७ वैशाख २०८१ शुक्रबार
समाज

'जैविक कार्बनमा नयाँ फड्को'

काठमाडौं- नेपाली वैज्ञानिक प्रयोगशालामा कार्बनडाइअक्साइडलाई सौर्य वा प्रकाशजन्य ऊर्जाबिना नै जीवले प्रयोग गर्न सक्ने प्रांगारिक कार्बनमा परिणत गर्न सफल भएका छन्। त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागका प्रमुख प्रा. कृष्ण मानन्धरले प्रारम्भिक चरणमा भए पनि नेपालमा कुनै पनि प्राज्ञिक संस्थामा पहिलोपटक यति ठूलो उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेका छन्। यसको नेतृत्व विभागका वरिष्ठ वैज्ञानिक प्रमोद अर्यालले गरेका थिए।

जैविक कार्बनलाई औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिए ऊर्जा, पशुपालन र खाद्य सुरक्षाका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विश्वास।

प्रकृतिमा यस्तो प्रक्रिया वनस्पति र हरितकण भएका सूक्ष्म जीवहरूले प्रकाश संश्लेषण (फोटोसेन्थेसिस) का माध्यमबाट गर्दछन्। प्रा. अर्यालले कार्बनडाइअक्साइडको 'डार्क रियाक्सन' गर्न आफूहरू सफल भएको बताए।

उनले जैविक कार्बनलाई औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिए ऊर्जा, पशुपालन, खाद्य सुरक्षाका क्षेत्रमा ठूलो फड्को मार्न सक्ने विश्वास व्यक्त गरे।

'यसलाई जैविक इन्धनको कच्चा पदार्थका रूपमा प्रयोग गरी विकास गर्न सकिनेछ,' उनले भने, 'पशुपन्छीको दानामा प्रयोग हुने अन्नको प्रतिस्थापन गरी बढ्दो जनसंख्याको खाद्य सुरक्षामा पनि प्रयोग गरिनेछ।' जापानबाट विद्यावारिधि गरेका उनले अमेरिकामा फुलब्राइट छात्रवृत्तिअन्तर्गत भ्यान्डरवेल्ट विश्वविद्यालयमा तीन वर्ष अनुसन्धान गरेका थिए।

वैज्ञानिक अर्यालले बढ्दो जनसंख्या र भूमि संकुचनका कारण खाद्य संकट समाधान गर्न पनि जैविक कार्बन प्रयोग गर्न सकिने दाबी गरे।

'जैविक कार्बनबाट इन्धन, पोलिमर वा भिटामिनलगायत अन्य रसायन उत्पादन गर्न सकिनेछ। यो माटोमा चाहिने सूक्ष्म जीवहरूको संख्या बढाउन र उर्वरा शक्ति बढाउन सहायक हुनेछ,' उनले भने।  विभागले एन्टिबायोटिकबाट नमर्ने संक्रमणीय किटाणु मार्न सकिने कम्प्युटसनल मोडलिङसमेत तयार पारेको बताए।  

प्रकाशित: १९ श्रावण २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App