८ वैशाख २०८१ शनिबार
कला

मोफसलमा यात्रामा दुई फिल्म

काठमाडौं- रिलिजको समय अगावै फिल्म प्रमोसनका लागि धमाधम देश दौडाहामा निस्कन थालेका छन्। केही समयअघि रिलिज भएका फिल्म 'म यस्तो गीत गाउँछु' र 'प्रेमगीत २' को देश दौडाहाको चर्चा सेलाउन नपाउँदै फिल्म 'भुँइमान्छे'ले सुरु गरेको दौडाहामा 'संरक्षण' र 'ग्याङ्स्टार ब्लुज' पनि थपिएका छन्।

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'संरक्षण'ले पूर्वको विराटनगरबाट प्रचारयात्रालाई सुरु गरेको छ। फिल्मका कलाकार मलिना जोशी, अशिष्मा नकर्मी, निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जन यतिबेला फिल्मको प्रमोसनमा मोफसलमा व्यस्त छन्। आइतबार उनीहरूले विराटनगरको हिमालय टाकिज र इटहरीको आइ सिनेमामा पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी गराए।

कार्यक्रममा निर्देशक झाले फिल्म मधेसको राजनीतिमा आधारित रहेको बताए। 'जनआन्दोलन २०६२/६३ पछिको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित राजनीतिक कथालाई प्रस्तुत गरेका छौं,' उनले भने, 'जहाँ पहाडी, मधेशी र थारू समुदायबीचको व्यवहारिक र मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरिएको छ। फिल्म पुलिस, प्रेस, पब्लिक, पावर र पोलिटिक्समा घुमेको छ।'

पुर्णेन्दु प्रोडक्सन, द्वारिका उदय प्रोडक्सन, श्रीवास्तव फिल्म्स् र हेटौंडा मुभी मेकर्स टिमको ब्यानरमा निर्मित फिल्ममा निखिल उप्रेती, सौगात मल्ल,  रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, निर्देश श्रीवास्तव, राज कटुवाल र सुशान्त श्रेष्ठको अभिनय छ।

रमेश रन्जन र निर्देशक पुर्णेन्दुकै कथा रहेको फिल्ममा प्रवेश मल्लिकको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन छ।

भदौ २ बाट प्रदर्शन हुने लागेको फिल्म 'ग्याङस्टर ब्लुज' पनि यतिबेला मोफसलमै छ। पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँमा प्रमोसनका लागि निस्केको टोलीमा कलाकारहरू आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही ठकुरीलगायत छन्। टोलीले शनिबार र आइतबार पोखराका विभिन्न ठाउँमा 'स्ट्रिट कन्सर्ट' सहित प्रचारात्मक कार्यक्रम गरेको छ। पोखराको ट्रेड मलमा शनिबार साँझ आयोजित कार्यक्रममा संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा र गायिका वाणिमा प्रधान गुञ्जँदा दर्शकहरू त्यही रहेका फिल्मका कलाकारसँग सेल्फीमा रमाए।

युवापुस्ता लक्षित फिल्मको प्रमोसनमा सहभागिता जनाउन विद्यार्थीहरू

पढाइ छाडेरै कलाकारसँग तस्बिर र सेल्फी खिचाउन आए। स्थानीय जनमैत्री क्याम्पस र ला ग्राण्डी इन्टरनेशनल कलेजमा भएको कार्यक्रममा आशिरमान र आनाको अटोग्राफ लिने युवायुवतीको घुँइचो नै लागेकेा थियो।

कार्यक्रममा फिल्म युनिटले गरेको फिल्म सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट भएका सात दर्शकले भदौ १ गते हुने प्रिमियरमा कलाकारसँगै अवसर पाएका छन्।

फिल्मका निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई फिल्मले न्याय गर्ने बताए। निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता र फिल्मका कलाकार प्रतिको क्रेजले फिल्मले सफलताको संकेत दिएको दाबी गरे।

प्रकाशित: २४ श्रावण २०७४ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App