७ वैशाख २०८१ शुक्रबार
अर्थ

मादलबाटै २ लाखभन्दा बढी आम्दानी

सदरमुकाम तम्घासको मिलनचोकमा मादल बनाउँदै प्रेम नेपाली । तस्बिर:शिवलाल सुवेदी

गुल्मी – मालिका गाउँपालिका ५ घमिरका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । करिव ४० बर्ष अगाडि देखि जिल्लाको सदरमुकाम तम्घासको मिलनचोकमा मादल बनाउँदै आएका उनले वार्षिक २ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन । 

नेपाली अहिले ७१ वर्षका भए । १६ वर्षको हुँदादेखि नै मादल बनाउने काममा लागेको उनी बताउँछन् । ‘बजारमा माग राम्रै छ’, नेपालीले भने, ‘मादल बनाउन त्यति सजिलो छैन, २/३ दिन लगाएर एउटा मादल तयार गर्छु ।’ आफू सानै छँदा बुवा र आमाको मृत्यु भएपछि यो पेसा अंगालेको उनको भनाइ छ । कुनै तालिम बिना नै मादल बनाउन सिकेको उनी बताउँछन् । दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउनमा उनको अनुभव छ । यीमध्ये बजारमा धेरै मादल बिक्री हुने भएकाले मादल नै बनाउने काम गरेको उनले बताए ।

काठ, बाख्रा, भैंसी, गाई र गोरुको छाला, अंगार, खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिएको नेपालीको भनाई छ । उनका अनुसार मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको छ । ‘ढुंग्रोको दुवैतर्फ एकै आकारको भयो भने आवाज राम्रो आउँदैन’, उनले भने, ‘स्वर राम्रो आउन आकार ठूलो र सानो हुनुपर्छ ।’ खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने उनले बताए । ‘महिनाको २० हजार रुपैयाँ कमाई हुन्छ’, नेपालीले भने, ‘सिजनमा त अझ धेरै आम्दानी हुन्छ ।’ मादल बनाएकै आम्दानीबाट उनले घरखर्च चलाउँदै आएका छन्।        

आफूले बनाएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गरेको बताउँछन् उनी । राम्रो मादल बनाएको भन्दै आफू पुरस्कृत भइसकेको नेपालीले सुनाए । ‘सिजनका बेला खाने फुर्सद नै हुँदैन’, उनले भने, ‘ग्राहकले २ ÷ ४ दिन पर्खेर मादल लैजान्छन् ।’ विवाह, तीज र दसैंतिहारमा धेरै मादल खपत हुने उनले बताए । गाउँघरमा प्रायः दलित समुदायका गरिब एवं विपन्न परिवारका व्यक्ति यस पेसामा लागेको उनी बताउँछन् । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान नदिएको उनले बताए । पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा मादल बिक्री गरिने नेपालीले बताए । नेपालीले आधुनिक शैलीसँगै मादल बनाउने पेसामा युवा पुस्तालाई आकर्षण गर्न सके गाउँघरमै राम्रो आम्दानी हुने कुरामा जोड दिए । पछिल्लो युवा पुस्तालाई कसरी आकर्षण गर्ने भन्ने चिन्ताले सताउछ नेपालीले भने ‘ यसप्रति युवाको चासै छैन ।’ 

यता उनको मादल बनाउने पेसालाई घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले सहयोग गदै आएको छ । घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका प्रमुख उद्योग विकास अधिकृत कृष्ण प्रसाद पोखरेलका अनुसार कार्यालयले मादल बनाउन प्रयोग हुने साना मेसिन औजार लगायत नगद सहयोग गरेको बताए । अहिले कहीँ पनि मादल बनाउने भेटिदैनन पोखरेलले भने ‘यसको संरक्षण गर्नका लागि र यो उद्योग घरेलु तथा साना उद्योग विकास समिती अन्र्तगत पर्ने भएकाले कार्यालयवाट सक्दो सहयोग गरेका हौ ।’ 

प्रकाशित: १८ श्रावण २०७४ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App