७ वैशाख २०८१ शुक्रबार
अन्य

काउच सर्फिङ

घिमिरे युवराज

लापिनरेन्टा।

उच्चारण गर्न गाह्रो नाम भएको सहरकी एउटी वयस्क सुन्दरीको तस्बिरले आकर्षित गर्‍यो मलाई। तस्बिर कतै पहेलीमा थियो सायद। उनको आग्रहले चुनौती दिएको थियो। 'एउटी चकचके र जिद्दी फिनिस केटीका केही रोचक कथा सुन्ने हिम्मत गर्ने कोही छ? त्यसो भए मलाई पाहुनाको रूपमा स्विकार्नुस्।' मिति १ देखि ७ मे।

सहरको नाम उच्चारणकै लागि मैले गुगल सर्च गरेँ। गुगलमा जुन केटीको स्वर राखिएको छ नि, यस्तो लाग्छ ऊ यौन क्रीडाको उत्सर्गका बेला यो शब्द उच्चारण गरिरहेकी छे। नपत्याए सुनेर हेर्नुस्। स्वर सुन्दा उसको जिब्रो पूरै बटारिइरहेको जस्तो महसुस हुन्छ। जेहोस्, त्यही आवाजलाई सम्भि्कएर लजाउँदै मैले पनि स्काइपमा उसलाई भनिदिएँ– लापिरेन्टा।

'के भन्यौ?' लाडिएर उसले सोधी। मानौँ उसलाई पनि मेरो स्वर त्यस्तै लागिरहेको थियो, जस्तो मलाई गुगल उच्चारणकी केटीको स्वर लागेको थियो। मैले पनि अलिक स्वाङ पारेरै उच्चारण गरेको थिएँ। 'लापिनरेन्टा। लाप्पि...। लाप्पि  नरेन्टा।' ऊ एकछिन मेरो उच्चारण सुनेर खित्का छाडेर हाँसी। अनुहारमा लाज र प्रेम मिसाई जसरी ज्याक्सन पोर्लाकले क्यानभासमा रङ पोख्छन्। कल्पना न हो, देखेको थिइनँ। उसको सर्त थियो, भिडियो च्याट नगर्ने। एकैपटक एयरपोर्टमा सशरीर भेट्ने।

'भर यसमा पर्छ हामी आफ्नो शरीर कति छोपेर आउँछौँ।'

'म सकेसम्म कम लुगा लगाएर आउँछु।'

'त्यसमा मलाई कुनै गुनासो रहनेछैन। तिमीलाई गहिरिएर हेर्न मलाई लुगाले छेक्दैन।'

'नक्कले केटा।' जब उसले मेरो ठट्टालाई 'इन्जोय' गरी मैले पनि 'जोय' गरेँ। त्यो क्षण यौनिक बन्यो। उसले शंकालु पाराले सोधी, 'के गर्न थाल्यौ? तिम्रो स्वर काम्दै छ।' म यस्तो स्थितिमा पुगिसकेको थिएँ, आवेशमा आएर धेरै कुरा उसलाई त्यहीँ फोनमै भन्न सक्थेँ। तर एकछिनमा सबै कुरा सकियो। म फेरि एउटा भलादमी, शान्त र सालिन नेपाली केटोमा परिणत भइसकेको थिएँ।

जेहोस् उच्चारणभन्दा पनि उच्चारणको मेरो संघर्षलाई उसले मन पराई। एउटा अचम्मको केटो, जो अपरिचित देशकी अपरिचित केटी र उसको सहरको नाम सही तरिकाले सम्भि्कन संघर्ष गरिरहेको छ।

'वाह, म खुसीले पागल हुन्छु होला।' मैले पोस्ट गरेको घरको फोटोमुनि उसले कमेन्ट गरेकी थिई। कमेन्टबाटै मैले अन्दाज लगाइसकेको थिएँ, ऊसले मेरो निम्तोलाई स्विकार्छे। मेरो घर हेरेर ऊ के मख्ख भएकी थिई, उसको च्यालेन्जलाई स्विकारेर मख्ख भएको थिएँ म। एउटी चकचके र जिद्दी फिनिस केटीका केही रोचक कथा सुन्ने हिम्मत गर्ने नेपाली केटो मै हुँ। भलै कथा कसरी भनिनेछ, ऊ त्यसमा अनभिज्ञ छ।

फिनल्यान्डको ज्यादै सुन्दर सहर मानिन्छ, लाप्पिनरेन्टा। जसलाई हेर्न हरेक वर्ष लाखौँ पर्यटक जोडी त्यहाँ पुग्छन्। त्यही सहरकी एउटी चकचके र जिद्दी केटी मलाई भेट्न आउँदै छे। फिनल्यान्ड मेरो मनमा सधैँ प्रिय भएर बसेको थियो। यहाँका युवा अलिक खुला विचारका हुन्छन् भन्ने सुनेको थिएँ। नत्र अस्ट्रिया वा पोल्यान्डका युवाहरूलाई मैले पाहुना बनाउने सम्भावना कम थियो।

'म र मेरी केटी साथी केही हप्ताका लागि नेपाल आउँदै छौँ। हामीलाई स्वागत गर्नुहुन्छ?'

