coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

क्लिन फिडले विज्ञापन बजार दोब्बर हुने

काठमाडौं- मन्त्रिपरिषदले पारित गरेको 'क्लिन फिड' नीति कार्यान्वयन भए नेपाली विज्ञापन बजार झन्डै दोब्बर बढ्ने देखिएको छ । एक वर्षभित्र क्लिन फिडसम्बन्धी नियावमवली बनाएर लागू गर्नसके यसबाट सरकारी राजस्वमै सकारात्मक प्रभाव पर्ने विज्ञापन व्यवसायीको भनाइ छ।

विज्ञापनरहित (क्लि फिड) विदेशी च्यानल प्रशारण हुन थालेपछि बहुराष्ट्रियलगायत अन्य कम्पनीको विज्ञापन बजार नेपालमै हुने भएका कारण अहिलेको बजार ह्वात्तै बढ्ने नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सन्तोष श्रेष्ठले बताए। 'यो नीति लागू भएपछि अहिलेको बजार दोब्बर बढ्ने देखिन्छ,' उनले भने।

उनका अनुसार हाल नेपाली विज्ञापन बजार मासिक ५ अर्ब रुपैयाँबराबको छ। नयाँ नीति लागू भए बजार करिब १० अर्बसम्म पुग्ने अनुमान छ। संसारका धेरै देशमा लागू भइसकेको क्लिन फिड नीतिले नेपाली मिडिया बजारमा सिधै फाइदा पुग्ने संघका पूर्वअध्यक्ष निर्मल पौडेलले बताए।

यो नियमपछि विदेशी च्यानलबाट देखिाइने बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमा बजाउन चाहे यहिँ आएर बनाउनुपर्नेछ। 'क्लिन फिड लागू भएपछि विदेशी च्यानलमा कुनै पनि विज्ञापन बज्दैनन्,' पौडेलले भने, 'उनीहरूले नेपाली बजारलाई विज्ञापन बजाउने हो भने नेपालमै आएर विज्ञापन बनाउनुपर्छ र नेपाली मिडियामा प्रयोग गर्नुपर्छ।' यसले गर्दा देशको राजस्व वृद्धि, रोजगारीका अवसर बढ्ने उनको भनाइ छ।

अहिले बहुराष्ट्रिय कम्पनीहरूले नेपाली बजारका लागि भनेर छट्टै विज्ञापन बनाउँदैनन्। उनीहरूले भारतीय च्यानलबाट नेपाली बजारलाई विज्ञापन पुग्ने र त्यहाँ छुट्टै बनाउनु नपर्ने सोच्दै आएको संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले बताए।

क्लिन फिड लागू भएपछि भने उनीहरूको सोचाइ परिवर्तन हुने विश्वास लिइएको छ। भारतीय च्यानलबाट आउने विज्ञापनको नेपाली बजारसम्म पहुँच हँुदैन। 'जुन च्यानलले नेपाली दर्शकलाई भनेर विज्ञापन बजाइरहेका छन्। ती सबै नेपालमै आएर विज्ञापन बनाउनुपर्ने हुन्छ,' कर्णिकार भन्छन्, 'यसले नेपाली विज्ञापन बजारको आकार बढ्ने निश्चित छ।'

त्यस्तै भारतका कलाकारले बोलेको विज्ञापन नेपाली डबिङ गरेर बोल्नुपर्ने अवस्थालाई पनि सरकारले हटाएको छ। क्लिन फिड नियमसँगै यसलाई पनि मन्त्रिपरिषद निर्णयले त्यसो गर्न नपाइने भनेपछि नेपाली भाषा, शैली, मौलिकताका विज्ञापन बज्नेछन्।

अहिलेको प्रश्न भनेको 'पे टिभी' हरूलाई क्लिन फिडमा जान समस्या होला भन्ने हो। ठूला च्यानलमा क्लिन फिडमा जान छुट्टै सिग्नलको व्यवस्था हुने भएकाले कुनै समस्या नहुने राजकर्णिकारको भनाइ छ। 

भारतका कतिपय ठाउँ, बंगलादेश, पाकिस्तान, अमेरिकी मुलुक, युरोपमा पनि क्लिन फिड नियम लागू भइरहेका छन्। 'यो विश्वव्यापी मान्यता भएकाले लागू गर्न कुनै समस्या छैन,' राजकर्णिकार भन्छन्, 'सरकारले एक वर्षको समय दिनुपर्दैन। तीन महिनाभित्र सबै काम पुरा गर्न सकिन्छ। तीन महिना दिएर सबै विदेशी च्यानललाई डाउनलिंकको व्यवस्था गर्न दिनुपर्छ।'

त्यस्तै विदेशी च्यानललाई नेपालमा क्लिन फिड नियम लागू भएको जानकारी गराउँदै त्यसै नियमअनुसार काम गर्न विदेशी च्यानललाई भन्नुपर्ने उनको भनाइ छ। 'हामीले यो नियम लागू गरेका छौं। तिमीहरू पे टिभी हो भने विज्ञापनरहित आऊ, निःशुल्क च्यानलमा हौ भने विज्ञापनसहित आऊ, हामीलाई कुनै समस्या छैन भन्नुपर्छ,' उनले भने। सरकारको निर्णयपछि अब आउने कुनै पनि टेलिभिजन नयाँ नियमअनुसार आउनुपर्छ भने अहिले सञ्चालन भइरहेका च्यानल क्लिन फिडमा जान सरकारले एक वर्षको समय दिएको छ।

