारी दिएर राजनीतिक रुपमा विवेकशील नेपालीले बामे स¥यो । म आफैँ पनि काठमाडौँ–८ बाट उठेँ । करिब २५ दिनको अभियानमा तीन हजारभन्दा बढी मतसँगै वैकल्पिक शक्तिको बहस व्यावहारिक रुपमै छेडियो । साथै, नेपाली राजनीतिमा नेपाल बन्दको विरोध, उद्यमशीलताको तालिम अनि भद्र अभियानसहित सुसंस्कारको थालनी भयो ।

दोस्रो संविधानसभाको चुनावपछि रवीन्द्र मिश्र, बाबुराम भट्टराई अनि अन्य व्यक्तिहरुले खुलेरै वैकल्पिक शक्तिबारे बोल्न अनि लेख्न थाले । वैकल्पिक शक्तिबारे व्यापक चर्चा यहीँबाट सुरु भयो। २०७१ जेठ २९ गते वैकल्पिक पृथक् संगठनका रुपमा निर्वाचन आयोगमा विवेकशील नेपाली दर्ता भयो ।

बाबुराम भट्टराईले पनि नयाँ शक्ति बनाउने भनेर नयाँ पार्टीको स्थापना गरे तर त्यो प्रयोग सफल हुन सकिरहेको छैन । उता आ–आफ्नो क्षेत्रमा राम्रो गरेका नेपालीहरु पनि वैकल्पिक शक्तिका लागि छटपटिइरहेका थिए । त्यसको नेतृत्व रवीन्द्र मिश्रले गरे । साझा पार्टीले छोटो समयमा, काठमाडौँ अनि ललितपुरमा निर्वाचन लडेर नेपाली राजनीतिमा वैकल्पिक शक्तिको सम्भावना देखाउन सफल भयो । यता विवेकशील नेपाली युवा जोससाथ अघि बढ्दै थियो भने उता साझा पार्टी अनुभव र होसका साथमा अगाडि बढ्दै थियो । अब जोस र होसको एकीकरण भएको छ । पहिलो चोटि चुनाव लड्दै गरेका यी दुई दलले करिब ६ दिन मात्र प्रचार गर्न पाए, चिह्नसहित । यति छोटो समयमा पुराना पार्टीलाई धक्का दिँदै तेस्रो अनि चौथो स्थान हासिल गर्नु भनेको सानो कुरा थिएन ।

विवेकशील नेपाली अनि साझा दलको एकीकरणले यथास्थितिको राजनीतिलाई चुनौती दिएको छ । अब नेपाली राजनीतिमा विकल्प छ । अब जसले आमनागरिकको मुद्दा बोक्न सक्छ अनि आमनागरिकलाई विश्वासमा लिन सक्छ, उसैले नेतृत्व गर्नेछ । अब समयसँगै नयाँ मतदाता आउँदै छन्, स्मार्ट मतदाता आउँदैछन् । जसले नयाँ नेतृत्व अनि नयाँ पार्टीलाई स्थापित गराउनेछन् ।

तर, चुनौतीहरु पनि छन् । विवेकशील साझा पार्टीको एकीकरण भए पनि यो पार्टीमा दुई भिन्न समूहबाट आएकाहरुबीच आपसमा घुलमिल हुन केही समय लाग्नेछ । तर यसलाई सजिलै व्यवस्थापन गर्न सकिनेछ । राजनीतिमा प्रगति र परिवर्तन आजको भोलि हुँदैन । तसर्थ राजनीतिमा धैर्य अनि निरन्तरता ठूलो कुरा हो । विवेकशील नेपाली दल अनि साझा पार्टीको एकीकरणले नेपाली राजनीतिलाई नयाँ युगमा लैजानेमा ठूलो आशा गर्न सकिन्छ ।

 

 

प्रकाशित: १७ श्रावण २०७४ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App