coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफ महिला क्रिकेटको फाइनलमा

काठमाडौं- लगातार दोस्रो जित हात पार्दै एपिएफ क्लब राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिविमैदानमा एपिएफले मध्यपश्चिमलाई ९ विकेटले हराएको थियो।

पहिलो दिन एपिएफले मध्यमाञ्चलमाथि ६ विकेटले जित पाएको थियो। समूह 'ए' को एपिएफले दुई खेल जित्दै ४ अंक जोडेर फाइनलमा स्थान बनाएको हो। समूहका अन्य दुईटोली मध्यमाञ्चल र मध्यपश्चिम अंकविहीन छन्।

समूहको अन्तिम खेलमा मध्यपश्चिम र मध्यमाञ्चलले सोमबार प्रतिस्पर्धा गर्नेछन्। आइतबार टस हारेर ब्याटिङ गरेको मध्यपश्चिमले २० ओभरमा ८ विकेट गुमाई ६४ रन जोडेको थियो। मध्यपश्चिमबाट लक्ष्मी चौधरीले २२ र कप्तान नेरी थापामगरले ११ रन बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन्।

ओपनर लक्ष्मीले ४४ बलमा १ चौका प्रहार गरिन्। लक्ष्मीलाई बायाँहाते बलर सीता रानामगरले बोल्ड गरेपछि मध्यपश्चिमको स्कोर बढ्न सकेन।  पाँचौं विकेटका रूपमा लक्ष्मी आउट हुँदा मध्यपश्चिमले ५८ रन जोडेको थियो। राष्ट्रिय टोलीकी पूर्व कप्तान नेरी एपिएफकी करुणा भण्डारीको बलमा आउट भइन्।

खेलमा सर्वाधिक विकेट लिएकी रितु कनौजियाले मध्यपश्चिमकी ओपनर गीता गोसार्इंलाई ७ रन जोडेको बेला बोल्ड गरिन्। पहिलो विकेटका रूपमा गीता आउट हुँदा मध्यपश्चिमको स्कोर ८ रन मात्र थियो। एपिएफकी रितुले ३ विकेट, प्लेयर अफ दी म्याच सीता राना र करुणा भण्डारीले समान २ विकेट लिए। रितुले ४ ओभरमा १२ रन खर्चिन्। सीताले ३ ओभरमा ९ रन र करुणाले ४ ओभरमा १० रन खर्चेका थिए।

जवाफमा एपिएफले ११.२ ओभरमा १ विकेटको नोक्सानीमा विजय लक्ष्य पाएको थियो। ज्योतिले २३ र सीताले २७ रन जोडेपछि एपिएफले सहज जित पाएको थियो। आफ्नो पूर्व क्लब मध्यपश्चिमविरुद्ध सीताले २६ बलमा ५ चौका प्रहार गरिन्। सीतालाई ७.४ ओभरमा मध्यपश्चिमकी तृष्णा सिंहले रनआउट गराइन्।

यसैगरी ज्योतिले २९ बलमा २ चौका प्रहार गरिन्। एपिएफकी सरिता मगरले अविजित ४ रन बनाइन्।

मध्यपश्चिमकी गीता गोसाईंले एपिएफविरुद्ध प्रभावशाली बलिङ गर्ने प्रयास गरिन्। उनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन्। मध्यपश्चिमकीसन्जु चौधरी, अनिता चौधरी, नेरी र सामना पुनमगरले १–१ विकेट लिए।

अर्को खेलमा आइतबार सुदूरपश्चिमले पश्चिमाञ्चललाई ८ विकेटले हराएको छ। समूह 'बी' अन्तर्गत लगातार दोस्रो खेलमा पराजित भएपछि पश्चिमाञ्चलको फाइनल पुग्ने सम्भावना सकिएको छ।

सुरुआती ब्याटिङ गरेको पश्चिमाञ्चलले २० ओभर पूरा खेल्दै ३ विकेट गुमाई ९१ रन जोडेको थियो। कप्तान इन्दु वर्माले उत्कृष्ट ब्याटिङ गर्दैपश्चिमाञ्चलको स्कोर माथि उकास्ने प्रयास गरिन्। जारी प्रतियोगितामा सर्वाधिक व्यक्तिगत रन बनाउने क्रममा इन्दुले ४३ रन जोडिन्। राष्ट्रिय टोलीकी सदस्य इन्दुलाई सुदुरपश्चिमकी कविता जैसीले कविता कँुवरबाट क्याचआउट गराइन्। १७.५ ओभरमा दोस्रो विकेटका रुपमा इन्दु आउट हुँदा पश्चिमाञ्चलले ८३ रन बनाएको थियो।

पश्चिमाञ्चलको तर्फबाट ओपनर वर्षा रानाले पनि ब्याटिङमा आफ्नो प्रभाव देखाउने प्रयास गरिन्। वर्षाले अविजित रहँदै ३३ रन जोडिन्। ५७ बल खेलेकीबर्षाले १ चौका प्रहार गरिन्। सुदूरपश्चिमकी कविताले १ विकेट लिइन्।

रोशनी बोहरा, कविता र कप्तान रेखा रावलले उत्कृष्ट ब्याटिङ गरेपछि सुदूरपश्चिमले पहिलो खेलमै जित हासिल गर्दै फाइनल पुग्ने सम्भावनाबलियो बनायो। ओपनर माया रावत १ रनमै इन्दुको बलमा आउट भएपछि सुदूरपश्चिमको सुरुआत सुखद हुन सकेन। तेस्रो ओभरमा माया आउट हुँदा सुदूरपश्चिमले १२ रनमात्र बनाएको थियो। मायालाई इन्दुले आस्ना थापाबाट क्याचआउट गराइन्। तर रेखाले २२ रन बनाएपछि सुदूरपश्चिमले खेलमा प्रभाव राख्न सफल भयो।  सरस्वती पुनको बलमा बोल्ड हुनुअघि रेखाले ३१ बलमा २ चौका हानिन्।

रेखा आउट भएपनि अविजित रोशनी र कविताले आत्मविश्वाससाथ ब्याटिङ गर्दै सुदूरपश्चिमलाई जितसम्म पुर्‍याए। रोशनीले ३६ र कविताले २५ रन बनाए। प्लेयर अफ दी म्याच रोशनीले ४९ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। रोशनीले प्रहार गरेको छक्का प्रतियोगिताको पहिलो छक्का थियो। कविताले २५ बलमा ३ चौका प्रहार गरिन्।

पश्चिमाञ्चलकी इन्दुले १ विकेटबाहेक अन्यले विकेट लिन असफल भए।

जितसँगै समू 'बी' मा पूर्वाञ्चल र सुदूरपश्चिमले समान २ अंक जोडेका छन्। अब पूर्वाञ्चल र सुदूरपश्चिमबीच सोमबार हुने खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

कीर्तिपुरमा जारी प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद(राखेप) ले आइसिसी महिला विश्वकप छनोटका रूपमा आयोजना गरेको हो। प्रतियोगितामा राखेपले २४ खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राख्ने जनाएको छ।

प्रकाशित: १० श्रावण २०७३ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App