८ वैशाख २०८१ शनिबार
समाज

मेघराजको शल्यक्रिया सफल

शल्यक्रियापछि बालक मेघराजलाई अस्पतालमा स्याहार गर्दै उनकी हजुरआमा सीता ।तस्बिर : नागरिक
इलाम – देउमाई नगरपालिका–६, शान्तिडाँडाका आर्थिक अभावले आफ्नो उपचार गराउन नसकेका ५ वर्षे बालक मेघराज कोइरालाको शल्यक्रिया सफल भएको छ । पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य बालक कोइरालाको काठमाडौंस्थित काठमाडौँ मोडेल हस्पिटलले बुधबार करिब ३ घन्टा लगाएर शल्यक्रिया गरिदिएको हो । 
 
पहिलेकै उपचारमा ४ लाख रुपैयाँ खर्च भइसकेको र थप खर्च अभाव हुँदा उनको उपचार हुन नसकेको समाचार नागरिकन्युजडटकम र नागरिकमा प्रकाशन भएको थियो । समाचार सार्वजनिक भएपछि बालकको उपचार गरिदिन हस्पिटलले चासो देखाएको थियो । हस्पिटलका डाक्टर मनोजकृष्ण श्रेष्ठले बालक मेघराजको सफल शल्यक्रिया गरिदिएको बालकका हजुरबुबा ५२ वर्षे नरेन्द्र कोइरालाले जानकारी दिए । ‘यति खुसी लागेको छ कि, नातिले उपचारमात्र होइन, पुनर्जीवन नै पाएको छ,’ काठमाडौंमै रहेका नरेन्द्रले सुनाए, ‘बिहान–बेलुकाको छाक टार्नै धौधौ परिरहेका बेला अस्पतालले ठूलो गुन लगायो ।’ समाचार आएपछि चिकित्सक श्रेष्ठ र बालक मेघराजको घर–परिवारमा उपचारका लागि सम्पर्क गराउन त्यही अस्पतालका अर्का चिकित्सक सरोज धिताल र पत्रकार सुदर्शन घिमिरेले सघाएका थिए ।
निम्न आर्थिक अवस्था भएको परिवारले उपचार खर्च जोहो गर्न नसक्दा मेघराज घरमा अत्यन्त कष्टप्रद जीवन बिताउँदै थिए । जन्मेको १९ दिनको भएका बेला पेट दुखेर जँचाउन लैजाँदा बालकले दिसा गर्न नसकेको थाहा भएको थियो । भारत सिलिगुडीस्थित पारामन्ड अस्पतालले उनको शल्यक्रिया गरी पेटमा प्वाल पारेर दिसा गर्ने विकल्प बनाइदिएको थियो । तर, परिवारले उपचार गर्न अभावले बालकलाई मलद्वारबाट दिसा गर्ने सामान्य अवस्थामा ल्याउन सकेको थिएन । ‘बालकले अब मलद्वारबाटै दिसा गर्नसक्नेछन्,’ बालकलाई उपचारका लागि काठमाडौं लिएर गएका युवक राजन दाहालले भने, ‘डाक्टरले बालकलाई सोचेभन्दा सजिलो र सामान्य अवस्थामा अप्रेसन गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।’ 
 
बालकलाई अझै कम्तीमा ४ दिन अस्पतालमै राख्न र त्यसपछि घर फर्काउन चिकित्सकको सुझाव छ । ‘यी बालकको उपचार गराउन हामीले गाउँमा अभियान नै चलाएका थियौं,’ राजनले भने, ‘बालकको उपचार सफल भएकामा अत्यन्त हर्षित छौं ।’ चिकित्सक श्रेष्ठले आर्थिक अभावमा उपचार गराउन नसकेका मेघराजजस्ता १२ वर्षमुनिका बालबालिकाको यहाँ निःशुल्क उपचार गरिदिने गरेकोसमेत बताएको दाहालले जनाए । बालक मेघराजलाई आइतबार उपचारका लागि काठमाडौं लगिएको थियो । उनको उपचार सहयोगका लागि इलाम नगरपालिका–५ बिब्ल्याँटेका युवाले मेघराज कोइराला उपचार सहयोग समितिसमेत गठन गरेका छन् । उनीहरूले दाताले दिएको रकम जम्मा गर्न कन्काई बैंकमा ०११००२०००३२०८६०० नम्बरको खातासमेत खोलेका छन् । खातामा अहिलेसम्म झन्डै डेढ लाख रुपैयाँ जम्मा भइसकेको समितिले जनाएको छ ।
 
मेघराजका बुबा निर्मल भने गत शुक्रबार मात्रै वैदेशिक रोजागारीका लागि दुबई गएका छन् । ५ वर्षअघि छोराकै उपचारमा खर्च भएको ऋण तिर्न र घरायसी आवश्यकता पूरा गर्न आफू खाडी मुलुक गएको उनी बताउँछन् । ‘नानीको उपचार भएकाले ज्यादै गद्गद् लागेको छ,’ उनले भने, ‘सपनामा मात्रै सोचेको उपचार हुँदा हामीजस्ता गरिबगुर्बाको पनि दिन फर्किंदोरहेछजस्तो लागेको छ अहिले ।’ निर्मल ४ वर्षअघि पनि वैदेशिक रोजगारीमा दुवई गएका थिए । तर, आफू विदेश गएकै बेला पत्नी लक्षीमाया तामाङले आफू र बिरामी छोरालाई समेत त्यागेर अर्काे बिहे गरेपछि निर्मल २ महिनामै विदेशबाट घर फर्केका थिए । 
 

प्रकाशित: १९ श्रावण २०७४ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App