– हनिमुन मनाउन आउने जोडीलाई स्वागत गरेर कसले घर फोहोर बनाओस्?

'ट्रेकिङमा भिडियो खिच्ने कोही साथी छ? खाने र बस्ने प्रबन्ध म मिलाउँछु।'

– अब केही नपाएर त्यही भिडियो खिच्ने काम बाँकी छ।

'हामी दिदीबहिनी नेपाली परिवारसँग केही दिन बिताउन चाहन्छौँ। कोही इच्छुक हुनुहुन्छ?'

– किन आउनु नि दिदीबहिनी? एक्लै आउनु नि।

यी ‰याउलाग्दा निवेदनका बीचमा मैले लाप्पिनरेन्टी केटीलाई देखेको थिएँ। चकचके र जिद्दी...।

जीवनमा केही शब्द र अक्षरहरूले कति ठूलो अर्थ राख्छन्। केही शब्दहरूले जीवनलाई अर्कै दिशातिर मोडिदिन्छन्। प्रेम वा घृणा, मित्रता वा दुस्मनी, चरम आनन्द वा यातना (ती केही शब्दका बीचमा कसरी लुकेको हुन्छ? लइलाले मलाई सिकाई। लाग्छ, मेरो प्रेम, आशक्ति वा स्वार्थ ऊमाथि परीक्षण भइरहेको थियो।

निकै उत्साहले म विमानस्थलतिर लागेँ। मनभरि लइला हिर्विसारी नाचिरहेकी थिई। मानौँ, ऊ वर्षौंको बिछोडपछि भेट्न आएकी प्रेमिका हो। अन्तर्राष्ट्रिय कक्षतिर मोडिएँ। लइला आउँदै गरेको मलेसियन एयरलाई फ्लाइट राडरमा हेर्दै थिएँ। दर्जनौँ जहाज आकाशमा चंगाजस्तै उडिरहेका थिए। कुन जहाज कहाँ आइपुग्यो, ठ्याक्कै थाहा लाग्छ। मैले पछ्याउनुपर्ने जहाज मलेसियन एयर बस ए १२९ थियो। २४ हजार ८ सय फिट अल्टिट्युडमा उडिरहेको जहाजको ग्राउन्ड स्पिड ३९६ देखि ४२० सम्म तल–माथि गरिरहेको थियो। जसरी मेरो मुटुको चाल रोमाञ्चक भएर बढिरहेको थियो। अब एकैछिनमा जहाज वीरगन्जको अकासे नाकाबाट नेपाल प्रवेश गरेर चितवनको राष्ट्रिय निकुञ्जमाथिबाट आइपुग्नेछ। जहाज एकअर्कालाई उछिन्दै छन्। अचानक मोबाइल स्त्रि्कनबाट जहाज हरायो। त्यसमा पनि मलेसियन एयरको पर्‍यो। आत्तिएर रिफ्रेस अब्सन दबाएँ। लोड हुँदै थियो। ब्यागमा बोकेको लइला लेखिएको प्लेकार्डलाई ढाडले महसुस गरिरहेको थियो। त्यहीबेला कुनै अपरिचित नम्बरबाट फोन आयो। फोन काटेँ र फ्लाइट राडरमा मलेसियन जहाज देखिएला कि भनेर प्रतीक्षा गरिरहेँ। फेरि फोन आयो, काटेँ। अझै स्त्रि्कनमा जहाज देखिएन। चिन्ता बढ्दै थियो।

म्यासेज आयो– 'प्रिय राज, म हाइडे, फोन उठाऊ। जरुरी छ।'

फेरि त्यही नम्बरबाट फोन आयो। अब फ्लाइट राडर हेर्नुको कुनै अर्थ थिएन। म्यासेजले मनको राडरमा अर्कै प्लेन उडाइरहेको थियो। लइला हिर्विसारी अचानक हराई। झोलाको प्लेकार्ड भारी हुन थाल्यो।

'हेल्लो राज म हाइडे।'

आइरिस एक्सेन्टको त्यही स्वादिलो स्वर थियो अर्ध परिचित, जसले मेरो जीवनमा अनुभवको नयाँ रङ भरिदिएको थियो। ठ्याक्कै ३५ दिनपछि दोस्रोपटक उसको स्वर सुन्दै थिएँ। कुरा हाइडेसँग गरिरहेको थिएँ तर लइला मेरो मगजमा कुस्ती खेलिरहेकी थिई।

