७ वैशाख २०८१ शुक्रबार
समाज

स्वाइन फ्लुका कारण झापामा दुईको मृत्यु

इलाम- स्वाइन फ्लुका कारण झापामा दुई महिलाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका ४ की ३७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड १ की ४७ वर्षीया मनिषा अग्रवालको स्वाइन फ्लुकै कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको हो।

                कार्यालयले जिल्लामा स्वाइन फ्लु संक्रमणले दुईजनाको मृत्यु भएको खबर आएपछि त्यसको यथार्थ थाहा पाउन अध्ययन समिति नै गठन गरेको थियो। चिकित्सक दुर्योधन यादवको संयोजकत्वमा गठित अध्ययन समितिले भारतीय अस्पतालहरूले दिएको रिपोर्ट अध्ययन र मृतकका घर–परिवारमा पुगेर घटनाबारे अध्ययन गरेको थियो। अध्ययन समिति सचिव तथा कार्यालयका कर्मचारी कुलबहादुर पौडेलले दुवैजनाको मृत्यु स्वाइन फ्लुकै कारण भएको बताए। ‘सबै विवरण अध्ययन गरी  प्रतिवेदन तयार गरेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत पठाएका थियौं,’ उनले भने, ‘दुवैजनाको स्वाइन फ्लुकै कारण मृत्यु भएकै पुष्टि भयो।’  मित्तललाई असार १९ गते उपचारका लागि भारतको सिलिगुडी लगिएको थियो । रक्तचाप उच्च भएपछि उनलाई स्थानीय मेडिकलमा पाइने औषधि दिएपनि रक्तचाप कम भएन । त्यसपछि नवदिता नर्सिङ होममा करिब सातादिन उपचार गराउँदा फोक्सोमा समस्या देखियो। थप उपचारका लागि उनलाई एयर एम्बुलेन्सबाट दिल्लीस्थित एपोलो अस्पताल पुर्‍याइयो। १८ चिकित्सकको टोलीले ७२ घन्टाको जाँचपछि उनलाई स्वाइन फ्लु संक्रमण रहेको प्रमाणित गरिदिएपछि साउन १ मा मित्तलको मृत्यु भएको पौडेलले बताए ।

                पौडेलका अनुसार अग्रवाललाई चाहिँ टिभी रोगको शंका लागेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर, त्यहाँ ठीक नभएको र ज्वरो धेरै बढेपछि प्रतिष्ठानका चिकित्सकले क्यान्सरको शंका गरे । उनलाई भारत नयाँदिल्लीस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा थप उपचारका लागि पठाइयो । चिकित्सकले उनलाई स्वाइन फ्लु शंका गर्दै पुनः अन्य दुई बेग्लाबेग्लै अस्पतालमा नमुना जाँचका लागि पठाए। एउटा अस्पतालले स्वाइन फ्लु भएको र अर्कोले नभएको रिपोर्ट देखाए । उपचारक्रममै अग्रवालको पनि साउन १५ मा निधन भएको थियो।

                स्वाइन फ्लुकै कारण दुईजनाको मृत्यु पुष्टि भएपछि जनस्वास्थ्य कार्यालयले जिल्लाबासीलाई सर्तक रहन आग्रहसमेत गरेको छ । कार्यालयले शुक्रबार स्थानीय सरोकारवालासमेतलाई बोलाएर स्वाइन फ्लुबाट जिल्लामा दुई महिलाको मृत्युसमेत भइसकेकाले उच्च सतर्कता आवश्यक रहेको जानकारी दिएको छ। यसबाट बच्ने उपायबारे लेखिएका सामग्रीको ‘बुक लेट’ १० हजार प्रति छपाइ गरी कार्यालयले वितरण गर्दैछ । ‘हामी शंकास्पद बिरामीको जाँच पनि गरिरहेका छौं,’ पौडेलले भने, ‘तर, अहिलेसम्म कुनै केसमा स्वाइन फ्लु पोजिटिभ भने देखिएको छैन ।’ उनले जिल्लामा स्वाइन फ्लुका कारण मृत्यु भएको पुष्टिले रोगको जोखिम बढाएको भन्दै सचेत रहन सबैलाई आग्रह गरिएको बताए ।

                चिकित्सकहरूका अनुसार स्वाइन फ्लु विशेषगरी सुँगुर वा बंगुरबाट मानिसमा सर्छ । हावाका माध्यमबाट सर्ने यो रोग लागेपछि सुरुमा रुघाखोकीको लक्षण देखिन्छ । एचवान एनवान, एचवान एन–टु, एच–थ्री, एन–टु र एच–थ्री एनवानका कारण यो रोग लाग्ने गर्छ । फोहोरबाट बच्न, रुघाखोकी लागेको व्यक्तिबाट जोखिन र रोग लागिहाले तत्काल जाँच गराएर औषधि सेवन गर्न चिकित्सकको सुझाव छ।

प्रकाशित: २० श्रावण २०७४ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App