क्लिन फिडमा गएपछि च्यानलको शुल्क र समयमा भने केही परिवर्तन हुनसक्ने व्यवसायीको भनाइ छ। पौडेलका अनुसार च्यानलमा आउने कार्यक्रमको समय हेरफेर हुनसक्छ। जसले दर्शकलाई खासै असर नगरे पनि विज्ञापनरहित च्यानल आउन थाले भने ग्राहकको शुल्क भने बढ्नसक्ने उनले संकेत गरे।

'च्यानलको शुल्क बढ्न सक्छ,' पौडेलले भने, 'तर, क्लिन फिडले गर्दा सरकारको राजस्वमै वृद्धि हुने भएकाले सरोकारवालाई सहुलियत दिएर शुल्क वृद्धि रोक्नुपर्छ।'

विज्ञापन काउन्सिल बनाउन प्रस्ताव

सरकारले अर्को आर्थिक वर्षदेखि क्लिन फिड लागू गर्ने निर्णय गरिसकेको अवस्थामा यसलाई लागू गराउनु मुख्य चुनौति रहेको छ। बहुराष्ट्रिय कम्पनीका लागि सानो बजार, भारतीय च्यानलको (विज्ञापनको पनि) बढ्दो प्रभावले गर्दा एकै पटक पे टिभीबाट क्लिन फिडमा जान सरकारले ठूलो चासो राख्नुपर्ने देखिन्छ।

यहि समस्या सम्बोधन गर्दै क्लिन फिड लागू गर्न विज्ञापन व्यवसायीले सरकारलाई 'विज्ञापन काउन्सिल' बनाउन प्रस्ताव गरेका छन्। 'यो नियम लागू गर्न सूचना मन्त्रालय अर्न्तगत हुने विज्ञापन काउन्सिल बनाउन हामीले सरकारलाई प्रस्ताव गरेका छौं,' पौडेलले भने, 'विज्ञापन एजेन्सी, मिडिया, केबुल नेटवर्क, सरकारलगायतको कमिटी बनाउन  प्रस्ताव गरेका छौं।' उक्त समितिले क्लिन फिड लागू गर्न कस्तो खालको मोडलमा जाने भनेर नियमावली बनाउने छ।

के हो क्लिन फिड?

क्लिन फिड भनेको विज्ञापनरहित कार्यक्रम हो। विश्वव्यापी रुपमा दुई किसिमका कार्यक्रम (च्यानल) हुन्छन्। एक क्लिन फिड र अर्को एड्भर्टाइजिङ फिड। यसका साथै निशुल्क च्यानल (फ्रि एयर) पनि हुन्छन्। क्लिन फिड नियममा च्यानल हेरेवापत शुल्क तिर्नुपर्छ तर विज्ञापन आउँदैन भने एड्भर्टाइजिङ फिडमा च्यानल हेरेवापत शुल्क तिर्नु पर्दैन तर, विज्ञापन बज्छन्।

नेपालमा भने अहिले विज्ञापनसहितका च्यानल (एड्भर्टाइजिङ फिड) आउँछन् र त्यसमाथि नेपाली उपभोक्ताले उल्टै शुल्क समेत तिर्नु परिरहेको छ। 'नेपाली उपभोक्ता दुवैतिरबाट घाटामा छन्,' संघका पूर्वअध्यक्ष पौडेल भन्छन्, 'हामीले विदेशी च्यानल हेरेवापत पैसा पनि तिर्नुपरेको छ र विज्ञापन पनि हेर्नुपरेको छ।'

त्यस्तै नेपालका सम्पूर्ण नेपाली च्यानल निःशुल्क हुन्। उपभोक्ताले च्यानल हेर्न शुल्क तिर्नु नपर्ने भएपछि उनीहरूले विज्ञापन बजाउन पाइने नियम छ। यदि विदेशी च्यानल निःशुल्क हेर्न पाइने हो भने विज्ञापन राख्न पाउनु उनीहरूको अधिकार हो र विज्ञापन राखे भने शुल्क लिन पाउँदैनन्।

ठूला च्यानलले विज्ञापनसहितका निःशुल्क कार्यक्रम र सशुल्कसहित विज्ञापनरहित दुवै कार्यक्रम बनाउँछन्। क्लिन फिड लागू भयो भने विज्ञापनरहित च्यानल हेर्न पाइनेछ जसलाई हामीले अहिले जस्तै शुल्क तिर्नुपर्छ। विदेशी कम्पनीले नेपाली उपभोक्तालाई विज्ञापन दिन परे नेपालमै आएर यहिँ बनाएर नेपाली मिडियामा दिनुपर्ने हुन्छ। 

प्रकाशित: १० श्रावण २०७३ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App