०००

३५ दिनअघि अप्रिलको त्यो प्रिय दिन म यंगुनबाट काठमाडौं उड्न लागेको थिएँ। हिमालयन एयरको यंगुन काठमाडौं उडानले धेरै सजिलो बनाएको थियो। भारत, बंगलादेश वा थाइल्यान्डमा लामो ट्रान्जिट झेल्दै यात्रा गर्नुपर्ने समस्या रहेन, जब हिमालयन एयर उड्न थाल्यो। तर यात्रु संख्या हेर्दा उडान कम्पनीले कति थेग्न सक्ला भन्ने डर पनि सँगै थियो। करिब दुईमहिने यात्रापछि म काठमाडौं फर्कंदै थिएँ। यंगुन एयरपोर्टको ३ नम्बर गेटबाट छिर्दै गर्दा केही मानिस नेपालीमा बोल्दै थिए। नेपालीभाषी बर्मेलीहरू नेपाल जाँदै छन् या नेपालीहरू बर्मा घुमेर फर्कंदै छन्, ठम्याउन सकिनँ। थोरै मुस्काएर बोल्ने संकेत गरेँ। उताबाट कुनै संकेत नआएपछि अप्ठेरो महसुस भयो। अघि बढेँ। ड्युटी फ्रीमा केही पुस्तक किनेँ। साथीका लागि उपहार भनेर मान्डले रम किने।

ड्युटी फ्री मार्केटमा घुम्दै गर्दा मैले एउटा साहसिक काम गरेँ। लक्ष्मीले सधैँ भन्ने गर्थी, 'तिम्रा अन्डरवेयर सधैँ मै किनिदिन्छु। आजसम्म तिमीले कहिल्यै मेरो लागि किनिदिएनौँ।' धेरैपटक मैले ट्रान्जिटमा लक्ष्मीका लागि लन्जरी किन्ने साहस गरेको हुँ। तर जब त्यस क्षेत्रमा छिर्थें, सबैले मलाई नै हेरेजस्तो लाग्थ्यो। यस्तो सामान किन्न उत्पातको लाज लागेर आउँछ मलाई। कसरी लक्ष्मीका लागि लन्जरी किन्ने होला। हरेक यात्रामा निस्कने बेला अब यसपटक उसलाई सप्राइज गर्छु भन्ने ठानेँ, तर कहिल्यै सकिनँ। झन् ती सुन्दर लन्जरीमा सजिएका मेनिक्विनहरूले मलाई नै गिज्याएजस्तो लाग्छ। त्यसैले लाजले अर्कातिर मोडिइहाल्दो रहेछु।

केही महिनाअघि पनि मेरो कोसिस यसरी नै विफल भएको थियो। भाइबर खोलेर पुरानो म्यासेज स्क्रोल गरिहेरेँ। लक्ष्मीको साइज भेटेँ– ३२, ३२। अलिक मोटी छे लक्ष्मी। तर बिछट्टकी राम्री। हामी लिभिङ टुगेदर रिलेसनसिपमा थियौँ। अब सानोतिनो बिहे गरेर परिवारलाई आश्वस्त बनाउने योजना थियो। म बर्मा आएकाले दुई महिना भएको थियो, नभेटेको। यो मनको स्वभाव कस्तो, एकैछिनमा लक्ष्मीकहाँ पुगिसक्यो। फेरि फर्काएर ल्याएँ। १३ हजार च्याट तिरेँ। रातो र नीलो रङको तुलिफको फूलबुट्टे लन्जरी झोलामा हालेँ र मनको काउकुतीलाई ब्यागको चेनले बन्द गर्दै प्रतीक्षा कक्षतिर हानिएँ।

यता पनि नेपाली नै रहेछन्, यतै गाउँका चियापसलमा झैँ राजनीतिक गफ हाँकिरहेका। कक्षको अर्को कुनामा एउटा रोचक कुरा पनि चलिरहेको थियो। एक पुरुष उनका वरिपरि उभिएका केही थान मानिसलाई आफ्नो पुर्खा नै बर्मामा पुग्ने पहिलो नेपाली भएको इतिहास बताउँदै थिए। कथा के रहेछ भने, उनका जिजुबुबालाई सपनामा आकाशवाणी भएछ। 'बालक अबको तिम्रो गन्तव्य बौद्ध धर्मको बाहुल्य भएको देश बर्मातिर हुनुपर्छ, हिन्दुत्व फैलाउन। उता पनि तिम्रो पण्डित्याइँ फैलाएर मेरो सेवा गर। यो पहाडमा कति नंग्रा खियाउँछौ। जाऊ समथल र उर्वर बर्मालाई तिम्रो शौचले अझै मलिलो बनाऊ। विलम्ब नगर,' साक्षात ईश्वरको आकाशवाणी भएपछि ब्राह्मण देवपुत्र आफ्ना दुई थान श्रीमती र तिनबाट प्राप्त पौने दर्जन सन्तानलाई छाडेर त्यसैरात झिसमिसेमै कछाडमै बर्मातिर हानिएछन्। अघि नै दैलो लिप्न थालेकी कान्छीलाई शौच गर्न हिँडेको भनेर लोटासहित निस्किएका देवपुत्रका खल्तिमा केही हजार नेपाली नोट रहेछन्। ती बुज्रुकका अनुसार देवपुत्र ब्राह्मणले बर्मामै विवाह गरेर परिवार बसाए रे। बर्मामा पुग्ने पहिलो नेपाली भनेर कथाका पात्र बनेका उनले कोसँग विवाह गरेछन् त भनेर कसैले प्रश्न गरेनन्। सबै मख्ख परेर सुनिरहेका थिए। म त्यता पनि मिसिइनँ। अलिक पर कुर्सीहरू लहरै खाली थिए। एउटा कुर्सीमा कोही गोरो छाला भएकी केटी बसेकी रहिछन्। बोल्ने मन थियो तर सहज लागेन। बोलिनँ। अब अर्को कुर्सी पनि खाली रहेन। म बसेँ नि त।

