७ वैशाख २०८१ शुक्रबार
समाज

घटेनन् खाल्डाको जोखिम

काठमाडौं- गत असार ३० गते काठमाडौंको सामाखुशी युरिका हाइस्कुलमा पढ्ने विनिता फुयाँलको खाल्डामा खसेर ज्यान गयो। त्यस्तै, सामाखुशीकै सत्या सापकोटा ढलमा डुब्दा मुस्किलले बचिन्। राजधानीबाहिर शनिबार रौतहट गरुडा नगरपालिका–४ मा जोखिमपूर्ण खाल्डामा खसेर ४ बच्चीले ज्यान गुमाए।

सडकका बीचमा भएका ज्यानमारा खाल्डाका कारणले देशका विभिन्न ठाउँमा ज्यानै जानेसम्मका दुर्घटना भइरहेका छन्। जसका कारण बिहान स्कूल पठाएका बालबालिकाहरू बेलुकी घर फर्किने हुन् वा होइनन् भन्ने चिन्ता अभिभावकमा छ। 'सडकका खाल्डा पुरिन अब फेरि बाललिकाले नै ज्यान गुमाउनुपर्ने जस्तो देखियो,' पूरानो वानेश्वरकी  सुनिता थापाले नागरिकसँग भनिन्, 'अहिलेसम्म भिआइपीका आँखा पर्ने सडकखण्डमा खाल्डामात्रै पुरिएको छ तर खास जनताले दुःख पाएका सडकखण्डका धराप उस्तै छन्।'

खाल्डाकै कारण सर्वसाधारणले ज्यान गुमाइरहँदा सरोकारवाला निकाय भने खासै गम्भीर देखाएको छैन। अझै पनि मुख्य सडकखण्डमा ज्यानमारा घराप धेरै छन्। उपत्यकामा होइन अहिले देशका धेरैजसो सडकखण्ड जोखिम बन्दै गएका छन्। बर्षाको बेला अधिकांश सडक जलमग्न हुने र सडकबीचमा खनिएको खाल्डा नपुर्दा यस्तो समस्या आएको हो। सडकका यीनै धराप पुर्नका लागि प्रधानमन्त्रीले निर्देशन दिएको २२ दिन पुगेको छ। निर्देशनको समयसीमा सकिएको ७ दिन  बितेको छ। तर, यो बीचमा खासै काम भएको देखिँदैन। खाल्डा पुर्ने जिम्मा पाएका निकायले समयसीमा सकिएपछि त्यसतर्फ खासै ध्यान दिन छाडेका छन्। असार ३० गते भएको घटनापछि प्रधानमन्त्रीले उपत्यकाका मुख्य सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए।

निर्देशन पाएका निकायले जिम्मेवार भएर काम नगर्दा सडकको समस्या ज्यूँका त्यूँ छ। १५ दिनभित्र उपत्यकाका २१ स्थानका खाल्डा पुर्न प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेको संयोजकत्वमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई काम गर्न निर्देशन दिएका थिए।

तर,  निर्देशन पाएको २२ दिन बितिसक्दा पनि महाराजगन्ज–बूढानीलकण्ठ, केशरमहल–लाजिम्पाट, तीनकुने–बानेश्वर, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तिसार–गौशाला, जयबागेश्वरी–कालोपुल, गौरीघाट–गौशाला, चावहिल–चुच्चेपाटी, चावहिल–जोरपाटी, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टे, चावहिल–गोपिकृष्णलगायत मुख्य सडकखण्डका खाल्डा पुरिएको छैन। कुनै स्थानमा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले पछिल्लो सबै निकायलाई जोखिपूर्ण खाल्डा पुर्न निर्देशन दिइरहेको जानकारी दिए। उनले भने, 'हामीले तीन निकायका सचिवलाई रहेक दिन गरेको कार्य प्रगतिको विवरण पठाउन आग्रह गरिरहेका छौं तर सबै निकायले रिर्पोट पठाएका छैनन्।'

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले पछिल्लो समय धेरै सडकको समस्या समाधान भइसकेको जानकारी दिए। उनले पछिल्लो समय कार्यालयको कामले सडक अवलोकनमा निस्कन नपाएको बताए। 'समयसीमा सकिए पनि काम भइरहेको छ,' उनले भने, 'खाल्डा पुर्ने निकायलाई  निरन्तर घच्घच्याइरहेका छौं।'

प्रधानमन्त्रीको निर्देशन अनुसार थापाथली–माइतीघर, बाँसबारी–नारायणचोक, पुतलीसडक–हात्तीसार, हात्तीसार–बालुवाटार, सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायण गोपालचोक, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, नक्साल—भगवतीबहाल, गौशाला–जयबागेश्वरी, चावहिल–गोपीकृष्ण, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगायत २१ स्थानका खाल्डा पुर्नुपर्छ।  तर जुन ठाउँका खाल्डा पुर्न निर्देशन दिइएको थियो सोहि ठाउँमै खासै काम भएको देखिँदैन।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले मुख्य सडकका खाल्डा पुरिएको दाबी गरे। 'हामीले कामलाई निरन्तरता दिएका छौं,' उनले भने, 'सबै निकायको काम चुस्त नभएका कारण कामको प्रगती खासै नदेखिएको हो।' उनले जनताले दुःख पाउने ठाउँका धेरैजसो खाल्डा पुरिएको बताए।

प्रकाशित: २३ श्रावण २०७४ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App