५ वैशाख २०८१ बुधबार
विचार

शिव के हो?

आज साउन महिनाको सोमबार। नेपाललगायत संसारका हरेक स्थानमा बस्ने करोडौं सनातन धर्मावलम्बीहरु महादेवको उपासना गर्दै मन्दिर जाने, पूजा गर्ने र व्रत बस्ने गर्दैछन्। यो क्रम हजारौं वर्षदेखि चल्दै आएको छ र जबसम्म यो पृथ्वी रहन्छ तबसम्म चल्नेछ। वेलपत्रले शिवालयहरु ढाकिएका छन्। शिवको आराधनामा हजारौं भक्तहरु न्ाचगान गर्दैछन्। यो क्रम वर्षभर नै चल्ने भए पनि साउनमा धेरै बढी हुन्छ। किनकि साउन शिवलाई मन पर्ने महिना हो। साउनले मानिसलाई शिवतत्वमा जान प्रेरित गर्छ।

पशुपतिनाथ, डोलेश्वर महादेव, विभिन्न ज्योतिर्लिङ्गका रूपमा संसारभर पूजा गरिने र साउन महिनामा विशेष पूजा गरिने शिव भगवानहरुका पनि भगवानका रूपमा मानिन्छन्। तसर्थ अरु भगवानलाई देव भनिन्छ भने शिवलाई महादेव भनिन्छ। यतिमात्रै हैन, सनातन धर्मशास्त्रहरुले ब्रह्मा, विष्णु, इन्द्रलगायत सबै देवताको आयु तोकेको छ। यहाँसम्म कि यमराजको पनि आयु हुन्छ। तर शिवमात्रै एक यस्ता भगवान हुन् जसको आयु छैन। संसार भए पनि शिव छन् र संसार नभए पनि शिव छन्। यस्ता शिव को हुन् त? पार्वतीका पति, दिगम्बर, भोले जसको साकाररूपमा डमरु त्रिशूल लिएको मूर्तिको पूजा हुन्छ र निराकाररूपमा लिङ्गको पूजा हुन्छ, के यही नै शिवको परिचय हो?

शिवको परिचय उनी को हुन् भनेर दिने भुल कहिल्यै गर्नुहुन्न, शिवको परिचय उनी के हुन् भनेर दिनुपर्छ। जसले माथि भनिएको रूपमा शिवलाई चिन्छन् वा बुझ्छन् ती मूर्ख हुन्, अबुझ हुन्। भोलेको रूप हैन, तत्व बुझ्नेले मात्र शिवलाई बुझ्छन्। जसले शिव नबुझी शिवको उपासना गर्छ त्यसको कुनै अर्थ हुन्न। जसरी भक्ति नभई भोकै बसेर मात्र व्रत हुन्न, त्यसैगरी शिव नबुझी शिवलिंगको मात्र दर्शनले शिवत्व प्राप्त हुन्न।

सनातन पुराणमा केसम्म भनेको पाइन्छ भने संसारमा भएको सबै रुख बिरुवालाई कलम बनाएर, सातै समुद्रमा भएको पानीमा यहाँ भएका सबै माटो मिसाइ मसी बनाएर, देवी सरस्वतीले शिव महिमा भन्ने र गणेशले लेख्ने काम गरे पनि त्यो मसी सकिँदासम्म शिव महिमाको एक दशांस पनि सकिएको हुन्न। यस अर्थमा शिव बुझ्न र शिवबारे लेख्न सजिलो छैन। तैपनि सामान्य बुझाइमा शिव के हो भन्नेबारे छोटो चर्चा भने गर्न सकिन्छ। शिव शब्द संस्कृतको श इ व को मिश्रण हो। शको अर्थ नित्य सुख र आनन्द हो। इ को अर्थ मानव जाति हो जसलाई पुरुष शब्दले जनाउने गरिएको पाइन्छ। वको अर्थ  शक्ति हो। यस अर्थमा जुन पुरुषले नित्य आनन्द र जीवन बाँच्न ऊर्जा दिन्छन् त्यो नै शिव हो।