नेपाली जहाजमा विदेश यात्रा गर्दाको गौरव त्यहाँ नेपाली भाषामा स्वागत सुन्न पाइन्छ। त्यस्तै भयो। जहाज सुन्दरीले सबै यात्रुहलाई जहाजभित्र निम्तो गरिन्। पहिले नेपाली र त्यसपछि अंग्रेजी भाषामा।

नमस्कार यात्रुहरू।

विश्वकै स्वतन्त्र मानिएको आफ्नै अहंको बन्दी मुलुक नेपालको राजधानी धुलाम्मे काठमाडौंका लागि हावामा तैरिने जहाज हिमालयन एयरलाई तपाईं आफ्नो प्राइभेट रुम ठान्नुस् वा गेस्ट हाउस्। आउनुस् स्वागत छ।

द्वारमा तैनाथ स्वयंसेविकाले एक पेग मुस्कान दिइन्। उत्पात गर्मी भएकाले त पक्कै हैन। हिमालयन एयरको सयरलाई नयाँ स्वाद दिन जहाजमा पस्नुअघि सुन्दरीले सबै यात्रुलाई जुत्ता, मोजा खोल्न लगाइन् र बरफको ढिस्कोमा टेकाउँदै जहाजभित्र स्वागत गरिन्। जहाज कक्ष बडो साधारण थियो, मानौँ भर्खरै बनेको घरको नन्फर्निस् नयाँ कोठा हो, जहाँ धन्न बस्नका लागि सिट राखिएको छ। यो जहाजको विशेषता के भने कपाल काट्न सैलुन र शौचालयमा निःशुल्क कण्डम उपलब्ध थियो। यात्रुहरू खासै थिएनन् तर ठेलमठेल ज्यादा थियो। जहाजमा तीन–तीन सिटको बीचमा हिँड्ने बाटो थियो। एयर होस्टेसहरू सेवामा व्यस्त थिए। तीन सिटमध्ये ‰यालतिरका सिटमा दुई नेपालीभाषी थिए। म छेउको सिटमा परेँ।

सँगै सिट भएका ती दुवै मनुवा टिकट नम्बर हेर्दै खटपट गरिरहेका थिए। पुरुष चाहिँले मलाई भने, 'हामी तीनजना थियौँ, आमा उता पर्नुभएछ। सिट साट्न मिल्छ?'

'मलाई किन आपत्ति हुनु?' ओल्लाघरको नरे पल्लाघरमा सरे। बसिसकेर आफ्नो दायाँतिर फर्कंदा त म जिल परेँ। तिनै गोरी सुन्दरी छेउमा थिइन्। कहिलेकाहीँ आख्यानमा जस्तै संयोग जीवनमा पनि यसरी नै जुर्ने रहेछ, र त जीवनका संयोगलाई आख्यानमा उतार्ने हुन् स्रष्टाहरूले।

'हेल्लो।'

'हाई।'

'तिमी केका लागि नेपाल जाँदै हो?' (नेपाल जाँदै छौ भनेर सोध्नुको तुक थिएन। किनभने, जहाजको गन्तव्य नेपाल नै थियो।)

'स्वयंसेवाका लागि। काठमान्डुबाट गोर्खा जान्छु।'

'कुनै संस्थाबाट हो?'

'कुनै संस्था हैन, आफैँ।'

'पहिलोपटक हो तिमी नेपाल आएको?'

'हो।'

'अनि बर्मामा के गर्थ्यौ?'

'स्वयंसेवा नै।'

उडानको समय भयो। आफ्नो सुरक्षाको फित्ता बाँध्नुहोला। नबाँध्ने भए आफ्नो ज्यानको सुरक्षा आफैँ गर्नुहोला। कुनै दुर्घटना भए त्यसको जिम्मेवार जहाज कम्पनी हुने छैन। जहाज रनवेमा रनन्न भयो। र, थर्थराउँदै जहाजले भुइँ छोड्यो। हामीबीच मौनता थियो। त्यसो त बीचमा एउटा सिट पनि खाली थियो। म बांगा आँखाले उसलाई हेर्दै थिएँ, ऊ ‰यालबाट बाहिर हेर्दै थिई।

'कुन देश हो तिम्रो?'

