८ वैशाख २०८१ शनिबार
अर्थ

आइतबार सेयर कारोबार भएन

काठमाडौं- अत्यन्त प्रतिकूल अवस्थामा पनि नरोकिएको सेयर बजार कारोबार आइतबार रोकिएको छ। प्राविधिक कारण सेयर कारोबार हुन नसकेको नेप्सेले जनाए पनि लगानीकर्ता भने असन्तुष्ट छन्। लगानीकर्ताले नेप्से र सेयर दलाल व्यवसायीबीचको खिचातानीले एक दिनको कारोबार घाटा भएको जनाएका छन्। हालै सेयर बजारमा प्रत्येक दिन १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ।

यता सेयर दलाल व्यवसायीले प्रयोग गर्दै आएको ब्याक अफिस प्रणालीको बिलिङ प्रणालीमा नयाँ कमिसन दर समायोजन गर्न सम्भव नभएपछि आइतबार सेयर कारोबार हुन नसकेको जनाएका छन्। सेयर दलाल कम्पनीले नयाँ कमिसन दरसहितको मण्डला प्रणालीको नयाँ सफ्टवेयर जडान गर्न नसकेका कारण कारोबार स्थगित हुन पुगेको बताए। तर, सिस्टम अपडेट नभएको बहानामा कारोबार बन्द गरिएकोमा लगानीकर्ताले भने असन्तुष्टि जनाएका छन्।

नयाँ प्रणाली पूर्णरुपमा तयार भएपछि सोमबारदेखि नयाँ कमिसन दरका आधारमा सेयर कारोबार हुने सेयर दलाल व्यवसायीको भनाइ छ। धितोपत्र बोर्डको सिफरिसमा अर्थ मन्त्रालयले स्वीकृत गरेको नयाँ ब्रोकर कमिसन दर लागू गर्ने सन्दर्भमा प्राविधिक कारण सेयर दलाल व्यवसायीले आइतबार कारोबार स्थगित गरिदिन आग्रह गरेको नेप्सेले जनाएको छ।

प्राविधिक कारण आइतबारदेखि नै नयाँ कमिसन दर लागू गर्न नसकेपछि कारोबार रोक्का गरिएको जनाएको नेप्सेले उक्त ब्यहोरा धितोपत्र बोर्डमा पठाएको छ। नेप्सेले विज्ञप्ति जारी गर्दै सेयर दलाल व्यवसायीको आग्रहमा आइतबारको सेयर कारोबार स्थगित भएको जनाएको हो। हाल प्रयोग भइरहेको सफ्टवेयरमा आइतबार नयाँ कमिसन दर समायोजन गर्न नसकिएकाले सेयर दलाल व्यवसायी आइतबार बिहान धितोपत्र बोर्ड र नेप्सेमा छलफलका लागि पुगेका थिए।

धितोपत्र बोर्डले साउन ५ गते ब्रोकर कमिसन करिब ४० प्रतिशत घटाएको थियो। बजार र कारोबार दुवै बढिरहेको अवस्थामा कमिसन दर घटाउँदा ब्रोकरलाई फरक नपर्ने उनीहरुको भनाइ छ।

ब्रोकर कम्पनीले घटाइएको ब्रोकर कमिसन दर र त्यसको कार्यान्वयनबारे धितोपत्र बोर्ड र नेप्सेसँग छलफल गरेका भन्दै ब्रोकर कमिसन दर कार्यान्वयनका लागि प्रतिवद्धता पनि व्यक्त गरेका छन्। उनीहरुले तत्कालै सिस्टम अपडेट गर्न अनुरोध समेत गरेको जानकारी दिँदै नयाँ ब्रोकर रेट कायम हुने गरी सिस्टम अपडेट नभएको बताएका छन् । ब्रोकर कमिसन घटेको विषयलाई सकारात्मक ढंगले नै लिएको पनि उनीहरुले बताए।

कति लाग्छ ब्रोकर कमिसन?

अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शून्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ। यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो। त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शून्य दशमलब ५५ प्रतिशत लाग्नेछ। यस अघि शून्य दशमलब ९ प्रतिशत कमिसन लाग्दै आएको थियो।

त्यसैगरी ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शून्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शून्य दशमलब ५० प्रतिशतमा झारिएको छ। २० लाखदेखि १ करोडसम्मको कारोबारमा लाग्दै आएको शून्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शून्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ। १ करोडभन्दा बढीको कारोबारमा भने शून्य दशमलब ४ प्रतिशतमात्रै ब्रोकर कमिसन लाग्ने छ।

प्रकाशित: १० श्रावण २०७३ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App