coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अन्योलमा प्रधानमन्त्री कार्यालय

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडक पुर्न दिएको १५ दिने म्याद सकिए पनि कुनकुन क्षेत्रका खाल्डा टालिए भन्ने विवरण सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्योलमा परेको छ। कार्यालयले खाल्डा पुर्ने जिम्मेवारी दिएका सविचहरूले पेस गरेको प्रतिवेदन अपूर्ण भन्दै आए पनि सडकको स्थलगत अनुगमन नगर्दा कस्तो तथ्य सार्वजनिक गर्ने भनेर अन्योलमा परेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले कार्यालयको भित्री कामको चापले सडक अनुगमनमा निस्कन नभ्याएको बताए। 'कार्यालयमा अरू पनि काम हुन्छन्,' उनले भने, 'समयावधि सकिए पनि तीन निकायका सचिवलाई थालेको काम नछाड्न निर्देशन दिएको छु।' उनले बुधबार प्रधानमन्त्री देउवा नारायणघाट–मुग्लिन सडकखण्ड अवलोकनमा गएकाले उपत्यकाभित्र खट्न नपाएको जानकारी दिए। 'बुधबार करिब २ घन्टा प्रधानमन्त्रीले नारायणघाट सडकको अवलोकन गर्नुभयो,' सचिव घिमिरेले भने, 'सडक सकिने म्याद २०१८ अप्रिलका रहेछ, सो समयभन्दा पहिले नै काम सक्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।'

प्रधानमन्त्री कार्यालयका अनुसार उपत्यकाका खाल्डा पुर्ने जिम्मा पाएका निकायले पठाएको प्रतिवेदनअनुसार हालसम्म ७० प्रतिशत काम सकिएको छ। 'हामीकहाँ आएको विवरणमा हालसम्म ७० प्रतिशत काम भएको पायौं,' प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले भने, 'तर सडकको दुरवस्था हेर्दा खासै काम भएको देखिँदैन।'

उनले जिम्मा पाएका निकायका सचिवहरू उत्तरदायी नहुँदा बितेका १८ दिनका सोचेजति काम नभएको जानकारी दिए। 'मूल सडक हेर्दा कतैकतै काम भएको देखिन्छ तर भित्री सडकको अवस्था उस्तै छ,' सहसचिव रेग्मीले भने, 'हामीले जिम्मा पाएका निकायलाई कामको गति नघटाउन निर्देशन दिएका छौं, एकदुई दिनभित्र सडकको प्रगति हेर्न निस्कछौं।'

प्रधानमन्त्रीले दिएको १५ दिने अल्टिमेटम सकिएपछि जिम्मेवारी पाएका सचिवहरू सडक अवलोकनमा निस्कन छाडेका छन्। प्रधानमन्त्री कार्यालयले पनि सचिवहरूलाई ताकेता गर्न सकेको छैन।

सचिव घिमिरेले झुटो प्रतिवेदन दिएको पाइएमा जिम्मेवारी पाएका अधिकारीमाथि कारबाही गरिने बताए। उनले भने, 'जिम्मा पाएका सबै निकायले जसरी पनि काम सकिएको प्रतिवेदन बुझाउनुपर्छ, काम नसकी झुटा विवरण पठाएको पाएमा कारबाही हुन्छ।'

केसरमहल–लाजिम्पाट, महाराजगन्ज–बूढानीलकण्ठ, तीनकुने–बानेश्वर, तीनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, रातोपुल–गौशाला, जयवागेश्वरी–कालोपुल, लैनचौर–सोह्रखुट्टे, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, कलंकी–सीतापाइला, त्रिपुरेश्वर–कलंकी, चाबहिल–गोपीकृष्णलगागत क्षेत्रका खाल्डा पुर्न बाँकी छ।

बुधबार सडक विभागले चाबहिल–बौद्ध सडक खण्डमा ग्राभेल ओछ्याएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले जानकारी दिए। उनले समयसीमा सकिए पनि खाल्डा पुर्ने कार्य भइरहेको जानकारी जनाए।

प्रधानमन्त्री कार्यालयका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयेकेएल) ले ६८ प्रतिशत, सडक विभाग ८३ प्रतिशत, पिआइडीले ९१ प्रतिशत,  बागमती सभ्यताले ९० प्रतिशत, धोबीखोला करिडोर आयोजनाले ७४ प्रतिशत, विष्णुमती करिडोर आयोजनाले ६५ प्रतिशत, काठमाडौं महानगरपालिकाले २५ प्रतिशत, ललितपुर महानगरपालिकाले ३५ प्रतिशत, महादेवखोला करिडोर आयोजनाले ७० प्रतिशत काम सकिएको विवरण पठाएका छन्।

तर यी निकायले पठाएको विवरण झुटा हुन सक्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए। 'काम गर्ने जिम्मा पाएका निकायले पठाएको विवरण विश्वास लाग्दो छैन,' उनले भने, 'हामीले सबै निकायलाई कामको गति नघटाउन निर्देशन दिएका छौं।'

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले धेरैजसो सडक खण्डमा काम सकिएको दाबी गरे। 'कामको विवरण प्रधानमन्त्री कार्यालयमा पठाइसकेका छौं,' उनले भने, 'सबै निकायको काम तीव्र नभएकाले अधिकांश सडकका खाल्डा नपुरिएका हुन्।'

प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र स्थानीय विकास मन्त्रालयका सचिव थपलियाको नेतृत्वमा काम सुरु भएको थियो। 

प्रकाशित: १९ श्रावण २०७४ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App