'देश?' उल्टै प्रश्न पहिला गरी र भनी, 'देशमा म कुनै विश्वास गर्दिनँ। म विश्व नागरिक ठान्छु आफूलाई।'

व्यंग्य वाणीमा मैले भनेँ, 'कस्तो महान् विचार, तर पासपोर्ट त चाहिएला नि कुनै देशको।'

उसले जिस्किँदै भनी, 'मेरो पार्सपोर्ट जर्मनीको छ।'

'सायद तिमी कुनै नाममा पनि विश्वास गर्दिनौ तर पार्सपोर्टमा के लेखिएको छ?'

'खित्का छोडेर हाँसी र भनी, 'तिमी रहेछौ ठट्टा गर्न सिपालु। मेरो नाम हो, हाइडे डेमिनाटुस।'

'तिम्रो?' हात अगाडि बढाउँदै भनी।

'राज घिमिरे,' उसको हात प्रेमले समाएँ।

'कति वर्षकी भयौ?'

'२३।'

'कति पढेकी छ्यौ?'

'स्कुल सकेपछि म कलेज गइनँ।'

'किन?'

'मलाई यो संसार नै ठूलो विश्वविद्यालय जस्तो लाग्छ, त्यसैले घर छोडेर यात्रामा हिँडेकी हुँ।'

'गज्जबको कुरा गर्‍यौ। यसरी नै हिँड्न पाए त म पनि हिँड्थेँ होला। हाम्रा त हजारौँ बाध्यता छन्।'

तिम्रो बाध्यता के हो मलाई थाहा छैन, तर के गर्ने भन्ने तिम्रो रुचिको कुरा हो भन्ने मलाई लाग्छ। म ६ महिना काम गर्छु। ६ महिना यात्रामा निस्कन्छु।'

'तिमीमा यस्तो स्वयंसेवाको विचार कहाँबाट आयो?'

'थाहा छैन। स्कुल पढ्दै गर्दा एउटा मेडिटेसन सेन्टरमा गएकी थिएँ। त्यसले आकर्षित गर्‍यो। एकजना एसएन गोएन्का नामका गुरु थिए। उनको नाममा संसारभरि धेरै मेडिटेसन सेन्टर छन्। त्यसैले मलाई तान्यो। मैले घर छोडेको चार महिना भयो। कम्बोडिया, लाओस् हुँदै बर्मा आएँ। अब नेपालमा ४५ दिन बस्छु र घर फर्कन्छु।'

भारतीय बर्मेली गुरु सत्यनारायण गोयन्काबारे उसले मलाई राम्रैसँग पढाई। उसको विचार र फिरन्ते जिन्दगीले मलाई आकर्षित गर्दै थियो।' नेपालमा पनि विपश्यनाका केन्द्र छन्। तर मलाई त कहिल्यै आँट आएन। मसँग त्यत्रो धैर्यता नै छैन, दशौँ दिन मौन व्रत बसौँ।'

जहाज सुन्दरीहरू यात्रुको सेवामा निस्कँदै थिए। यतिखेर मेरा कान हाइडेतिर र आँखा अर्कैतिर थिए।

'म अनुमान लाउन सक्छु तिम्रा अधैर्यताको। तिमीजस्तो जवानलाई तिनका सपनाहरू, इच्छाहरू र यौवनले निकै अधैर्य बनाउँछन्,' बीचको खालि सिटमा सर्दै उसले भनी, 'ओ अधैर्य मान्छे, तिम्रा आँखालाई सम्हाल।'

म जहाज सुन्दरीका शरीर नियालिरहेको रहेछु। एउटा आमपुरुष जसका कुण्ठा र व्यभिचार जति लुकाउन खोजे पनि पोख्खिइहाल्ने रहेछ। हाइडेले पनि मेरो आमस्वभाव थाहा पाई। अफ्ठेरो लाग्यो। भनी, 'एउटी जवान केटी तिम्रो छेउमा हुँदाहुँदै किन तिमी आँखाहरू अन्त डुलाउँछौ?आफू वरिपरिका सुन्दर कुरालाई चिन्ने गर मान्छे।' उसको कुमले मेरो कुमलाई छोयो। यो स्पर्श विशेष थियो।

जहाज सुन्दरीहरू हाम्रो सेवामा पनि हाजिर भए, विशेष प्रकारको पेय पदार्थ लिएर। प्लेटमाथि रहेछ सेलरोटी, बोहोतामा खीर र अर्को बोहोतामा केही फलफूल। छेउमा रहेछ तोङ्बा। जहाजले आफ्नै पाराको छरितो तोङ्बाको भाँडो बनाएको रहेछ र अरु विदेशी रक्सीको साटो यसले तोङ्बा पो दिँदो रहेछ। हाइडेले पनि तोङ्बा तानी। हामीलाई झुम्म लाग्यो। म उसको शरीर र हाउभाउ सँगै उत्ताउलो बन्दै थिएँ। २ घन्टा ३५ मिनेटको उडानमा उसले र मैले केही सीमा पार गर्न अब करिब डेढ घन्टा बाँकी थियो।

'किन मेडिटेसन र स्वयंसेवा गर्ने इच्छा जाग्यो तिमीलाई केटी?'

