coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

न्युरोड र टेकुमा स्मार्ट पार्किङ

स्मार्ट पार्किङको सांकेतिक नमुना । तस्बिर : एजेन्सी


काठमाडौं महानगरपालिकाले न्युरोडको धर्मपथमा र टेकुमा स्मार्ट सवारी पार्किङ बनाउने योजना अघि सारेको छ । उपत्यकाको अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न स्मार्ट पार्किङको अवधारणा ल्याइएको हो । आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रममा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ समावेश गरिएको छ ।

महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले स्मार्ट पार्किङ उच्च प्राथमिकतामा राखेको बताए । ‘उपत्यकामा जताततै अव्यवस्थित पार्किङले सवारीसाधन अस्तव्यस्त देखिएको छ । त्यसैले नीति तथा कार्यक्रममा नै स्मार्ट पार्किङको योजना अघि सारेका छौँ,’ उनले भने, ‘स्मार्ट पार्किङको  डिजाइन भइरहेको छ । छिट्टै डिजाइन तयार पारेर निर्माण कार्य अघि बढाइनेछ ।’ 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केही दिनअघि महानगरीय ट्राफिक महाशाखाको कार्यक्रममा बोल्दै उपत्यकामा व्यवस्थित पार्किङ नहुँदा समस्या भएको स्वीकारेका थिए । 

नीति तथा कार्यक्रममा सहरका विभिन्न ठाउँमा ‘स्मार्ट भेर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ बनाउने उल्लेख छ । महानगरका प्रवक्ता कार्कीले समयमै डिजाइन तयार भएर काम अघि बढेमा धर्मपथमा ६ महिनाभित्रै पार्किङस्थल तयार हुने दाबी गरेका छन् । ‘स्मार्ट पार्किङस्थल बनेसँगै सडकमा हुने अनधिकृत पार्किङ हट्नेछ,’ उनले भने, ‘सवारी आवागमनमा समेत सहज हुनेछ ।’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केही दिनअघि महानगरीय ट्राफिक महाशाखाको कार्यक्रममा बोल्दै उपत्यकामा व्यवस्थित पार्किङ नहुँदा समस्या भएको स्वीकारेका थिए। 

‘जनताले पनि सडकमा जथाभावी पार्किङ गर्नुभएन,’ उनले भने, ‘महानगरले स्मार्ट पार्किङ बनाउने योजना अघि बढाइसकेको छ ।’ महानगरले स्मार्ट पार्किङ बनाउन धर्मपथमा १ रोपनी ११ आना र टेकुमा सात रोपनी क्षेत्रफलको जग्गा उपलब्ध गराउने जनाएको छ । ‘सकभर नेपालीकै लगानीमा स्मार्ट पार्किङस्थल निर्माण गर्न लागेका छौं,’ प्रमुख शाक्यले भने, ‘त्यो सम्भव नभए दातृ निकायका सहायतामा भए पनि निर्माण गर्नेछौं ।’ नगरप्रमुख शाक्यले टेकुमा बन्ने व्यवस्थित पार्किङस्थलले कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्कलगायत स्थानमा हुने अनाधिकृत पार्किङमा कमी आउने दाबी गरे । नीति तथा कार्यक्रममा भित्री सहरका लागि तयार पारिने बृहत्तर यातायात अनुरूप निर्देशित हुने उल्लेख गरिएको छ ।

महानगरभित्रको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन ट्राफिक नियमको कडाईका साथै कार्यान्वयमा जोड दिइनेछ । त्यस्तै गरी अनियन्त्रित र अव्यवस्थित पार्किङ व्यवस्थालाई सुधार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

प्रकाशित: २० श्रावण २०७४ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App