७ वैशाख २०८१ शुक्रबार
विचार

कुन मन्दिरमा जान्छौ यात्री...

असहाय र गरिबप्रति दयाभाव देखाउँदैनौँ। दुखेको घाउमा मल्हमपट्टी लगाउँदैनौँ। सुन घोटेर, दूध चढाएर पत्थरको भगवान् खुसी बनाउन लागिपर्छौँ। भोको पेटको दर्द बु‰दैनौँ तर मूर्तिलार्ई लड्डु र फलफूल खुवाउँछौँ।

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो

कुन सामाग्री पूजा गर्ने, साथ कसोरी लाने हो

हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार

मष्तिस्कको सुनको छाना, इन्द्र यहरूको द्वार

नसा नदीका, तरल तरंग, मन्दिर आफू अपार...

लक्ष्मीप्रसाद देवकोटाले लेखेको 'यात्री' कविता कक्षा ९ मा पढेँ। त्यतिबेला कविता कण्ठ पारेर गुरुलाई सुनाउन सके र परीक्षामा उत्तर दिन सके पास भइन्थ्यो। त्यसमै सीमित थियो, यो कविता मेरा लागि। गुरुले मानव जीवन, धर्म, करुणा, स्वभाव सिकाउनुभयो होला। मन्दिर जाँदैमा धर्म हुने हो–होइन भन्ने पनि बुझाउन त खोज्नुभयो होला। तर मैले केवल कविता कण्ठ पारेँ। परीक्षामा प्रश्नको जवाफ लेखेँ, सकियो। तर, हिजोआज यो कविताले वास्तवमै हृदय छुन्छ।

मानिस धर्मका नाममा मन्दिर धाउँछ। व्रत बस्छ। पूजा अर्चना गर्छ। लाख बत्ती बाल्छ। तर चेतना र स्वभाव बदलिएको छैन। करुणा, प्रेम, स्वीकार, धैर्य, अनुशासनजस्ता महत्वपूर्ण मानवीय गुण प्रष्फुटन हुन सकेको पाइँदैन। झन्झन् पापरूपी दुर्गुणहरू लोभ, मोह, ईष्या, द्वेष, काम, क्रोध बढ्दै गएको छ। परिणामतः आज परिवार, समाज र राष्ट्रमा अराजकता र अमानवीयता फस्टाउँदो छ।

लाग्छ, जसले धेरै अधर्म गर्छ, उही नै धेरै मन्दिर धाउँछ। दक्षिणा चढाउँछ। गुरुलाई दान दिन्छ। तर, निरीह पशुलाई बलि दिन्छ। लाख बत्ती जलाएर धनको धाक देखाउँछ। यस्तै परम्परा चलेको छ— राजा, महाराजा, मन्त्री, प्रधानमन्त्रीदेखि सामान्य व्यक्तिसम्म।  आफूभित्रको पशुत्वको बलि दिन छाडेर निरीह पशुलाई किन बलि दिने?

धर्मको आडमा सबै काम गर्न सजिलो छ, किनभने हामी विज्ञान र कानुनसँग भन्दा धर्मसँग बढी परिचित छौँ। कसैलाई सजाय दिनुपरेमा या पुरस्कार दिनुपरेमा, शिक्षा होस् या संस्कार, सदाचार सबै कुरा धर्मको आधारमा दिने प्रचलन छ। धर्मसँग हाम्रो श्रद्धा र भय सँगै जोडिएर आएको छ। तर, धर्म त स्वभाव हो। करुणा, प्रेम, स्वीकार, धैर्य, अनुशासन मानवीय धर्म हुन्।

अरूप्रति र अरूकै सम्पत्तिप्रति गरिने लोभ, मोह, ईष्या, द्वेष, काम, क्रोध अधर्म हो।  आफूभित्रको अन्धकाररूपी पाप हटाएर ज्योतिस्वरूप प्रेम र करुणा धारण गर्ने बुद्धको सन्देश धूप, बत्ती जलाएर र आरती गरेर मात्र पूरा होला त? असहाय, गरिबप्रति दयाभाव देखाउँदैनौँ हामी। दुःखीको घाउमा मल्हमपट्टी लगाउनु सट्टा सुन घोटेर, दूध चढाएर पत्थरको भगवान् खुसी बनाउन लागिपरिरहेकै छौँ। भोको पेटको दर्द बु‰दैनौँ तर मूर्तिलार्ई लड्डु र फलफूल खुवाउँछौँ।

कहिलेदेखि भित्रको भगवान्को पहिचान गर्ने हामीले? धर्मको व्यावहारिक र सांस्कृतिक अनि वैज्ञानिक पक्षको मूल्यांकन गरेका छौँ कि छैनौँ? वसुधैव कुटुम्बकम्, सत्य र असत्य, रीति र कुरीति, संस्कार र कुसंस्कारको भेद जानेका र व्यवहारमा उतारेका छौँ कि छैनौँ? हाम्रो संस्कार कल्याणकारी र प्रेमपूर्ण छ कि छैन?

मन्दिर जानु, मूर्तिपूजा गर्नु, कर्मकाण्ड र शास्त्रमा उल्लिखित कुराको अनुशरण गर्नु मात्र धर्म होइन, शास्त्रमा उल्लिखित मर्म र हाम्रो धर्मभित्र छिपेको धार्मिकतासँग हामी परिचित हुनु जरुरी छ। त्यसैले ओशोले आफ्ना शिष्यहरूलाई भन्नुभएको छ— म धर्म होइन, धार्मिकता सिकाउँछु।

मूर्तिपूजा र मन्दिर दर्शन अनि दानमा कुनै समस्या छैन। तर त्यसभन्दा माथि उठेर भगवान् मूर्तिमा होइन, प्रत्येकको अन्तरात्मामा छन् भन्ने बोध हुनु र सही मार्ग पहिचान गर्नु धार्मिकता हा। धर्म मान्यता हो भने धार्मिकता अनुभूति हो। मान्यता एकदिन परिवर्तन हुन सक्छ तर अनुभूति सत्य हुन्छ। सत्य पहिचान गरी आफूलाई करुणाको मार्गमा हिँडाउने व्यक्ति नै धार्मिक व्यक्ति हो।

प्रकाशित: २० श्रावण २०७४ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App