coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुर्न छाडियो खाल्डा, पुरिएका पनि टिकेनन्

काठमाडौं- प्रधानमन्त्रीले निर्देशन दिएको १५ दिनको समयसीमा सकिएको भन्दै खाल्डा पुर्ने जिम्मा पाएका निकायले काम गर्न छाडेको पाइएको छ। जिम्मेवार निकायले काम नगरेकै कारण मुख्य सडकका खाल्डा पुरिएका छैनन्। कतिपय ठाउँमा खाल्डा पुरिए पनि झारा टार्ने शैलीको भएपछि समस्या फेरि बल्भि्कएको छ।

प्रधानमन्त्रीले साउन १ गते १५ दिनभित्र उपत्यकाका सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए। त्यो समयसीमा कट्दा पनि तीनकुने–बानेश्वर, तीनकुने–कोटेश्वर, महाराजगन्ज–बूढानीलकण्ठ, केशरमहल–लाजिम्पाट, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चाबहिल–जोरपाटी, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टे, चाबहिल–गोपीकृष्णलगागत मुख्य सडकखण्डका खाल्डा जस्ताको तस्तै छन्। पुरिएका खाल्डा पनि टिकाउ भएनन्। महारागन्ज–बाँसबारी, चाबहिल–धोबीखोला, थापाथली–मैतीदेवी, महाराजगन्ज–बसुन्धारालगायत क्षेत्रका सडकमा पुरिएका खाल्डा टिकाउ भएनन्। ती ठाउँमा फेरि खाल्डा परे। खाल्डा पुर्न माटो र ग्राभेल मात्रै प्रयोग गरेका कारण यस्तो भएको हो।

मुख्य सडकका खाल्डाखुल्डी टाल्ने जिम्मा पाएका सरकारी तीन निकायका सचिव चार दिनदेखि सडक अवलोकनमा निस्कन नपाएको बताउँछन्। स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले कार्यालयको कामले सडक अनुगमनमा निस्कन नपाएको बताए। 'हामीले जिम्मा दिएका निकायलाई टेलिफोनबाटै घच्घच्याइरहेका छौं,' उनले भने, 'अझै पनि काम गर्नुपर्ने ठाउँ धेरै छन्, तर प्रधानमन्त्रीले दिएको समय थोरै भएकाले पनि त्यो अवधिभित्रै काम नसकिएको हो।'

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले पछिल्लो ४ दिनको कार्य प्रगति जिम्मेवार निकायले नपठाएका बताए। 'हामीले तीन निकायका सचिवलाई निरन्तर काम गर्न भनिरहेका छौं,' उनले भने, 'हामीलाई प्राप्त रिर्पोट अनुसार अझै पनि धेरै सडकमा खाल्डा पुर्न बाँकी देखिन्छ।'

प्रधानमन्त्रीको निर्देशनपछि खाल्डा पुर्ने जिम्मा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव थपलियालाई दिइएको थियो। तर समयसीमा सकिएको ६ दिन बित्दा पनि अवस्था उस्तै छ।

तीनटा मन्त्रालयका सचिवलाई सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायण गोपालचोक, थापाथली–माइतीघर, बाँसबारी–नारायणचोक, पुतलीसडक–हात्तीसार, हात्तीसार–बालुवाटार, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, नक्साल—भगवतीबहाल, गौशाला–जयबागेश्वरी, चाबहिल–गोपीकृष्ण, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगायत २१ स्थानका सडकमा परेका खाल्डा पुर्न निर्देशन भएको थियो। तर यी क्षेत्रका धेरैजसो खाल्डा पुरिएको छैन। तीन सचिवको नेतृत्वमा काम  भइरहे पनि त्यसले गति लिन सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले काम भइरहेको जानकारी दिए। उनले मुख्य सडकका धेरैजसो खाल्डा पुरिएको दाबीसमेत गरे। 'हामीले काम गरिहेका छौं,' उनले भने, 'सबै निकायको समन्वय नभएकाले पनि खाल्डा पुर्ने कार्यमा सुस्तता देखिएको हो।'

प्रधानमन्त्री कार्यालयका अनुसार खाल्डा पुर्ने जिम्मा पाएका निकायले पठाएको पछिल्लो तथ्यांकअनुसार हालसम्म ७५ प्रतिशत काम भएको देखिन्छ। मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले सडक अनुगमनका साथै निरन्तर काम भइरहेको जानकारी दिए। 'समयसीमा सकिए पनि खाल्डा पुर्ने कार्य भइरहेको छ,' उनले भने, 'जनताले दुःख पाउने ठाउँका धेरैजसो खाल्डा पुरिए।'

प्रकाशित: २२ श्रावण २०७४ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App