१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दशगजामा सामुदायिक भवन

भारतले सूर्याेदय नगरपालिका–२, फाटक र भारतको रामग्राम ग्रामपञ्चायतबीच दशगजामा गुम्बा मर्मतका नाममा बनाएको सामुदायिक भवन । तस्बिर : भीम चापागार्इ‌

इलाम – भारतले पूर्वी सीमाको दशगजामा बौद्धगुम्बा मर्मतको निहुँमा सामुदायिक भवन ठड्याएको छ । नेपाली पक्षको पटक पटकको आग्रह बेवास्ता गर्दै उसले सूर्याेदय नगरपालिका–२ (साविक पशुपतिनगर–४) र भारतको रामग्राम ग्रामपञ्चायतबीच पर्ने दशगजामा सरकारी लगानीमै एकतले पक्की भवन निर्माण गरेको हो । दशगजाको सीमाभन्दा ३० फिट यताउता कुनै पनि संरचना बनाउन नपाउने अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गर्दै पुरानो गुम्बा मर्मतको बहानामा करिब ५० जना अट्ने नयाँ भवन बनाइएको हो । दशगजाको सानो सीमास्तम्भभन्दा पाँच फिटजतिको दूरीमै भवनको पिल्लर गाढिएको छ । भवनको पहिलो तलाको ढलाइसमेत सकिएको छ । वरिपरि पर्खाल लगाउन बाँकी रहे पनि भारतीयले यो भवनलाई भेला, गोष्ठी, बैठकलगायतमा प्रयोग गरिरहेका छन् । वरपर दशगजामै बनेका संरचनासमेत हटाएर सामुदायिक भवन बनाइएको हो। 

पशुपतिनगर सीमा प्रशासन कार्यालय प्रमुख मोहन पनेरुले गुम्बाको नाम गरेर भारतीय पक्षले सामुदायिक भवन बनाएको बताए । ‘हामीले निर्माण थाल्नु अघिदेखि नै संरचना नबनाउन पटक–पटक आग्रह गर्‍यौं,’ उनले भने, ‘तर, गुम्बा मर्मतका नाममा भारतले सामुदायिक भवन बनायो । भारतले जे बनाउन चाहेको थियो, त्यो संरचना निर्माण गरिसकेको छ ।’ पनेरुले नेपाली पक्षले चासो देखाएपछि भवनको नक्सा केही परिवर्तन गरेको तर दशगजाबाट भने नसारेको बताए ।  

भवन निर्माणका क्रममा बाहिरपट्टि जस्ता र प्लास्टिकले बारेर नदेखिने गरी भित्रभित्रै काम गरिएको थियो । सीमा क्षेत्रमा रहेका भारतीय प्रहरीले यो संरचना र वरपरको तस्बिर खिच्नसमेत अवरोध गर्ने गरेका छन् । स्थानीयका अनुसार ठूलो आकारको रड प्रयोग गरी पिल्लर र बिमसमेत निर्माण गरिएकाले कम्तीमा तीन तलासम्मको पक्की संरचना बनाउने भारतको योजना देखिन्छ । तर, दार्जिलिङसहित पश्चिम बंगालका पहाडी क्षेत्रमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण आमहड्ताल भएपछि अहिले निर्माण स्थगित छ।

नेपाल र भारतपट्टिका स्थानीयको पारिवारिक सम्बन्ध पनि भएकाले खुला रूपमा दुवैतिरबाट कसैले विरोध गरेका छैनन् । तर, यहाँका नेपाली दशगजा मिचेर संरचना बनाउँदा सन्तुष्ट भने छैनन् । धार्मिक र पर्यटकीय सम्पदाका नाममा भारतले दशगजा मिचेर भवन बनाइसकेको पशुपतिनगरका अगुवा मिलन क्षत्रीले बताए । ‘पहिला यहाँ गुम्बाकै निहुँ गरेर भारतले संरचना बनाउन निकै प्रयास गरेको थियो, हामीले दबाब दिएर रोक्यौं,’ उनले भने, ‘अहिले त स्थानीय मात्र होइन, सरकारी निकायको बारम्बारको आग्रहसमेत बेवास्ता गरेर पक्की भवन बनाइसकेको छ ।’ स्थानीय भने नेपाल पक्षको लाचारीकै कारण भारतले अटेर गरेर दशगजामै पक्की संरचना बनाउन भ्याएको बताउँछन् । भवन निर्माणका लागि भारत सरकारले ६० लाख रुपैयाँ लगानी गरेको स्रोत बताउँछ।

नापी विभागको टोलीले समेत यहाँ बनाइएको संरचना दशगजाभित्रै रहेको ठहर गरिसकेको छ । गत कात्तिकमा काठमाडौंबाट आएको विभागको टोलीले स्थलगत अध्ययन र नापजाँच गरेको थियो । विभागका प्रमुख नापी अधिकृत सुशील डंगोल नेतृत्वमा आएको टोलीले त्यतिबेला दशगजामा सीमास्तम्भको दुवैपट्टि ३०–३० फिटको भूभागमध्ये भारतपट्टिको भागमा संरचना बनाउन लागिएको ठहर गरेको थियो । डंगालले भनेका थिए, ‘त्यतिमात्र होइन, निर्माणाधीन भवन आसपासको दशजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घर–टहरासमेत बनाइसकेको रहेछ ।’ भारतले ७१/६, ७१/७ र ७१/८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको देखिन्छ। 

भारतीय निर्माणकर्ताले भने ४० वर्ष पुरानो टासी छोलिङ गुम्बाको मर्मत मात्र गरेको दाबी छाडेका छैनन् । निर्माण समिति अध्यक्ष बुद्ध तामाङले पुरानै गुम्बा मर्मत गरिएको बताए । ‘धार्मिक क्षेत्र भएकाले पुरानै गुम्बालाई मर्मत मात्र गरेका हौं,’ उनले नागरिकसँग भने, ‘गुम्बा बनाइएको स्थान दशगजा पनि होइन, हामीले ४–५ फुट छोडिदिएकै छौं ।’ तामाङले करिब १५ लाख रुपैयाँ लगानीमा तल्लो तलामा हल र माथिल्लो तलामा काठको गुम्बा बनाउने योजनासहित भवन बनाएको बताए । ‘पहिला करिब ६५ लाख रुपैयाँमा ३ तल्ले भवनसहितको गुम्बा बनाउने स्टिमेट नै थियो,’ उनले भने, ‘पछि विवाद आउला भनेर स्टिमेट चेन्ज गर्‍यौं ।’ 

प्रकाशित: २५ श्रावण २०७४ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App