८ वैशाख २०८१ शनिबार
समाज

गोबरगाढाका डेढसय परिवार सम्पर्क विहीन, ४ हजार बढी परिवार प्रभावित

बाढीका कारण डुवानमा परेको सप्तरीको तिलाठी गाविस स्थितघर

राजविराज–सप्तकोसी नदीले चारैतिरबाट घेरिएको सप्तरीको गोबरगाढा गाउँका झण्डै डेढ सय परिवार पछिल्लो दुई दिनदेखि सम्पर्क विहीन रहेका छन्। सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालका अनुसार चारै तिर कोसी नदीले घेरिएर रहेका कारण त्यहाँसम्म प्रहरी पठाउन पनि अप्ठ्यारै रहेको छ। पछिल्लो दुई दिन यता कोसी नदीमा पानीको बहाव उच्च रहेको छ। शनिबार साँझ कोसी नदीमा यस वर्षकै उच्च बहाब रहेको थियो।

कोसीमा पानीको बहाव दुई लाख क्यूसेक नाघेसँगै गोबरगाढा डुवानमा पर्ने गरेको गोगरगाढा गाविसका समाजिक परिचालक संजाय यादवले बताए। ‘म पनि पछिल्लो एक सातादेखि गाउँ गएको छैन, राजविराजमै छु’, उनले भने, ‘पछिल्लो दुई दिन यता कसैसँग फोनमासमेत सम्पर्क हुन सकेको छैन।’

हनुमाननगर इलाका प्रहरी कार्यालयलाई गोबरगाढाका स्थानीयसँग सम्पर्क स्थापित गर्न निर्देशन दिएको जानकारी गराउँदै एसपी ढकालले भने, ‘स्थानीयहरुसँग प्रहरीको नम्बर छ, त्यस्तो आपत् विपद् परे उनीहरु फोन गर्ने गर्छन।’ यद्यपि पछिल्लो दुई दिनदेखि उताबाट कुनै फोन नआएको र आफूहरुसँग भएको नम्बरमा फोन गर्दा फोनसमेत नलाग्ने गरेको ढकालको भनाइ छ।

करिब ४ सय घर परिवार रहेको गोबरगाढामा बर्षा याममा अधिकांश परिवार हनुमाननगर, योगिनियाँ, भारदहलगायतका क्षेत्रमा बसाइसर्ने गर्दछन्। तैपनी कुनै विकल्प नभएका झण्डै डेढसय परिवार बर्षा याममा पनि गोबरगाढामै बस्न बाध्य रहेको सहजकर्ता यादवले जानकारी गराए।

सप्तकोसी नदीमा पानीको बहाव बढदै जाँदा ‘टापु’ गाउँ भनेर चिनिने गोबरगाढा प्रत्येक वर्ष जसो डुवानमा पर्ने गर्दछन्। खासगरी बर्षा याममा कोसी नदीमा बहाव बढेपछि गोबरगाढासम्म आवत जावत गर्नसमेत निकै नै कठिन हुने गर्दछन्। यसैबर्ष घोषणा गरिएको योगिनीमाई–हनुमाननगर नगरपालिका अन्तर्गत नै गाभिएको गोबरगाढा सप्तरीको अतिनै विकट स्थानहरु मध्यै एक हुन्।

चारै तिर कोसी नदीले घेरिएका कारण बर्षा याममा गोबरगाढासम्म पुग्न डुंगा लिएर निकै जोखिम पूर्ण यात्रा गर्नुपर्ने हुन्छ। सदरमुकाम राजविराजवाट झण्डै १२ किलोमिटर दक्षिण पूर्वमा रहेको  यस गाविससम्म पुग्नलाई कम्तीमा चारवटा नदीहरु तरेर जानु पर्ने हुन्छ। कोसी तथा अन्य सहायक नदीहरुले चारैतिर घेरिएका कारण गोवरगाढामा हालसम्म राज्यले आफ्नो स्थायी उपस्थितिसमेत जनाउन सकेको छैन्।

पीडितहरुको विजोग !
घर, भन्सा सवै जलमग्न, चारै तिर बाढी रहेका कारण घरवाट निस्कन समेत गाह्रो! कहाँ खाना पकाउनु र के खानु? बालबच्चा समेतलाई भोकै बस्नु पर्ने बाध्यता। सप्तरीका बाढी प्रभावित अधिकांश परिवारको साझा पीडा यस्तै छ।

शनिबार विहानै आएको बाढीका कारण पछिल्लो दुई दिनदेखि भोकै बस्नु पर्ने बाध्यता रहेको बाढी पीडितको गुनासो छ। तिलाठी–२ का राजेश मण्डलले भने, ‘घरमा ३ फिटसम्म पानी रहेको छ, यस्तो अवस्थामा खाना पकाउने कुरै आएन।’ चारै तिर बाढीले थुनिएर रहेका कारण घरबाट निस्कन सक्ने अवस्था नरहेको मण्डलले जानकारी गराए। उनले भने, ‘च्यूरा मुरही लगायतका खानेकुरा किनेर ल्याउन सक्ने अवस्था छैन, दुई दिन देखि बालबच्चा समेत भोकै छन्।’