१.शक्ति :  शिव शक्ति हो। यसलाई आगोका रूपमा पनि व्याख्या गर्न सकिन्छ। ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ। हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ। तसर्थ जन्माउने र मोक्ष प्रदान गर्ने ऊर्जा शिव हो, भोले हो, पशुपति हो र हरेक महादेव मन्दिरका नामका पछाडि लागेका 'श्वर' हुन्। अबुझहरु चारखुट्टे जनावर र बुद्धि नभएकालाई पशु बुझ्छन् र त्यहीरूपमा व्यवहार गर्छन्। तर पशुको अर्थ त्यो हैन। पशु भनेको त जसले सुख र दुःख भोग गर्छ त्यो नै पशु हो। ब्रह्मादेखि मानवसम्म र चराचर जगतमा भएका सबै पशु हुन् शिवबाहेक। हामी पनि सबै पशु हौं। तर शिवमात्रै सुख दुःखबाट पर छन् र सबैको रक्षा गर्छन्। सुख दुःखमा परेकाको उचित रेखदेख गर्छन्। तसर्थ शिव सबैको पति हो, पशुपति हो। सनातन धर्मशास्त्रले शरीरको बल र विजयका लागि देवीको महिमा गर्छ भने आत्मबलका लागि शिवको। किनकि आत्मबल अरु सबै बलको जननी हो। तसर्थ शिव शक्तिको जननी पनि हो।

२.सुन्दरता :  सामान्यतया सुन्दरता नाप्ने यन्त्र भनेको रूप, शृंगार, राम्रा राम्रा लुगा र बहुमूल्य गहना हुन्। परापूर्व कालदेखि अहिलेसम्म यो प्रथा चलेको छ र चल्नेछ। अप्सराहरु, विष्णु, इन्द्र जस्ता देवतालाई यहीरूपमा सुन्दर बताइन्छ र वर्णन गरिन्छ। अझ श्रीकृष्णको सुन्दरताको बयान त उनको रूपबाटै सुरु हुन्छ र रूपबाटै अन्त्य हुन्छ। मानिस त्यस्तो सुन्दरताको अनुशरण गर्छन् र आफू समाजमा सुन्दर भएको भ्रममा बाँच्छन्। आधुनिक मानव जातिले बुझेको सुन्दरता यही नै हो।

तर जहाँ शिवको नाम हुन्छ, त्यहाँ सुन्दरताको अर्थ अलग हुन्छ। कुनै राम्रो बस्त्रबिना, कुनै शृंगारबिना र कुनै गहनाबिना केही संसारमै सबैभन्दा सुन्दर छ भने त्यो नै शिव हो। खरानी घसेर अर्धनग्नरूपमा जसले सुन्दरता देख्छ त्यो नै शिव हो। यही शिवको सुन्दरताको वर्णन हरेक देवताले गर्छन्। उपासना गर्छन् र मोहित हुन्छन्। सबैभन्दा सुन्दर भनिएको रूपमा बस्नेहरुको वर्णन देवता र मानवले मात्रै गर्छन् तर शिवको सुन्दरताको महिमा ती देवताका साथै दानवले समेत गर्छन् किनकि उनीहरुलाई थाहा छ शक्ति कहाँ छ र सुन्दरता के हो। त्यही मनको सुन्दरता बुझेका र पुजेका कारण देवताले दानवलाई सजिलै कहिल्यै पराजित गर्न सकेनन्। जहिले पनि झुट र छलको सहारामा देवताले दानवलाई पराजित गराए।

यसको अर्थ शिव तत्वले कहिल्यै बाहिरी रूपको सुन्दरतामा विश्वास गरेन। मनको सुन्दरताको बलले जसले संसार चलायो त्यो नै शिव हो। तसर्थ संसारका सबैभन्दा सुन्दर भनिने मुरलीमनोहर श्रीकृष्ण पनि सदाका लागि शिवको गौशालाका गोठाला बने। बुद्धिमान ऋषिहरुले कहिल्यै बाहिरी सुन्दरतामा ध्यान दिएनन् र शिवका उपासक बने। अहिले पनि जो भोले छ जो सत्यमा छ उसले कहिल्यै बाहिरीरूपमा ध्यान दिँंदैन र आत्मशुद्धिको बाटोमा आफूलाई लैजान्छ।

