४ वैशाख २०८१ मंगलबार
समाज

हुलाकी सडकमा रात बिताउँदै बाढीपीडित

टीकापुर- भजनी नगरपालिका–८ खल्ला टोल र काँडाढिकका केही परिवार चार दिनदेखि हुलाकी सडकमा बास बसिरहेका छन्। बिहीबार राति घरमा बाढी पसेपछि उनीहरू ज्यान जोगाउन सडकमा आएका हुन।

बाढीले घर अझै चुर्लुम्म छ। खेतबारीमा जमेको पानी घटेको छैन। घरसम्म फर्किनका लागि डुंगा चलाउनुपर्ने अवस्था रहेकाले उनीहरूको तत्काल  घर फर्किने सम्भावना देखिँदैन।

ती दुई टोलमा मात्रै दुई सय ३० घरपरिवार बाढीको चपेटामा परेका थिए। उनीहरू राति नै गाईवस्तु बोकेर सडकमा आएका थिए। कतिपय हिँडडुल गर्न नसक्नेहरूले भने घरको माथिल्लो तलामा बसेर ज्यान जोगाएका छन्।

सडकमा बास बसेका केही परिवार भने बाढी घटेपछि फर्किएका छन्। उनीहरू घर फर्किए पनि बास बस्न सक्ने अवस्था नरहेको वडा सदस्य कृष्णलाल धमालाले बताए। 'केही परिवार घर फर्किएका छन' उनले भने, 'घर फर्किनु मात्रै हो। तर बस्ने अवस्था भने छैन।'

कतिपयका घर भत्किएका छन्। कतिपयका भने घरको तल्लो तलामा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सबै बाढीले बगाएको छ। यस्तो अवस्थामा उनीहरू घरमा बस्न सक्ने अवस्था नरहेको वडा सदस्य धमालाले बताए।

'यो वर्खाभरि नै उनीहरू घरभित्र बस्न सक्ने अवस्था छैन,' उनले भने 'ओभानो ठाउँ खोजेर रात काट्नु पर्ने वाध्यता छ।'

सोही वडा कृष्णनगरका मनिराम चौधरीको परिवार आइतबार अपरान्ह घर फर्किएको छ। उनीहरू घर फर्किदा घरको अवस्था निकै दयनीय थियो। तल्लो तलाको सबै बार भत्किएको थियो। खाद्यान्न सबै भिजेको थियो। लत्ताकपडा र भाँडाकुँडा सबै बाढीमा बगेका थिए। तीन रात सडकमा बाँधेका गाईवस्तु बाँध्ने कुनै ठाउँ थिएन।

'घर फर्किनुको विकल्प पनि त छैन,' उनले भने, 'जसोतसो टाउको छोप्ने बाटो बनाएको छु।'

यो समस्या एक्लो मनिरामका परिवारको मात्रै हैन। बाढी प्रभावित क्षेत्र काँडाढिक, खल्ला टोल, सुनाहाँफाँटा, कृष्णनगर, दैलेखीटोललगायतका बासिन्दाको समस्या हो। त्यहाँका सबै बाढी पीडितहरु हुलाकी सडकमा आएर ज्यान जोगाए।

वर्षाको समयमा अग्लो ठाउँमा गएर ज्यान जोगाउनुपर्ने हरेक वर्षको नियती जस्तै भएको थापापुरका रामकृष्ण चौधरी बताउँछन्। उनको परिवारका सबै सदस्यले तीन दिन हुलाकी सडकमा रात बिताए। आइतबार अपराह्न पथरैया नदी पुल नजिक भेटिएको उनको परिवार घर फर्किने तयारीमा थियो। चौधरीले यो वर्ष चाँडै घर फर्किन पाएको बताए। उनले २०६४ सालमा सबैभन्दा लामो समय घर बाहिर बस्नु परेको सुनाए।

'त्यो वर्ष २० दिनसम्म घर फर्किन पाइएको थिएन' उनले भने, 'यो वर्ष त तीन दिनमै घर फर्किन थालेका छौं।' चारैतिर बाढीले घेरेपछि केही बाढी प्रभावित अग्लो ठाउँको विद्यालयमा बास बसेका छन्। उनीहरू विद्यालयमा भोकभोकै बस्नु परेको छ। चारैतिर बाढीले घेरेका कारण राहत लिएर कोही जान सकेका छैनन्।

थापापुरकै मधुसुधन राजवंशीले राष्ट्रिय निमाविमा ५० परिवार बस्दै आएको बताए। विद्यालयको सानो कोठामा बस्नुपर्ने वाध्यता रहेको बताए।

'एउटै कक्षा कोठामा धेरैजना बस्नु परेको छ' उनले भने, 'बाढीका कारण बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र बिरामी समस्यामा छन्।'

यसरी घर बाहिर निस्कन नसकेकालाई डुंगाको सहायताले खानेकुरा घरसम्मै पुर्‍याउने व्यवस्था गरिएको छ। भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले काँडाढिकका बासिन्दालाई घरमै खानेकुरा पुर्‍याएको बताए। उनले डुंगाको सहायताले विभिन्न गाउँमा रहेका बाढी पीडितलाई भेटेको बताए। 'सबै ठाउँमा पुग्न सकिएन,' उनले भने, 'पुगेको ठाउँमा खानेकुरा दिएर आए।'

कर्णाली नदीले मोहना र मोहना नदीले काँडा र कन्द्रा नदीको पानीलाई थुनेपछि ती गाउँ डुबानमा परेका हुन। यसरी डुबानमा पर्नेमा एक हजार भन्दा बढी घरपरिवार छन्। अझै गाउँका चारैतिर पानी जमेको देखिन्छ। खेतमा जमेको पानी घट्न अझै कैयौं दिन लाग्ने स्थानीयले बताएका छन्।

प्रकाशित: २४ श्रावण २०७४ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App