खाद्यान मात्रै नभई बाढी प्रभावित क्षेत्रमा खानेपानीकोसमेत समस्या उत्पन्न भएको स्थानीय बाढी पीडित बाबुनारायण मिश्रले बताए। ‘ट्युवेलहरु डुबानमा परेपछि खानेपानीको समस्या उत्पन्न भएको छ’, उनले भने, ‘खानेपानीको मुहानमै बाढीको पानी पसेर दुसित भएका कारण रोगको जोखिम समेत बढेको छ।’ पछिल्लो ४÷५ घण्टा देखि बर्षा नभएका कारण स्थित अतिकति सहज भएको जानकारी गराउँदै उनले भने, ‘पानीको पूर्ण निकास अझै हुन नसक्दा चौतर्फि समस्या भन्ने उत्तिकै छ ।’

यता बाढीका कारण रोपार्इं गरिएका हजारौं विघा खेतीयोग्य जग्गा बगरमा परिणत भएपछि स्थानीय किसान निकै पीडामा परेका छन्। ‘घरमा भएजतिका खाद्यान मात्रै नष्ट भएन, लगाइएको बालीपनि बर्बाद भयो’, तिलाठी–६ का बीरेन्द्र झाले भने, ‘हामी गरिब किसानहरु त चौतर्फी मारमा परेका छौं।’

तिलाठी मात्रै नभई सप्तरीका झण्डै डेढ दर्जन बढी गाउँका करिब ४ हजार परिवार बाढीवाट प्रभावित भएका छन्। विपद्को क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस सोसाइटी सप्तरीका अनुसार खाँडोलगायत विभिन्न नदीहरुमा आएको बाढीका कारण सप्तरीका ४ हजार परिवारको झण्डै १२ हजार घर डुवानमा परेका छन्। जिल्लाभरी करिब १ हजार ५ सय घर बाढीका कारण क्षतिग्रस्त भएको नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले बताए। बाढीले हजारौ विघा खेती योग्य जग्गामा लगाईको धान बाली नष्ट पारेका छन्।

बाढी प्रभावित सवै स्थानमा हालसम्म सुरक्षा निकायलगायतका सरोकारवाल पुग्न नसकेको उनले जानकारी गराए । बढी प्रभावित स्थानहरुमा भने क्रमिक रुपमा राहत वितरण तथा तथ्यांक संकलन कार्य थालिएको भगतले जानकारी गराए।

आइतबार विहानैदेखि सुरक्षा निकायका प्रमुखसहितको टोलीले बाढीले बढी प्रभावित जिल्लाको दक्षिणी भेगका केहि गाविसहरुमा च्युरा मुरहीलगायतका खाद्यान सामग्रीहरु वितरण गरेको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार सकरपुरा, रम्पुरामल्हनियाँ, कोइलाडी, विषहरीया र को.बसाइन गाविसका करिब १ हजार २ सय पीडित परिवारलाइ च्यूरा मुरही वितरण गरिएको हो ।

‘बाढीले जिल्लाभरी ठुलै क्षति पुर्याएको रैछ’, एसपी ढकालले भने, ‘हामी बचाव तथा उद्धार प्रति सजगतापुर्वक लागेका छौं।’ हालसम्म क्षतिको विस्तृत विवरण आउन नसकेको बताउँदै ढकालले आँफू मातहतका युनिटलाई तथ्यगत विरण संकलनका लागि निर्देशन गरिसकिएको बताए।

जिल्ला प्रहरी कार्यालय मातहतका ५ सय जना प्रहरी हाल बाढी प्रभावित क्षेत्रमा उद्धार, बचाव तथा तथ्यांक संकलनका लागि खटेको एसपी ढकालले वताए। प्रहरीका अतिरिक्त नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालित गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खाँडो, जिता, महुली, भलुवाहीसहितका नदीहरुमा आएको बाढीका कारण तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, कोइलाडी, कोबसाइन, विसहरीया, दिघवा, तोपा, कजौली, बथनाहा, महदेवा, पकरी, भगवतपुर, देउरीभरुवा, पोर्ताहा, भारदह, मधवापुर, त्रिकौल, मैनाकडेरी, फत्तेपुर, कमलपुर, बैरबा सहितका गाविसहरु निकै हदसम्म प्रभावित भएको छ।

 

बाढीका कारण डुवानमा परेको सप्तरीको तिलाठी गाविस स्थितघर
बाढीका कारण डुवानमा परेको सप्तरीको तिलाठी गाविस स्थितघर
बाढीका कारण डुवानमा परेको सप्तरीको तिलाठी गाविस स्थितघर
बाढीका कारण डुवानमा परेको सप्तरीको तिलाठी गाविस स्थितघर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App