३. सत्य :  शिव सत्य हो। शिवमा छलकपट कहीँ छैन। शिवको अवतार छैन। शिवको कुनै अरु रूप छैन। शिवको कोही आफन्त छैन र कोही पराया छैन। यही कारण उनी भोले भनिन्छन् र भोलेकै रूपमा पुजिन्छन्। शिव कहिल्यै झुट बोल्दैनन्, शिव कहिल्यै धोका दिँदैनन्। अरु सबैको हजारौं जन्म भइसक्दा पनि शिव एक छन् र एकै रहनेछन्। शिव सत्य र सधँैं एकनासका रहने भएकाले उनलाई 'भोले' भनिन्छ। भोलेको अर्थ सत्य हो, सत्यबाहेक अरुको उपस्थिति भोलेमा छैन। जसको आँखामा छल छैन, मनमा कपट छैन र दिमागमा हिंसा छैन, त्यो नै भोले हो, त्यो नै शिव हो, त्यो नै शंकर हो र त्यो नै देवादिदेव महादेव हो।

४. आकार :  जसको कुनै आकार छैन, त्यो शिव हो। तसर्थ शिवलाई निरञ्जन निराकार भनिन्छ। डमरु बोकेका त्रिशूल हातमा लिएका महादेव त शिव वा भोले बुझ्न नसक्नेहरुका लागिमात्रै हो। जसले भोले बुझ्छ उसले शिवको निराकार रूपको मात्र उपासना गर्छ। अझ साकार र निराकारको बीचमा रुमलिएकाहरुका लागि लिंगका रूपमा निराकार शिव भेटिन्छन् तर जसले शिव बुझ्छ, त्यहाँ कुनै प्रकारको आकार हुन्न। जहाँ आकार हुन्न, त्यहाँ रूप हुन्न र जहाँ रूप हुन्न त्यहाँ मायामोह आदि केही हुन्न। हुन्छ त केबल भक्ति। तसर्थ जो सच्चाभक्त छ, ऊ भोलेको भक्त छ शिवको भक्त छ। यसै कारण शिवका परम अनुयायीहरु शिवलाई प्रकाशविन्दुका रूपमा पुज्छन्। प्रकाश विन्दुले ऊर्जा, शक्ति, उज्यालो, सत्यता, सुन्दरता र भोलेपन सबैको प्रतिनिधित्व गर्छ।

५. वैराग्य :  वैराग्य शब्दको अर्थ आफ्नो नभएको वस्तुप्रतिको अनाशक्ति हो। आधुनिक जमानामा यसलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। अझ कहीँ कतै त घर व्यवहार छाड्नुलाई वैराग्य भन्ने गरेको पाइन्छ, जुन शतप्रतिशत गलत हो। शास्त्रका अनुसार वैराग्य अत्यन्त सकारात्मक शब्द हो। शिव वैराग्यको प्रतीक हो। उनमा कुनै आशक्ति छैन। आशक्तिवालाहरु स्वर्गमा बस्छन् विलासिता भोग गर्छन्। शिव हिमालमा आफ्नो बास बनाउँछन् र मानव कल्याण गर्छन्। प्रतिकूल परिस्थितिमा बसेर जसले अरुप्रति आशक्त नभई मानव कल्याण गर्छ, त्यो नै शिव हो।

६. निरन्तरता :  शिव निरन्तरता हो। शिवको मृत्यु छैन। शिवको जन्म छैन। छ त केवल निरन्तरता। जसले संसार बुझ्छ र आफू शिवको निरन्तरताको एउटा पात्र हुँ भन्ने बुझ्छ, उसले शिव बुझ्छ। जहाँ क्रम भंग हुन्छ, जहाँ टुट आउँछ, जहाँ फुट आउँछ त्यहाँ भोले हुँदैनन्। भोले अविचलितताको प्रतीक हो। तसर्थ भोलेका शिवलिंगहरु पत्थरका हुन्छन्। जो भोलेका भक्त छन् ती पनि आफ्नो भक्तिमा आफ्नो प्रेममा र आफ्नो विश्वासमा अविचलित हुन्छन्। जो बिचौलिया हुन्छन् ती शिवभक्त हैनन् र हुनै सक्दैनन्।

शिव तत्व हो, शिव जीवनदर्शन हो, शिव विज्ञान हो, शिव पूरै परमात्मा हो र मानव जगत मरमात्माको अंश हो। यसरी शिवलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ। नत्र सदा दुःखी भई आफ्नो जीवन र सन्ततिको जीवनसमेत बर्बाद पार्छ। यसमा कुनै द्विविधा छैन।

प्रकाशित: १० श्रावण २०७३ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App