७ वैशाख २०८१ शुक्रबार
खेल

लाजियो सय वर्ष पुरानो उपाधिनजिक

रोम- लाजियो इटालियन फुटबलमा एउटा प्रतिष्ठित उपाधिको नजिक पुगेको छ। इटालियन फुटबल च्याम्पियनसिप १९१५ को। लाजियोका ३० हजारभन्दा बढि समर्थकले हस्ताक्षर गर्दै क्षतिपूर्ति माग गरेपछि इटालियन फुटबल संघको कमिटीले लाजियोलाई १ सय वर्षभन्दा अगाडि सकिएको प्रतियोगिताको संयुक्त विजेता घोषणा गर्ने सिफारिस गर्ने भएको छ। यति पुरानो उपाधि लिन लाजियोले किन मरिहत्ते गर्‍यो? क्लब इतिहासमा लाजियोले अहिलेसम्म दुई पटकमात्र घरेलु लिगको उपाधि जितेको छ। एउटा टोलीले १९७३–७४ सिजनमा जितेको थियो भने अर्को १९९९–२००० को सिजनमा। सय वर्ष पुरानो भए पनि तेस्रो उपाधिले लाजियोको खातामा पनि शहरी प्रतिद्वन्द्वी एएस रोमाको वरावर उपाधि हुनेछ।

१९१४–१५ सिजनको कथा धेरै प्रष्ट छैन। अनौठो शैलीको लिग संरचना र अवस्यम्भावी बन्दै गएको विश्वयुद्धको अवस्थाले गर्दा पनि त्यतिबेलाको इतिहास प्रष्ट हुन सकेन। धमिलो इतिहासअनुसार त्यो बेला इटालियन लिगको शीर्ष डिभिजन दुई क्षेत्रीय समुहमा विभाजित थियो। जिनुवाले उत्तरी समुहको प्रतिस्पर्धामा शीर्ष स्थान हासिल गरेको थियो भने लाजियो मध्य समुहको विजेता भएको थियो। दुई समुहका विजेताबीच प्लेअफ गराएर उपाधिको छिनोफानो गर्ने व्यवस्था थियो। तर इटाली २९१५ मे १ मा पहिलो विश्वयुद्धमा होमिएपछि सिजन पूरा हुन पाएन। प्लेअफबाट उपाधि विजेताको टुंगो लाग्न पाएन। 

युद्ध सकिएपछि १९१५ मा जिनुवालाई उपाधि विजेता घोषणा गरियो। त्यो बेला उत्तरी समुहका टोलीहरु बलिया हुने गर्थे। त्यसअघि लगातार चार वर्ष उत्तरी समुहकै टोलीले उपाधि जितेको थियो। त्यसैले त्यो क्षेत्रलाई सशक्त मानिन्थ्यो। तथापि प्लेअफ नै नगराइकन जिनुवालाई उपाधि दिनुको यकिन कारण पत्त ो लाग्न नसकेको इटालियन फुटबल संघको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

'१९१५ को उपाधि जिनुवालाई दिने संघको तत्कालिन निर्णयवारे त्यो बेलाका अखवारमा केही सतही समाचारवाहेक केही देखिएन,' संघको प्रतिवेदनमा भनिएको छ।

जिनुवा र लाजियोलाई प्रतियोगिताको संयुक्त विजेता घोषणा गर्ने विषयमा अन्तिम निर्णय अगस्ट ४ मा हुनेछ। दुवै टिमलाई विजेता घोषणा गर्ने निर्णय सतही रुपमा ठिकजस्तो देखिए पनि त्यसले थुप्रै जटिलता उत्पन्न गर्ने इन्टरनेसनल न्युयोर्क टाइम्सका लेखक भिक्टोर माथरले लेखेका छन्।

जिनुवाको उत्तरी समुहको नतिजा आफैमा विवादास्पद भएको माथरको भनाई छ। उत्तरी समुहमा अन्तिम चरणको एक खेल सकिएको थिएन। टोरिनो वा इन्टर मिलानमध्ये कुनै एक टोलीले सवै नतिजा अनुकुल हुँदा जिनुवालाई भेट्टाउने सम्भावना थियो। दक्षिणी समुहको प्रतिस्पर्धा सम्पन्न भएको इतिहास इटालीमा छैन। नेपल्स र इन्टर नेपोली अझै सम्म पनि वाँकी रहेका त्यो बेला दक्षिणी समुहमा खेल्ने टोली हुन्। १९२० मा यिनै दुई टोली एक–आपसमा गाभिएर हालको नेपोली टिम बनेको हो। जसका कारण नेपोलीले पनि त्योबेलाको उपाधिमा दावी गर्न सक्छ।

जिनुवा समर्थक समुहका अध्यक्ष डेभिडे ट्राभर्सोले एक स्थानीय पत्रिकालाई भनेका छन्, 'सय वर्षभन्दा पुरानो निर्णयमा पूर्नविचार गर्ने र त्यसलाई उल्टाउने भन्ने खवरले मलाई हाँसो उठिरहेको छ। यस्तो गरिँदैछ, किनकी यस्तो माग गर्ने लाजियो हो। यस्तो कुरामा मेरो समर्थन छैन। फुटबलप्रेमीहरुले यसलाई स्विकार गर्ने छैनन्। मेरो विचारमा त उनीहरुले बोलोग्ना र जिनुवाको फाइनलवारे छलफल गर्नुपर्ने हो।'

ट्राभर्सोले पुरानो निर्णयलाई यथावत राख्नका लागि १९२५ मा भएको अर्को विवादास्पद च्याम्पियनसिपको पनि कुरा उठाए। लिगको नियमअनुसार त्यो वर्ष जिनुवा र बोलोग्नाबीच एक खेलको फाइनल हुनुपर्ने थियो। तर दुई पटक खेल्दा पनि बराबरी नतिजा निस्कियो। तेस्रो पटक खेल हुँदा समर्थकको वितन्डाले खेल बराबरीमै टुंगियो। कालो जर्सी लगाएका बोलोग्नाका एक समर्थकले मैदानमा ओर्लिएर वितन्डा मच्चाएपछि खेल बराबरीमै स्थगित भएको थियो। ट्रेन स्टेसनमा एकजना समर्थकले बन्दुक पडकाएपछि चौथो पटकको खेल स्थगित भयो। पाँचौं पटक बोलोग्नाले खेल जित्यो, तर तेस्रो खेल बोलोग्ना समर्थकका कारण स्थगित भएका कारण विपक्षीलाई अयोग्य घोषणा गर्नुपर्ने जिनुवाका समर्थकले माग राखेका थिए।

इटालियन फुटबल टिम र समर्थकहरुले इतिहासलाई धेरै महत्व दिने गर्छन। युभेन्ट्सले आधिकारिक रुपमा शीर्ष डिभिजनमा सर्वाधिक ३२ पटक उपाधि जितेको छ। तर पछिल्लो पटक अप्रिलमा उपाधि जित्दा थुप्रै खेलाडीहरुले पछाडिको भागमा '३४' लेखिएको जर्सी लगाएर खुसी मनाएका थिए। युभेन्ट्सले पनि २००५ र २००६ मा मिलोमतोका कारण खोसिएको उपाधि फिर्ता हुनुपर्ने दावी गरिरहेको छ।

सय वर्ष अगाडिको निर्णयमा अहिले पूर्नविचार भइरहँदा युभेन्ट्सले पनि ति उपाधि २२ औं सताव्दीमा पाउन सक्ने आलोचकहरु बताउँछन्।

प्रकाशित: १० श्रावण २०७३ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App