'कसरी मेडिटेसनमा लागेँ ठ्याक्कै मलाई थाहा छैन। तर मेरा ठाउँका मानिसले मानवताको ऋण युगौँसम्म तिरिरहनुपर्ने बाध्यता छ। अघि तिमी देशको कुरा गर्दै थियौ नि। मेरी आमा आयरल्यान्डकी हुन्, बुबा रसियन। रसियन क्रान्तिका बेला मेरा बुबा भागेर उता गएछन् ।...म कुरा बु‰ने भएपछि मेरी आमाले दोस्रो विश्वयुद्धको कहालीलाग्दो कथा सुनाउने गर्थिन्। मेरी आमाका बाआमा युद्धमा परेर मरे। तर आइरिसलाई ठूलो आरोप लाग्यो। हिटलरका सेनाले जतिखेर यहुदीलाई मार्दै थिए, आइरिसहरू हिटलरको समर्थनमा जुलुस निकालिरहेका थिए रे। युरोपमा यस्तै इतिहास पढाइन्छ। आफ्नो माटोको प्रेमले मेरी आमाले आइरिस मूलको नाम हाइडे राखिदिइन्। म त्यसैको ऋण तिर्न सेवाका लागि यात्रा गरिरहेको छु।'

'यो उमेरमा कस्तो गहिरो सोच तिम्रो! तर, तिमीले भनेजस्तै मैले पनि नामको ऋण तिर्ने हो भने त संसारमा राजाहरूले गरेको सबै अपराध मेरो थाप्लोमा आउँछ।'

उसले जिस्केर मेरो ज्यानमा हातले धक्का दिँदै भनी, 'तिमी कलाकार रहेछौ। त्यो पनि सेवा नै हो नि। मेरी आमा पनि कलाकार हुन्। उनी हस्पिटल क्लाउन हुन्। बिरामीलाई क्लाउन अभिनयबाट थेरापीको काम गर्छिन्।'

कस्तो संयोग मेरा जर्मनी कलाकार साथीहरू केही महिनाअघि नेपाल आएका थिए। हामीले क्लाउन सो लिएर एक महिना नेपालका तीन जिल्ला यात्रा गर्‍यौं। मैले मेरो क्लाउनको फोटो हाइडेलाई देखाएँ। उसले पनि आफ्नी आमाको क्लाउन तस्बिर देखाई। हामी अझै नजिक भयौँ। म पनि उसलाई छोएर चल्न थालिसकेको थिएँ। 

'बर्मामा तिमीले के गर्‍यौ? उसका औँलामा औँला छिराउँदै भनेँ।'

'यंगुनमा थबार्वा मेडिटेसन सेन्टर छ। यहाँ वृद्ध र रोगीहरू आफ्नो जीवन बिसाउन आउँछन्। सेवा गर्न चाहने जोकोहीलाई खान र बस्न निःशुल्क व्यवस्था छ। मृत्यु प्रतीक्षा गरिरहेका ती महान् आत्माको सेवा गर्ने मेरो पनि ठूलो इच्छा थियो। ६ हप्ता बसेँ सेन्टरमा। फेरि फर्केर जाने इच्छा छ।'

'मृत्यु कुर्नेहरूलाई महान् आत्मा भन्यौ। मलाई त मृत्युदेखि खुब डर लाग्छ। म तुच्छ आत्मामा गनिएँ सायद।'

'नडराउ बालक, म तिम्रो डरलाई दूर गरिदिन्छु,' मेरा औँलाहरूमा चुम्दै उसले भनी, 'सांसारिक जीवन भोग्न लिप्तप्रति पनि मेरो पूर्ण सम्मान छ।' मेरो शरीरमा काँडा उम्रे। एकपटक लक्ष्मीलाई सम्भि्कएँ।

