७ वैशाख २०८१ शुक्रबार
खेल

हारबाट प्रेरणा लिने एलार्डिसको योजना

लन्डन- इङ्ल्यान्डका नयाँ प्रशिक्षक साम एलार्डिसले युरो २०१६ मा आइसल्यान्डसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिए पनि त्यसले भविष्यलाई उत्प्रेरणा प्रदान गर्ने शनिबार बताएका छन्। ६१ वर्षे एलार्डिसले शुक्रबार रोए हड्सनको स्थान लिएका थिए। हड्सनले फ्रान्समा सम्पन्न यरोपियन च्यामिपयनसिपको अन्तिम १६ मा आइसल्यान्डसँग पराजित भएपछि राजीनामा दिएका थिए।

इङलिस प्रिमियर लिगको क्लब सन्डरल्यान्डसँगको सम्बन्धमा पूर्णविराम लगाउँदै एलार्डिस नाटकीय रुपमा इङ्ल्यान्ड प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए।

‘आइसल्यान्डसँगको हार हाम्रा लागि निकै तितो थियो। तर सत्य त्यही थियो, त्यही सत्यबाट हामीले सकारात्मक रुपमा प्रेरणा लिनुपर्छ। यो हारपछि खेलाडीहरुले अव यस्तो नतिजा दोहोरिन नदिने प्रतिज्ञा गर्नु पर्छ,’ एलार्डिसले भने, ‘तत्कालका लागि हाम्रो प्राथमिकता युरोपियन च्याम्पियनसिपमा गुमाएको मनोबल फर्काउनु हो। पहिलो दिनबाटै यो यो काम सुरु गर्नुपर्छ। हामी विश्वकपको छनोट प्रतियोगिता खेल्दै छौं। मानसिक रुपमा पनि हामीले अझै राम्रो तयारी गर्नुपर्छ।’

एलार्डिस २००६ मा पनि इङ्ल्यान्ड प्रशिक्षक नियुक्तीको नजिक पुगेका थिए, तर स्टिभ म्याकक्लारेनले उनलाई पछि पारेका थिए। त्यसयता उनले प्रिमियर लिगका ५ भिन्न क्लबबाट आफ्नो अनुभव तिखारेका छन्।

तर, अव उनको यात्रा सहज भने छैन। इङ्ल्यान्डले अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधी नजितेको लामो समय भइसकेको छ। ५० वर्ष अघि विश्वकप जितेयता टोलीले कुनै उपाधी जितेको छैन। युरो १९९६ पछि टोलीले सेमिफाइनल यात्रा पनि तय गर्न सकेको छैन।

जिम्मेवारी सम्हाले पछिको पहिलो अन्तरवार्तामा एलार्डिसले समर्थकलाई पनि सम्वोधन गर्न भ्याएका थिए।

‘इङ्ल्यान्ड समर्थकमा कुनै समस्या छैन। मनै देखी आफ्नो टोलीको समर्थन गर्नु गल्ति होइन,’ एलार्डिसले भने, ‘त्यो स्तरमा प्राय सधै आलोचना हुने गर्छ। तर हरेक कुराका सकरात्मक र नकरात्मक पाटा हुन्छन्।’

एलार्डिसको दुई वर्षे सम्झैतामा जुनियर टोली सँगै मुख्य राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण गर्ने स्पष्ट तोकिएको छ।

‘यो व्यवस्थापनको विषय हो,’ एलार्डिसले भने, ‘सवै क्षेत्रमा दख्खल भएका ब्याकरुम स्टाफ नियुक्ति गर्नुपर्छ। मुख्य प्रशिक्षकले खेलाडीमात्र नभई ब्याकरुम स्टाफहरुको पनि व्यवस्थापन गर्नुपर्छ। मुख्य प्रशिक्षकको हैसियतमा मैले उनीहरुको आत्मबल उचो राख्नु पर्छ। वास्तवमा उनीहरु म भन्दा क्षमतावान हुन्छन्।’

एलार्डिसले २२ वर्षे प्रशिक्षण जीवनमा अहिलेसम्म ठूला उपाधि जित्न सकेका छैनन्। उनको प्रशिक्षणमा इङल्यान्डले सेप्टेम्बर १ मा वेम्बली रंगशालामा पहिलो पटक खेल्नेछ। तर अहिलेसम्म प्रतिद्वन्द्वी टोलीको टुंगो भने लागेको छैन। प्रतिस्पर्धात्मक खेलमा भने इङल्यान्डले सेप्टेम्बर ४ मा स्लोभाकियाविरुद्ध विश्वकप २०१८ को छनोट खेल खेल्नेछ।

प्रकाशित: १० श्रावण २०७३ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App