६ वैशाख २०८१ बिहीबार
राजनीति

इलाम पुगेर ओलीले भने: २ नम्बर प्रदेशको चुनावमा पनि देखाइदिन्छौं

इलाम-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई ‘दाग’ नलाग्नेगरी काम गरेर देखाउन आग्रह गरेका छन्। उनले राष्ट्रियता, असल आचरण, विचार र प्रस्ट कार्यनीतिका कारण एमाले स्थानीय तहमा देशकै पहिलो भएको भन्दै अबको निर्वाचनको परिणाम पनि जनप्रतिनिधिको काममै निर्भर हुने बताए।

                सदरमुकाममा मंगलबार सुरु ‘जननिर्वाचित प्रतिनिधिका लागि अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै ओलीले संघर्षको प्रतिफलका रूपमा ल्याइएको लोकतन्त्रलाई संस्थागत गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए। ‘तपाइँ–हामीलाई लोकतन्त्र कसैले किस्तीमा राखेर उपहारस्वरूप दिएको होइन,’ उनले जनप्रतिनिधिलाई भने, ‘बलिदान र संघर्षले ल्याएको लोकतन्त्र संस्थागत गर्न संविधानले दिएको अवसर, अधिकार सदुपयोग गर्नुस्।’

                ओलीले प्रदेश २ मा आउँदो असोज–२ मा हुने तेस्रो स्थानीय तह निर्वाचनमा पनि एमाले नै पहिलो हुने दाबी गरे । ‘अहिले आफूलाई मधेसको हुँ भन्नेहरूले मधेसमा एमालेलाई प्रवेश गर्न नदिने भनिरहेका छन्,’ उनले भने, ‘एमाले मधेसमा बाहिरबाट गइरहनु पर्छ र ? मधेसमै छँदैछ नि, मधेसी जनता नै एमाले हुन् ! हामी असोज २ मा उहाँ (मधेसवादी दलका नेता)हरूलाई मधेसका एमाले देखाइदिन्छौं।’ उनले मधेस र मधेसीका नाममा व्यक्तिगत स्वार्थका लागि नारा लगाउनेहरूका कारण त्यहाँका दलित, महिला, जनजातिलगायत समुदाय अहिलेसम्म पछि पर्न बाध्य भइरहेको बताए ।

                उनले नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति लक्षित गर्दै भने, ‘आफै भौगोलिक रूपले तराई र पहाड छुट्याउने प्रस्ताव (प्रदेश ५) ल्याउने अनि एमालेलाई मधेसविरोधी भन्ने हास्यास्पद तर्क पनि सुन्नुपरेको छ ।’ अध्यक्ष ओलीले नेपाल सार्वभौमसत्तासम्पन्न देश भएकाले कुनै ठूलो भौगोलिक क्षेत्र भएको देशले जे आदेश दियो, त्यही मान्नुपर्छ भन्ने बाध्यतामा नरहेको बताए । ‘राष्ट्रियता र स्वाभिमान कसैको सानो–ठूलो हुँदैन,’ उनले भने, ‘एमाले राष्ट्रियताको सबालमा पहिला पनि दृढ थियो र अहिले पनि उस्तै छ।’

                एमालेबाट विजयी स्थानीय तहका जनप्रतिनिधि र एमालेका नेता–कार्यकर्ताले कामको शिलशिलामा कुनै कमजोरी गरेको भए मौखिक वा लिखित रूपले आफूसामु राख्न उनले आग्रह गरे। ‘हामीसँग जोडिएको कुनै गुनासो र जिज्ञासा भए राख्नुस्, म सार्वजनिक रूपले त्यसको जवाफ दिन तयार छु,’ उनले भने। ‘एमालेबाहेक अरू कुनै आफूलाई देशको ठूलो दाबी गर्ने दलले यसरी प्रश्नको सामना गर्छु भनेको सुन्नुभएको छ ? त्यो अवसर म दिन्छु ।’

                अभिमुखीकरणमा प्रदेश नम्बर–१ अन्तर्गत १४ वटै जिल्लाबाट विजयी सांसदहरू, पार्टीका केन्द्रीय सदस्य, अध्यक्ष, स्थानीय निकाय विभागका प्रमुख तथा ती जिल्लामा एमालेबाट स्थानीय तहमा विजयी जनप्रतिनिधिसहितको सहभागिता छ । एमाले प्रदेश कमिटीले आयोजना गरेको बुधबारसम्म चल्ने अभिमुखीकरणमा साढे ३ सयजनाको सहभागिता रहेको एमाले जिल्ला कार्यालय सचिव नवराज शंकरले बताए । अभिमुखीकरणमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, सचिवहरू शेरधन राई र भीम आचार्य, केन्द्रीय सदस्यहरू र अन्य विषयविज्ञसमेतले सहजीकरण गरिरहेका छन् । त्यस अवसरमा इलाम गृहजिल्ला भएका वरिष्ठ नेता खनालले अध्यक्ष ओलीलाई ‘इलामको कोसेली’ बम्बईसन दिएका थिए।

प्रकाशित: २४ श्रावण २०७४ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App