'यो त मस्ती गर्ने उमेर हैन तिम्रो? तिम्रो उमेरसम्म १० साथी फेरिसकेका हुन्छन्, तिम्रा देशका युवाले। तिमी मेडिटेसन र सेवा भन्दै कुदिरहेकी छ्यौ। हैन तिमी यो उमेरको आशक्तिलाई कसरी नियन्त्रण गर्छ्यौ?' उसको उमेरलाई मैले व्यंग्य गरेजस्तो भयो कि क्या हो, आफ्ना दुवै हत्केलाले मेरो दुईतिरका गाला समाउँदै ओठमा चुम्बन गरिरही। लाग्दै थियो, उसले मेरो प्रश्नको उत्तर दिँदै छ सशरीर। म लक्ष्मीलाई सम्भि्करहेको थिएँ। केही डर थियो तर हाइडेलाई नाइँ भनिरहेको थिइनँ। त्यहाँ शब्द बाँकी थिएनन्। जसरी धेरै सिटमा मानिस थिएनन्। म एक मनले सोचिरहेको थिएँ। मेरो दुई महिना लामो एक्लोपनको फाइदा उठाई हाइडेले। तर गल्ती मेरै थियो। मैले उसलाई कति सजिलै स्पेस दिएँ। हामी एकअर्कामा सम्मोहित भइसकेका थियौँ। हाइडे सिटबाट उठी र मलाई पनि उठ्न इसारा गर्दै अघि बढी। म उसलाई सम्मोहित भएर पछ्याउन थालेँ। मानौँ म भोको पशु हुँ र ऊ मलाई हरियो घाँस देखाइरहेकी छे। म भ्रष्टाचारी हुँ र ऊ पैसाको थैली देखाउँदै छे। म चंगा हुँ र उसको हातमा डोरी छ। वा म फलाम हुँ, ऊ चुम्बक। एउटा संवेग र आवेगको यात्रामा थियौँ हामी। जसले हामीलाई ट्वाइलेटभित्र कैद गरिदियो। ढोका खोलेर उसले जब मलाई पनि तानी म डराएँ।

'मान्छेले देखे भने के भन्छन्?'

'चिन्ता त्यतिको मात्रै हो कि अरु पनि छ?' उसले सोधी।

म बोलिनँ। त्यसपछि ढोकामा रातो बटन थिचियो। दुवै अनाचक हतारमा थियौँ, मानौँ जहाजभित्र अर्को जहाज छुट्दै छ। बिस्तारै जहाज बादलभित्र छिर्‍यो र हल्लिन थाल्यो। हामीबीच शरीर संवाद सुरु भयो। विचित्रका ध्वनि उत्पन्न भए। केही मिनेटमै ढोकाको हरियो बटन थिचियो। ढोकामा केही मानिस ट्वाइलेटको क्यु पर्खेर बसेका रहेछन्। एउटै ट्वाइलेटबाट दुईजना निस्किएको देखेर उनीहरू ट्वाँ परे। जहाज सुन्दरीहरू परैबाट मुस्काइरहेका थिए, मानौँ हरेक उडानभित्र अर्को उडान हुने गर्छ। मलाई उत्पातको लाज र डर लाग्यो। हतारमा आएर आफ्नो सिटमा बसेँ। श्वासमा आरोहअवरोह घटेको छैन।

'हामीलाई सजाय भयो भने?'

'तिमीलाई थाहा छ नि, हरेक जहाजमा उड्नुपूर्व चुरोट नपिउनू, प्राविधिक सामान नचलाउनू भनेर सूचना दिइन्छ। तर सेक्स नगर्नुस् भनिँदैन। नत्र जहाज उड्नुअघि नै तिम्रा जहाज सुन्दरीले सूचना दिने थिए।'

उड्दाउड्दैको जहाजमा गरिएको यो जीवनकै पहिलो अनुभवले कतै गौरवको अनुभूति त थियो। केही हीनताबोध पनि। त्यति सानो ठाउँमा कसरी सबै कुरा सम्भव भयो? आफैँ आश्चर्यमा पर्दै भनेँ, 'त्यसो भए तिमीमा यस्तो अनुभव पहिला पनि थियो?'

'फिल्ममा हेरेकी थिएँ। मेरा साथीहरूले आफ्नो अनुभव सुनाएका थिए। तर मेरो पनि पहिलो अनुभव हो। यसका लागि तिमीलाई धन्यवाद।' उसको अनुहारमा एक किसिमको चमक र खुसी थियो। तर मेरो विचारभरि लक्ष्मी घुमिरहेकी थिई। दरलाई जितेर हाइडेसँग म खेलिरहेको थिएँ। 

'तिमी काठमाडौंमा कहाँ बस्छ्यौ?' काउच सर्फिङको बारेमा उसैले पहिलोपटक मलाई बताएकी थिई। यो एउटा यस्तो सामाजिक सञ्जाल हो, जहाँ पाहुना बन्न चाहने र पाहुनालाई स्वागत गर्न चाहनेको भेट हुन्छ। मन मिल्नेहरू यस सञ्जालबाट भेटघाट गर्ने गर्छन्। भक्तपुरकी पवित्रा नामकी केटीको घरमा ऊ पाहुना बन्न जाँदै छे। सर्त के भयो भने एक हप्ता पाहुनाको घरमा बसिसकेपछि गोर्खा जानुअघि ऊ मकहाँ बस्न आउनेछे। अहिलेसम्म मैले लक्ष्मीबारे भन्न सकेको थिइनँ। उससँग पनि मैले उसको केटा साथीबारे सोधिनँ।

