१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण गाउँ नै विस्थापित, दस दिनलाई स्कुल बन्द

बाग्लुङ- जिल्लाको निशीखोला गाउँपालिका-१ र २ मा गएको पहिरोले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ। निशीखोला-१ को हुँल्दीको पूरै गाउँ नै पहिरोको जोखिममा परेपछि त्यहाँ स्थानीय कतिपयले आफन्तकहाँ शरण लिएका छन्।

कतिपय अग्लो पाखोमा गएर ज्यान जोगाएका छन्। गाउँभरी पहिरो झर्न थालेपछि लेकतिर भागेकाहरुले घरको अन्नपात निकालेर पुनः उतै गएको स्थानीय हुमबहादुर मल्लले बताए। ‘माथि लेकको दह भन्ने स्थानमा पानी जम्मा हुने पोखरी छ,’ उनले भने, ‘तीन दिनसम्म त्यहीँ पानीमात्र पिएर बसेकाहरु अहिले घरमा भएको अन्नपात बोकेर त्यतै लागेका छन्।’ उक्त स्थानमा एक सय जनाभन्दा बढी स्थानीयले आश्रय लिएको उनले बताए।

पहिरोका कारण गाउँ नै विस्थापित भएको निशीखोला- का वडाध्यक्ष इन्द्र मल्लले बताए। ‘पहिले देखि नै यहाँका जमिन कमजोर थियो,’ मल्लले भने, ‘अहिले मोटरबाटो ल्याउँदा थप कमजोर भयो। गाउँभरि करिब सयभन्दा बढी ठाउँमा पहिरो गएको छ। स्थानीय सबै त्रासमा छन्।’

निशीखोला-१ मा पहिलेदेखि पहिरो झरिरहने कारण धेरै नागरिकहरु विस्थापित हुँदै गएको उनले बताए। अहिले त गाउँभरि जताततै जुनसुकै बेला पहिरो जानसक्ने गरी जोखिम बढेपछि झन समस्या बल्झिएको छ।

‘यो बस्तीलाई नै अन्यत्र स्थानान्तरण नगरेसम्म यहाँको समस्या सधैं यस्तै रहन्छ,’ उनले भने, ‘बस्ती सार्नका लागि सरकारले सहयोग गर्नुपर्छ।’ उनले हुल्दीका दुई सय घरधुरीमा बसोबास गर्ने स्थानीय विस्थापित भएको जानकारी दिए।

पहिरोको जोखिमले गाउँ नै विस्थापित भएपछि त्यहाँ रसानन्द प्राथमिक विद्यालय पनि बन्द भएको छ। एक सय १३ जना विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा विद्यार्थी नआएपछि आइतबारदेखि बन्द भएको हो। विद्यार्थी उपस्थित नभए पछि १० दिनका लागि विद्यालय बन्द गरिएको शिक्षक बालिन्द्र मल्लले बताए।

‘पहिरोले गाउँ नै विस्थापित भएपछि विद्यार्थी विद्यालय आएका छैनन्,’ शिक्षक मल्लले भने, ‘शिक्षा कार्यालयलाई जानकारी गराएर दसैं तिहारको विदामा पढाउने गरी अहिलेलाई १० दिन विद्यालय बन्द गरेका छौं।’

मृतकका परिवारलाई एक लाख राहत

जिल्ला प्रशासन कार्यालय बाग्लुङले पहिरोका कारण ज्यान गुमाएका परिवारलाई जनही एक लाखका दरले राहत प्रदान गरेको छ। पहिरोले घर पूर्ण रुपमा क्षति भएकाले राहत स्वरुप १० हजारका प्रदान गरिएको छ। निशीखोला—२ मा पहिरोका कारण ज्यान गुमाएका मनिमान छन्त्याल, उनकी श्रीमती नन्दकली छन्त्याल छोरी गिता छन्त्याल र बुहारी बिन्दु छन्त्यालको आफन्त सीता छन्तयाललाई प्रति सदस्य एक लाख रुपैयाँका दरले चार लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।

पूर्ण रुपमा क्षति भएका  १० घरपरिवारलाई १० हजारको दरले राहत वितरण गरिएको गाउँपालिका अधयक्ष तारानाथ पौडेलले बताए। निशीखोला—१ हुँल्दीमा ज्यान गुमाएकी खगिसरा सिञ्जालीको परिवारलाई एक लाख र घर क्षति भएको एक परिवार १० हजार दिइएको छ। अध्यक्ष पौडेलले प्रशासनले दिने सहयोग प्रदान गरेको र थप सहयोगका लागि संघ संस्थाहरुसंग आग्रह गरिने बताए।

प्रकाशित: २४ श्रावण २०७४ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App