८ वैशाख २०८१ शनिबार
विचार

‘मन्त्रीको हातबाट पुरस्कार लिन्नँ’

रामहरि जोशी निष्ठावान् र नैतिकवान् राजनेता हुनुहुन्थ्यो। मधेसमा जन्मेको हुँदा उहाँलाई मधेस र मधेसीको समस्या थाहा थियो। आफ्नो पुस्तक ‘अँधारोबाट उज्यालोतिर’मा उहाँ लेख्नुहुन्छ, ‘तराईमा मधेसी ४५ प्रतिशत छन्। त्यसलाई नजरअन्दाज गरेर हामी कसरी सरकार बनाउन सक्छौँ, मैले गिरिजाबाबुलाई पनि भनेको थिएँ यही कुरा। सुशील कोइरालालाई पनि भनेको थिएँ, यस्तो तालले अब हुँदैन।’

                उहाँका कुरामा ध्यान पु¥याएको भए मधेस आन्दोलन हुँदैनथ्यो । आजको चलनचल्तीको भाषामा तराईलाई नै तराई मधेस भनिन्छ । अन्न भण्डारलाई बेवास्ता गरेर देशको निर्माण गर्ने परिकल्पना असम्भव छ । यस पीरबाट रामहरि जोशी आजीवन प्रताडित हुनुहुन्थ्यो । उहाँको जीवनको आदर्श थियो, ‘सादा जीवन, उच्च विचार ।’

मेरो गृहगाउँ सिसौटिया उहाँको जन्मथलो मलंगवाबाट ३ कोस पश्चिममा छ । २०४६ अघिसम्म उहाँ गाउँमा हेडमास्टर हुनुहुन्थ्यो । प्रजातन्त्रको स्थापनापछि उहाँ काठमाडौँ आउनुभयो । उहाँ स्वभावतः समाजसेवी हुनुहुन्थ्यो र जिल्लामा समाजसेवाको कार्यक्रम पनि सञ्चालन गरिरहनुहुन्थ्यो । डूम बस्तीमा उनीहरूको दैनन्दिन समस्याको समाधानका लागि कार्यक्रम पनि गर्नुभएको थियो, उहाँले ।

उहाँ निर्वाचित भएर सांसद हुनुभयो, मन्त्री हुनुभयो । शिक्षामन्त्री हुँदा उहाँलाई रवीन्द्र जयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा आमन्त्रित गरिएको थियो । उहाँले रवीन्द्रनाथ टैगोरबारे केही लेखिदिन खबर गर्नुभयो । मैले लेखेर पठाइदिएँ । एकपल्ट म उहाँको मन्त्री निवासमा अनुरोध गर्न गएको थिएँ– भारतस्थित नेपाली दूतावासको सांस्कृतिक सहचारीको पद रिक्त छ, त्यो पदमा जाने इच्छा छ, मलाई । कोसिस गरिदिनुहोस् । अन्ततः त्यस पदमा कोही गएन । त्यो पद खारेज भयो । पञ्चायतकालमा इन्द्रराज मिश्र, धुस्वाँ सायमी र तुलसी दिवसले त्यस पदमा नियुक्ति पाइसक्नुभएको थियो । उहाँको अन्तिम दर्शन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा गएँ । सूचनाअनुसार बाह्र बजेसम्म त्यहाँ उहाँको शव अन्तिम दर्शनका लागि राखिने थियो । तर म त्यहाँ सवा एघार बजे पुग्दा उहाँलाई आर्यघाट लगिएको थियो, म आर्यघाटसम्म पुग्न सकिनँ । अन्तिम दर्शनको अवसरबाट वञ्चित  भएँ ।

उहाँ इमानदार हुनुहुन्थ्यो । भतिज बद्री जोशीको घरमा बस्नुहुन्थ्यो । हेडमास्टरको निभृत्तिभरणकै भरमा शेष जीवन बिताउनुभयो । उहाँ सुपरिचित र सुप्रसिद्ध साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँद्वारा लिखित ‘नेपाल के अमर शहीद’ हाइस्कुलको कोर्समा राखिएको थियो । म हाइस्कुल पढाउँदा त्यो पुस्तक पढाउँथेँ । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाले अंग्रेजीमा लेखेको कृति ‘वापू’ नेपालीमा अनुवाद गर्नुभयो । उहाँले देवकोटा अध्ययन प्रतिष्ठानको स्थापना गर्नुभयो । उहाँलाई हिन्दी, अंग्रेजी र नेपाली भाषामा असाधारण लेखन क्षमता प्राप्त थियो ।

उहाँलाई मैले आफ्नी आमाको नाममा स्थापित पुरस्कार स्वीकार गरिदिन अनुरोध गरेँ । उहाँले पार्वती स्मृति पुरस्कार सहर्ष ग्रहण गर्ने स्वीकृति दिनुभयो । तर भन्नुभयो– म कुनै मन्त्रीको हातबाट पुरस्कार लिन्नँ । पछि संस्कृतिविद् सत्यमोहन जोशीज्यूको हातबाट पुरस्कार लिनुभयो ।

उहाँ स्वाभिमानी र श्रद्धेय व्यक्तित्व हुनुहुन्थ्यो । हार्दिक श्रद्धाञ्जली । 

प्रकाशित: १८ श्रावण २०७४ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App