जहाज काठमाडौंमा अवतरण भयो। जहाजबाट ओर्लिनुअघि मैले हाइडेलाई चुम्बन गरेँ। ओर्लिएर बसमा बसुन्जेल हामी निकै नजिक थियौँ। मानौँ हामी वषौँदेखिका साथी हौँ। तर बाहिर निस्कनेबित्तिकै म ऊबाट टाढा भएँ। लक्ष्मी मलाई कतै कुरिरहेकी थिइन्। लक्ष्मीबारे हाइडेलाई पछि कुरा मिलाएर भन्ने विचार थियो।

हामी छुट्यौँ। हाइडे पवित्रासँग गई। लक्ष्मी र म ट्याक्सीमा शंखमूल लाग्यौँ। दुई महिनापछि भेटेकाले लक्ष्मी निकै उत्साहित थिइन्। उनले बिहेको तयारीबारे पनि कोठा पुग्नु अघिसम्म ट्याक्सीमै सबै बताइन्। कोठामा पुग्नेबित्तिकै हामी प्रणयमा लीन भयौँ। थकानमाथि थकान थपियो। हाइडे सम्झनामा आइरही।

०००

बर्माबाट फर्किएको पाँचौँ दिन। हामी बिहेको तयारीमा जुटेका थियौँ। हाइडेको एउटा इमेलले सारा जीवनलाई भताभुंग पारिदियो। फोन, इमेल जस्ता कुरामा लक्ष्मी र म खुला थियौँ। हाइडेले मलाई पठाएको इमेल लक्ष्मीले पढिछन्। इमेल त बहाना मात्रै थियो। असर त्यो जहाजभित्रको लीलाको थियो। 

'प्रिय राज,

तिमीसँगको दुई घन्टा ३५ मिनेटको उडान जीवनकै एउटा नौलो रोमाञ्चकता थियो। तिम्रो शरीरको सुगन्ध अझै महसुस गरिरहेकी छु। तिमीसँगको शारीरिक निकटता मेरो नौलो मेडिटेसन थियो। एक हप्तापछि तिमीलाई भेट्छु भन्ने थियो। तर मैले एकमहिने विपश्यना मेडिटेसनमा जाने निर्णय गरेँ, जुन भोलिपल्टबाट सुरु हुने रहेछ। आज म बूढानीलकण्ठ मेडिटेसन क्याम्पतिर लाग्दै छु। जानुअघि तिमीलाई यो इमेल लेख्दै छु।'

तिम्रो डर भगाउने हाइडे।

लक्ष्मीले पहिला हाइडेलाई बेसकन सरापेर तथानाम गाली गरिछन्। त्यसपछि हाम्रो सम्बन्ध तथा बिहेको योजनाबारे पनि लेखिछन्। लक्ष्मीले ममाथिको विश्वास र मेरो गल्तीले आफूलाई परेको पीडाबारे लामो गुनासो पोखिन्। उनी रोइनन् बरु आक्रोशमा आएर कम्युटर फुटाइन्। मसँग कुनै जवाफ थिएन। हाम्रो सम्बन्ध पनि फुट्यो। मैले हाइडेलाई सम्पर्क गर्ने ठाउँ थिएन। केही दिन उसलाई काउच सर्फिङमा खोजेँ तर भेटिनँ। बरु लइला भेट्टिई। जसरी ख्यालख्यालमा हाइडेसँग सम्बन्ध भएको थियो। विपश्यनाबाट फर्किएपछि हाइडेले लक्ष्मीको इमेल पढिछ। एक महिनामा म त निकै सम्हालिइसकेको थिएँ। तर, उसका लागि घटना भर्खरै घटेजस्तो भएको थियो। ऊ फोनमा मसँग माफी मागिरहेकी थिई। रुँदै भन्दै थिई, 'म सेवा गर्न यात्रामा निस्किएकी थिएँ तर यो अपराध गर्न पुगेँ। एउटा प्रेमिल जोडीको सम्बन्ध भत्काइदिएँ। म लक्ष्मीसँग भेटेर माफी माग्न चाहन्छु।' हाइडेको रुवाई र निवेदनले ममा नयाँ विचार आयो। हाइडेलाई लक्ष्मीबारे जहाजमै नभनेकामा मलाई हीनताबोध भइरहेको थियो। मैले उसको फोन काटेर मोबाइल अफ गरेँ। मलाई न हाइडेलाई भेट्ने मन भयो, न त लइलालाई कुर्ने धैर्यता। म हतार–हतार लक्ष्मीले काम गर्ने अफिसतिर हुत्तिएँ।

प्रकाशित: २१ श्रावण २०७४ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App