१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए

काठमाडौं- प्रधानमन्त्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीका सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन। खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवहरूले निर्देशनअनुरुप काम नगर्दा  मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन्।

प्रधानमन्त्री, राष्ट्रपतिलगायत सरकारी निकायका उच्च कर्मचारीका आँखा पर्ने ठाउँका खाल्डा मात्रै पुरिएको छ। धेरैजसो सडकको अवस्था जस्ताको तस्तै छ।

सचिवहरूले खाल्डा पुर्न पर्याप्त जनशक्ति परिचालन र आवश्यक सामग्री जुटाउन नसक्दा काममा प्रगति नभएको हो। कतैकतै सरकारी निकायका भिआइपीहरू हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ। बितेका २० दिनको कार्य प्रगति हेर्दा सडकका खाल्डा पुर्ने काम सन्तोषजनक नभएको गुनासो उपभोक्ताको छ। 'प्रधानमन्त्री, राष्ट्रपतिलगायत सरकारी निकायका उच्च कर्मचारीका आँखा पर्ने ठाउँका मात्रै खाल्डा पुरिएको छ,' शनिबार गौशालामा भेटिएका बौद्धका सोनाम लामाले भने, 'धेरैजसो सडकको अवस्था जस्ताको तस्तै छ, भिआइपी हिँड्ने सडकका खाल्डा केही पुरिएको देखिन्छ।' उनका अनुसार गौरीघाट, चाबहिल–जोरपाटी सडकखण्डमा गहिरा खाल्डा छन्। यी सडकका खाल्डा नपुर्दा सवारीसाधन समेत बिग्रिने र दुर्घटना हुने गरेका छन्।

खाल्डा पुर्ने जिम्मा पाएका निकायले यो समस्यालाई बेवास्ता गरेको देखिन्छ। १५ दिने म्याद सकिएपछि अहिले तीन निकायका सचिवहरूको ध्यान सकडतिर छैन। उनीहरू कार्यालयको कामले सडकमा खट्न नपाएको बताउँछन्। 'हाम्रो काम खाल्डा पुर्नेमात्रै होइन, अरु काम पनि हुन्छ,' स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने, 'हामीले पनि मातहतका निकायलाई खाल्डा पुर्न जिम्मा दिएका छौं।' उनका अनुसार केयुकेएल, सडक विभाग, पिआइडी, बागमती सभ्यता, धोबीखोला करिडोर आयोजना, विष्णुमती करिडोर आयोजना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले खाल्डा पुर्ने काम गरिरहेका छन्।

यी निकायलाई खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काम गर्न निर्देशन दिइरहेका छन्।  तर, कुनै पनि निकायले उत्तरदायी भएर काम गरेको देखिँदैन। महाराजगन्ज–बूढानीलकण्ठ, तीनकुने–बानेश्वर, तीनकुने–कोटेश्वर, केशरमहल–लाजिम्पाट, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, लैनचौर–सोह्रखुट्टे, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चाबहिल–जोरपाटी, त्रिपुरेश्वर–कलंकी, चाबहिल–गोपीकृष्ण हललगागत सडकका खाल्डा पुरिएको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मुख्य सडकका धेरैजसो खाल्डा पुरिएको दाबी गरे। 'बर्खा भएकाले काम गर्न निकै कठिन छ,' उनले भने, 'निर्देशन पाएको दिनदेखि भएका स्रोत साधन प्रयोग गरेर सडकमै खटिएका छौं, तर काम हुँदाहुँदै पनि काम भएन भनेर निरुत्साहित बनाउने धेरै भेटिए।'

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणको विषयले कार्यालयको भित्री काममै व्यस्त हुनुपरेको बताए। 'कामको चापले सडक अनुगमनमा निस्कन पाएका छैनांै,' उनले भने, 'तीन निकायका सचिवलाई थालेको काम नछाड्न आग्रह गरेका छौं।'

उनका अनुसार खाल्डा पुर्ने जिम्मा पाएका निकायले दिएको तथ्यांकअनुसार हालसम्म ७५ प्रतिशत काम भएको देखिएको छ। 'हामीले पाएको जानकारीअनुसार ७५ प्रतिशत काम भएको देखिएको छ,' उनले भने, 'पछिल्लो समय सडक अवलोकनमा निस्कन नपाएकाले सबै निकायलाई जिम्मेवार भएर काम गर्न निर्देशन भइरहेको छ।'

प्रधानमन्त्री कार्यालयकै सहसचिव दामोदर रेग्मीले मूल सडक हेर्दा कतैकतै काम भएको देखिएको बताए। 'धेरैजसो सडकखण्डमा काम भएको पनि छ,' उनले भने, 'तर सोचअनुरुप काम भएको देखिएको छैन, जिम्मेवार निकायलाई कामको गति नघटाउन निर्देशन दिइरहेका छौं।' उनले पनि पछिल्लो समय सडक अनुगमनमा निस्कन खासै नभ्याएको बताए। प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयका  सचिवहरूलाई ताकेता नगर्दा खाल्डा पुर्ने कार्यमा खासै चासो नदिएको पनि देखिन्छ। गत बुधबार सडक विभागले चाबहिल–बौद्ध सडकखण्डमा ग्राभेल ओछ्याए पनि उक्त स्थानमा फेरि खाल्डा पर्न थालेको देखिन्छ। झारा टार्ने शैलीमा काम गर्दा यस्तो भएको उपभोक्ता बताउँछन्। 

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले सडक पुर्ने काम निरन्तर भइरहेको बताए। 'हामीले हाम्रो दायिŒव पूरा गरेका छौं,' उनले भने, 'तर सबै निकाय मिलेर काम नगर्दा खासै प्रगति नदेखिएको हो।'

प्रधानमन्त्रीको निर्देशनपछि साउन १ गतेदेखि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा काम सुरु भएको हो। सडकका खाल्डाखुल्डीका सवारी साधन पनि छिटो बिग्रने गरेका छन्। खाल्डे सडकमा साना टायर भएका सवारी साधन सबैभन्दा बढी बिग्रने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब उपरीक्षक मधुुसुदन शिलवालले जानकारी दिए। उनका अनुसार पछिल्लो समय खाल्डाखुल्डी सडकका कारण दैनिक २० भन्दा बढी सवारी साधन बिग्रने गरेका छन्। चालकहरू पनि सडकका खाल्डा सवारी साधनका लागि महाशत्रु भएको बताउँछन्। '१० वर्षसम्म टिक्ने गाडी खाल्डाखुल्डीले गर्दा ५ वर्ष पनि टिक्न मुस्किल छ,' रत्नपार्क–जावलाखेल रुटमा माइक्रोबस चलाउँदै आएका श्याम तामाङले भने, 'प्रधानमन्त्रीले खाल्डा पुर्न निर्देशन दिएको त सुनेको थिएँ तर सडकको अवस्था हेर्दा त्यसको प्रभाव देखिएको छैन।'

प्रकाशित: २१ श्रावण २०७४ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App