coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सकियो सार्क आर्टिष्ट क्याम्प

काठमाडौं- चार दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा चलेको ‘सार्क आर्टिष्ट क्याम्प’ सोमबार सकिएको छ। सार्कसँगै विभिन्न देशबाट आएका कलाकारले बनाएका  कलाको प्रदर्शनी गर्दै क्याम्पको समापन गरिएको हो।

दक्षिण एसियाली क्षेत्रिय संगठन (सार्क) अन्तर्गत रहेको सार्क सेन्टर श्रींलका र पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त आयोजनामा गरिएको सातौं संस्करणको क्याम्पको अन्तिम दिन सार्क क्षेत्रका ६ मुलुकका ४० कलाकारले बनाएका कलाको प्रदर्शनी गरिएको थियो । कलाकारले तीन दिनसम्म एउटै थलोमा बसेर प्रकृति र सुन्दरताको भाषा क्यानभासमा पोखेका थिए ।

कलाकारले आफूले गरिरहेका फरक विधाका कलाको समेत प्रदर्शनी गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्याम्पको समापन गर्दै कलाकारिता आ–आफ्ना विचार र संस्कृतिको आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले सार्क राष्ट्रका जनताबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन कलाले योगदान पु¥याउने उल्लेख गरे । ‘आगामी दिनमा यसले निरन्तरता पाउने मैले विश्वास लिएको छु ’,उनले भने, ‘देशको संस्कृति विकासमा पनि कलात्मक आदानप्रदानले सघाउँछ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला विश्व भाषा रहेकाले कलामार्फत नै क्याम्पमा कलाकारले आफ्ना भावना प्रकट गरेको बताइन् । ‘सार्क आर्ट क्याम्पले सांस्कृतिक सम्बन्ध बलियो बनाउन सहयोग गरेको छ,’ उनले भनिन्, ‘साथै क्याम्पमा कलाकारले निकै आकर्षक र सुन्दर कला रचनाले कलाको प्रवद्र्धन भएको छ ।’

मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले कला र संस्कृतिले आपसी सम्बन्धलाई मजबुत बनाउनेमा जोड दिए । सार्कका महासचिव अमजद हुसैनले दक्षिण एसियाली मुलुकमा समधुर सम्बन्ध बनाउन कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।  अफगानिस्तान र पाकिस्तानबाहेक सार्क क्षेत्रका ६ मुलुकका कलाकार सहभागी थिए ।

प्रदर्शनीमा राखिएका कलामा कलाकारले आफ्नो देशको सांस्कृतिक वैभवलाई कलात्मक रुपमा चित्रण गरेका थिए । हरेक वर्ष सार्क देशमा आयोजना गरिने कला शिविरमा नयाँदेखि अग्रज कलाकारको सहभागिता रहने सार्क सांस्कतिक केन्द्रका निर्देशक वसन्थ कोटुवल्लाले बताए ।

नेपालबाट क्याम्पमा लोक चित्रकार, उदयचरण श्रेष्ठ, एससी सुमन, जस्मिन राजभण्डारी, अनिता खनाल भट्टराई, एरिना ताम्रकार, शुभ जोशी, नम्रता सिंह, सुनिता राणा र ज्योतिप्रकाश बिके सहभागी थिए ।

समापनमा अतिथी राष्ट्रका कलाकारलाई सांस्कृतिक संस्थानका कलाकारले नेपालका विभिन्न सांस्कृतिक नृत्य तथा गीत संगीत प्रस्तुत गरेर बिदाइ गरेका थिए । साउन १३ देखि सुरु भएको क्याम्प साउन १६ सम्म चलेको थियो ।

प्रकाशित: १८ श्रावण २०७४ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App