coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अझै पुरिएनन् खाल्डा, जोखिम झन् बढ्यो

काठमाडौं- प्रधानमन्त्रीको निर्देशनपछि उपत्यकाका केही सडकका खाल्डा पुरिए पनि मुख्य सडकका खाल्डा जस्ताको तस्तै छन्। जिम्मेवार निकायले मुख्य सडकखण्डका खाल्डा नपुर्दा झन्झन् जोखिम बढेको छ।

केशरमहल–लाजिम्पाट, महाराजगञ्ज–बूढानीलकण्ठ, तीनकुने–बानेश्वर, तीनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, लैनचौर–सोह्रखुट्टे, रातोपुल–गौशाला, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटीलगायत क्षेत्रमा खाल्डा पुर्न बाँकी छ। चाबहिल–बौद्ध सडक खण्डमा सडक विभागको टोलीले ग्राभेल ओछ्याएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाल १५ दिनभित्र खाल्डा पुर्न दिएको समय सकिएपछि सडक ममर्त काम भएको देखिँदैन। प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका निकायलाई निरन्तर काम गर्न आग्रह गरिरहेको बताए। 'यो काम रोक्नु हुँदैन, सबै निकायले मिलेर गर्ने हो भने केही दिनमा मुख्य–मुख्य खाल्डा पुरेर सकिन्छ,' उनले भने, 'जिम्मेवारी पाएका निकायले काम रोके कारबाही हुन्छ।'

उनले कार्यालयको कामले बुधबार सडक अनुगमनमा निस्कन नपाएको बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमण तयारीमा व्यस्त हुनुपरेको खुलाए। 'हामीले सडकका खाल्डा पुर्ने जिम्मा दिएका तीन निकायका सचिवलाई निरन्तर पछ्याइरहेका छौं,' उनले भने, 'उहाँहरूले आफूमातहत कार्यालय तथा आयोजनलाई काम गर्न निर्देशन दिइरहनु भएको छ।'

केयुकेएल, सडक विभाग, पिआइडी, बागमती सभ्यता, धोबीखोला करिडोर आयोजना, विष्णुमती करिडोर आयोजना, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महादेवखोला करिडोर आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले सडकका खाल्डा पुर्ने जिम्मा पाएका छन्। यीमध्ये धेरैले आफूले गरेको कामको प्रगति विवरण पठाउन आनाकानी गरिरहेको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले बताए। उनले मुख्य सडकमा तीब्र गतिमा काम भइहरहेको दाबी पनि गरे। 'हामीकहाँ आएका रिपोर्ट हेर्दा पछिल्लो समय मुख्य सडकमा काम भइरहेको छ,' उनले भने, 'बर्खाको समय भएकाले कतैकतै काम गर्न कठिन भएको जानकारी पनि आएको छ।'

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले धेरैजसो सडकखण्डमा काम भइरहेको बताए। उनले समयसीमा सकिए पनि निरन्तर खाल्डा पुर्ने काम भइरहेको जानकारी दिए।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले पनि खाल्डा पुर्ने कार्य भइरहेको जानकारी दिए। 'पछिल्ला दुई दिनमा धेरै काम भएको छ,' उनले भने, 'हामीले काम गरिरहेका छौं तर सबै निकायबीच समन्वय नहुँदा काम गर्न कठिन भएको छ।'

ललितपुरमा भने धेरैजसो सडकका खाल्डा पुरिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जोखिमका खाल्डा पुरिएको बताए। 'ललितपुरका सडकमा अब त्यस्तो जोखिम छैन,' उनले भने, 'हामीले जोखिमपूर्ण खाल्डालाई प्राथमिकतामा राखेर काम गर्‍यौं।'

सडक विस्तारका क्रममा बूढानीकलकण्ठ–हात्तीगौडा चोक, बूढानीलकण्ठ–बा“सबारी, बूढानीलकण्ठ–गल्फुटार क्षेत्रका सडक किनारमा बनाइएका मंगाल खुला छाडिँदा जोखिम बढेको छ। पानी निकासका लागि बनाइएका मंगालमा ढक्कन नलगाउँदा जोखिम बढेको हो। पिआइडी आयोजना निर्देशक तिरेश खत्रीले जोखिमपूर्ण खाल्डा तत्काल पुरिने बताए। 

प्रकाशित: २० श्रावण २०७४ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App