१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

जनप्रतिनिधिसँगका अपेक्षा

षड्यन्त्रका अनेक सिद्धान्त बने/बनाइए तर वैशाख ३१ मा पहिलो र असार १४ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शानदाररूपमा सफल भयो। अब बाँकी प्रदेश नं. २ को पनि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ भने निर्वाचन आयोगले आवश्यक तयारीको काम थालेको जनाएको छ। सोहीअनुसार दलहरू पनि निर्वाचन रणनीति बनाउन आपसी गृहकार्यमा ब्यस्त छन्।

करिब २० वर्षपछि १२७ स्थानीय तहबाहेक बाँकी स्थानीय तहका जनताले आफ्ना प्रतिनिधि पाएका छन्। जनप्रतिनिधि नहँुदा विकास निर्माणका अनेकन काम प्रभावित भएका थिए भने भ्रष्टाचार बढेको भन्दै चौतर्फी आलोचना पनि नभएको होइन। आफ्नै दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा जनप्रतिनिधि चुनेपछि जनतामा ठूलो आशा र भरोसा पलाएको थियो। रूपान्तरित स्थानीय तह व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको अधिकार सम्पन्न छ। स्थानीय तह (सरकार) ले गर्न सक्ने काम र अधिकार पनि धेरै भएका कारण हुन सक्छ, जनतामा उनीहरूप्रतिको अपेक्षा पनि बढी नै थियो र छ पनि। 

जनतप्रतिनिधिले आफ्ना गाउँ–टोलमा विकास निर्माणका काम कहिलेदेखि सुरु गर्लान् भन्ने प्रतीक्षामा रहेका जनता पछिल्लो समय निर्वाचित जनप्रतिनिधिले गरेका भाषणबाजी र विवादित कामका कारण केही अमिलो महसुस गर्न थालेका छन्। अधिकांश जनप्रतिनिधिले आफ्नो पदभार ग्रहण गरेलगत्तै कसैले वृद्ध भत्ता बढाउने त कसैले यस्तो भत्ता घरमै पुर्‍याउने निर्णय गरेर जनतालाई खुसी पार्ने प्रयास गरे। सँगै कोहीले चाहिँ मोबाइल फोन, मोटरसाइकल खरिद गर्ने निर्णय पनि गरे।

तर विडम्बना, कतिपयले निर्वाचन जित्नेबित्तिकै चुनाव प्रचार–प्रसारका बेला सुनेको/देखेको जनताका दुःख बिर्सिए। उदाहरणका लागि काठमाडौंको चावहिल–बौद्ध–जोरपाटीको सडक निर्माण गरेर त्यो क्षेत्रलाई व्यवस्थित बनाउँछु भन्ने जनप्रतिनिधि अहिले कहाँ गए? अहिले के हेरेर बसिरहेका छन्? केही दिनअघि जाँदा त्यहाँका जनता एकापसमा गफिँदै थिए। खै त, आजकाल हाम्रो जनप्रतिनिधिको त अनुहार नै देख्न पाइँदैन। चुनाव जिते भने त सडक निर्माणको काम तत्काल थालिहाल्छु भन्थे। निर्वाचन सम्पन्न भएको तीन महिना नबित्दै जनता यसो भन्न थालिसके। जुन राम्रो संकेत पक्कै मान्न सकिन्न।

यो सडक खण्डमात्र होइन, राजधानीका अघिकंाश सडक घाम लागे धुलाम्य, पानी परे हिलाम्य हुन्छ। आखिर कहिलेसम्म यस्तो कष्टकर यात्रा गरिरहनुपर्ने हो, थाहा छैन। मुलुककै राजधानीको त हालत यस्तो छ र जनप्रतिनिधिको व्यवहार यस्तो छ भने दूरदराजको अवस्था कस्तो होला? अरु केही नभए पनि निर्वाचनमा भोट माग्दै हिँड्दा जनप्रतिनिधिले कति दुःख पाउनुभयो? एक पटक छातीमा हात राखेर सोच्नूस् र अनि जनताको पीडा बुझ्ने कोसिस गर्नूस्।

जनप्रतिनिधिले चुनाव जितेको तीन महिना नबित्दै विकासको लहरै चल्नुपर्छ भन्ने आसय होइन। कमसेकम सडक टालटुलको काम त थालौँ। काठमाडौं उपत्यकामात्र होइन, देशभरका प्वाल परेको सडक टाल्ने अभियान मात्र तपाईँ थाल्नूस्, जनता आफ्नो घरअघिको सडक निर्माणका लागि जस्तोसुकै सहयोग गर्न तयार छन्। तपाईँले माग्दा भोट दिएर जिताएको जनताले तपाईँले भनेपछि के गर्दैनन्? सिटी र मेट्रो रेलको कुरा अनि गरौँला। जनताले पानी परेको दिन कसरी घरबाहिर निस्कने भनेर दश पटक सोच्नुपर्छ। तपाईँहरू मेट्रो, सिटी रेल र फ्लाइओभरका लागि दाता गुहार्न थालिसक्नुभयो। चाहने हो भने दुई दिनमा हुने काममा तपाईँहरूको ध्यान नजाने अनि वर्षाँै कुर्नुपर्ने काममा ध्यान गएको देख्दा अचम्म लाग्छ। तपाईँलाई ती सडक पार कसरी गर्ने भन्ने सोचेर बसेका जनताले के भन्लान् भन्ने सोच्नुभएको छ?

प्रकाशित: २० श्रावण २०७४ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App