स्कोप्ज- स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अन्तिम समयमा अभ्यासमा फर्किए पनि च्याम्पियन्स लिगको साबिक विजेता टोली मंगलबार म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युइएफए सुपरकपमा मैदान उत्रिँदा उनी आराममा हुनेछन्।
गत महिना रूसमा सम्पन्न अन्तरमहादेशीय कपपछि लामो छुट्टी पाएका रोनाल्डो गत सोमबार कर छली आरोपमा मड्रिडको अदालतमा बयानका लागि उपस्थित भएपछि उनको रियाल फर्काइ छायामा परेको थियो।
रियालका प्रशिक्षक जिनेदिन जिदानले गत साताको अन्त्यमा मात्र टोलीको अभ्यासमा फर्किएका ३२ वर्षे रोनाल्डोलाई उनको पूर्वक्लब युनाइटेडविरुद्ध मैदान उतारे त्यो आश्यर्य हुनेछ।
‘उनलाई आराम आवश्यक छ। उनी बिदामा थिए र त्यो महत्वपूर्ण थियो,’ रियालले दुई महिनाअघि सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा युभेन्ट्सलाई ४–१ ले पराजित गर्दा दुई गोल गरेका रोनाल्डोबारे जिदानले भने।
उक्त जितपछि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको रियालले कीर्तिमानी ३३औं पटक स्पेनिस ला लिगाको उपाधि पनि जितेको थियो।
‘रियाल मड्रिड सधैं उपाधि जित्न आतुर क्लब हो। हामी कहाँ छौं भन्ने हामीलाई राम्रोसँग थाहा छ। हामीले जुन प्रकारले गत सिजनको अन्त्य गर्यांै, त्यही प्रदर्शनलाई यस वर्ष पनि निरन्तरता दिन चाहन्छौं,’ अर्को साता स्पेनिस सुपर कपमा बार्सिलोनाको सामना गर्न तयार जिदानले भने।
यद्यपि सिजनपूर्वको अभ्यासका लागि ११ दिन अमेरिका भ्रमणमा बिताउँदा रियाल जितविहीन बनेको थियो। जहाँ रियाल अभ्यासको दोस्रो खेलमा युनाइटेडसँग पेनाल्टी सुटआउटमा २–१ ले पराजित भएको थियो। क्यालिफोर्नियामा सम्पन्न खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पहिलो खेलमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको रियाल अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग ३–२ ले पराजित भएको थियो।
स्पेनिस महारथी रियालले युनाइटेडको तुलनमा यस सिजन खेलाडी किन्नमा धेरै कम मात्र रकम खचर्ेेको छ।
रियालले रियाल बेटिसका ड्यानी केबालोस र एट्लेटिको मड्रिडका थियो हर्नान्डेजलाई कम मूल्यमा अनुबन्धित गरेको थियो।
यता बेन्पि्ककाका रक्षक भिक्टर लेन्डोफ, चेल्सीका मिडफिल्डर नेमान्जा माटिच र एभर्टनका स्ट्राइकर रोमेलु लुकाकुलाई मोटो रकममा भिœयाएको युरोपा लिग विजेता युनाइटेडले डब्लिनमा सम्पन्न खेलमा साम्पडोरियालाई २–१ ले पराजित गर्दै सिजनपूर्वको अभ्यास भ्रमण अन्त्य गरेको थियो।
युनाइटेड युइएफए सुपर कपको उपाधि जित्दै इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा अर्को आइतबार वेस्ट ह्याम युनाइटेडको सामना गर्नुअघि मनोबल उच्च पार्न चाहन्छ।
युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले अहिलेसम्म युइएफए सुपर कपको उपाधि जित्न सकेका छैनन्। सन् २०१३ मा चेल्सीमा रहँदा उनको टोली फाइनलमा बायर्न म्युनिखसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधिबाट विमुख भएको थियो।
मंगलबारको खेल आफ्नो पूर्वक्लबविरुद्धको भिडन्त भए पनि माउरिन्होले आफूमा त्यस्तो कुनै दुबिधा नभएको बताए।
‘म यस्तो अवस्थाका लागि अभ्यस्त भैसकेँ। मैले पोर्टो छोडेँ र त्यसको दुई महिनापछि नै च्याम्पियन्स लिगमा उनीहरूको सामना गरेँ,’ युइएफए डटकमसँग कुरा गर्दै माउरिन्होले भने, ‘मैले चेल्सी छोडेँ र त्यसको केही महिनापछि मैले उनीहरूको सामना गरें। म पूर्वक्लबविरुद्धको खेललाई भन्दा वर्तमान क्लबले गर्ने प्रदर्शनमा केन्द्रित छु। त्यसैले युरोपियन च्याम्पियन रियालविरुद्धको खेललाई मैले पूर्वक्लबविरुद्धको खेल मात्र नभई एउटा ठूलो अवसरका रूपमा लिएको छु।’
प्रकाशित: २४ श्रावण २०७४ ०३:४६ मंगलबार