७ वैशाख २०८१ शुक्रबार
राजनीति

कारवाही नगरे मन्त्री छोड्छुः मन्त्री मण्डल

आपूर्ति मन्त्री मण्डललाई २५ किलोको माला पहिर्‍याउँदै । तस्बिर : नागरिक

विराटनगर – वाणिज्य तथा आपूर्ति मन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले खरिद गरेको जग्गामा अनियमितता ठहर भए कारवाही गर्न कुनै तागतले रोक्न नसक्ने बताएका छन् । कारवाही थाले ‘समस्या’ हुने र थाम्नै नसक्ने ‘दबाब’ आउने चेतावनीपूर्ण खवरहरु आफूसमक्ष आइरहेको समेत मन्त्री मण्डलले खुलासा गरे। 

‘कतिपयले जग्गा खरिद प्रकरणमा कारवाही गर्दा समस्या हुने र कैंयौं ठाउँबाट आउने फोन कल थाम्न सक्नुहुन्न भन्ने खालको खवर सुनाइरहेका छन,’ विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आपूर्ति मन्त्री मण्डलले भने, ‘कसैको तागतले पनि कारवाही प्रकृया रोकिँदैन, शंका नगरे हुन्छ मैले मन्त्री छोड्नु पर्ने अवस्था आए बरु छोडौंला।’

नेपाल आयल निगमले चार जिल्लामा खरिद गरेको जग्गामा भएको अनियमितता ढाकछोप गर्न चलखेल भइरहेको बेला आपूर्ति मन्त्री मण्डलले जग्गा खरिदमा बदमाशी देखिए कारवाही कुनै ‘शक्ति केन्द्र’को प्रभाव र दबाबमा नरोकिने दाबी गरे । उनले निगमको जग्गा खरिद प्रकरण बारे माहान्यायाधिवक्ता मार्फत कानूनी सल्लाह लिइरहेको जानकारी पनि दिए । लेखा समितिले अख्तियारलाई दिएको प्रतिवेदनबारे आफूलाई जानकारी भएको र मन्त्रालयले पनि छानविनको लागि छलफल अघि बढाएको मन्त्री मण्डलले बताए । 

‘अनुसन्धान र तथ्यगत आधार अगाडि आइसकेपछि म जस्तोसुकै जोखिम लिएर पनि कारवाही गरिछाड्छु,’ मन्त्री मण्डलले भने, ‘संसदीय समिति, अर्थ समिति लगायतकाले पनि अनुसन्धान गरिरहेको छ, तथ्यगत प्रमाण खोज्दैछु, अनियमितता भएको भेटाउनै बित्तिकै कारवाही थाल्छु ।’

आपूर्ति मन्त्री मण्डलले भारतीय आयल कोपरेशन(आइओसी)सँग मिलेर नेपाल आयल निगमले पेट्रोलपम्प खोल्नेबारे आफूलाई जानकारी नभएको बताए । उनका अनुसार आइओसी र एनओसीबारे सबै विषय बुझ्न बाँकी छ । उनले चाडबाडको समयमा हुने कृत्तिम अभाव नियन्त्रणका लागि आफूले सबै विभागलाई निर्देशन दिएको बताए । ‘मन्त्रालय सम्हालेदेखि अनुगमन भए/नभएको पनि हेरिरहेको छु, दशैं–तिहारमा हुने कृतिम अभावलाई नियन्त्रण गर्ने र प्रभावकारी अनुगमन गर्ने, कालोबजारी गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी राखिन्न,’ उनले भने । 

मन्त्री मण्डलले पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्न चीन र बंगलादेशसँगका सम्झौता कार्यान्वयन गर्न पहल र प्रयत्न भइरहेको बताए । ‘विगतमा भएको अन्य देशसँगको सहमतिबारे जानकारी माग गरेको छु,’ मन्त्री मण्डलले भने,‘एकाधिकार अन्त्य गर्ने खालको सम्झौता र काम अघि बढ्छ ।’

मन्त्रीलाई २५ किलोको माला
यसैबीच मन्त्रीभएपछि पहिलो पटक गृहनगर आएका आपूर्ति मन्त्री मण्डललाई नेकपा माओवादी केन्द्र मोरङले २५ किलोको माला पहिर्‍याएर स्वागत गरे । एयरपोर्टमा सयौंको संख्यामा पुगेका माओवादीका नेता– कार्यकर्ताले मन्त्री मण्डललाई स्वागत गरे । ‘मोरङबाट पहिलोपटक माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाले मण्डललाई २५ किलोको मालाले स्वागत गरेका हौं,’ माओवादी केन्द्र मोरङका कार्यालय सचिव मुक्ति शर्माले भने । 

 

प्रकाशित: २२ श्रावण २०७४ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App