१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लगातारको वर्षापछि वीरगन्ज जलमग्न, लाखौंको क्षति

वीरगन्जको आदर्शनरमा भएकाे डुवान।

वीरगन्ज– पछिल्लो समय लगातार भएको वर्षाका कारण वीरगन्जका अघिकांश भूभाग जलमग्न बनेका छन्। करिब ३ दर्जनका हाराहारीमा ट्रान्सपोर्ट कम्पनीहरु सञ्चालनमा रहेको आर्दशनगरका धेरै भूभाग डुबानमा परेका छन् भने शहरका अन्य भूभाग पनि डुबानमा परेका हुन्।

स्थानीयका अनुसार यसपाली बीरगन्ज उपमाहानगरपालिकामा डुबान र त्यसको क्षति अरु बर्षहरुभन्दा निकै धेरै छ । आदर्शनगरमा प्राकृतिक नाला पुरेर बनाइएको साँघुरो नालाले पानीको बहाब धान्न नसक्दा डुबानको समस्या देखिएको उनीहरुको भनाइ छ।

व्यपारीहरुले यसको लागि उपमाहानगरपालिका कार्यालय र वीरगन्जमा लागू ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’लाई जिम्मेवार मानेका छन्। ‘मेरो घर र सटरहरुमा यतिका वर्षमा कहिले पनि पानी पसेको थिएन्’ आदर्शनगरका विकास अग्रवालले भने, ‘यसपाली दुई पटक पानी पस्यो, धेरै क्षती भयो।’

२०७० वैशाख ४ देखि सुरु भएको योजनाको सम्झौताअनुसार ७५० दिन अर्थात् २०७२ जेठभित्र निर्माणकार्य पूरा भइसक्नु पर्ने थियो। निर्धारित अवधिभन्दा १३ महिना ढिलो भइसक्दा पनि भौतिक प्रगती ५८ मात्र प्रतिशत पुगेको छ। सहरको नाला र ढलहरुलाई दुरुस्त बनाउने यो योजनामा अलमलसँगै सहरवासीलाई सुविधाको साटो सास्ती हुन थालेको स्थानीयको गुनासो छ। म्ूल्य अभिवृद्धि करसहित २ अर्ब ४८ करोड ३६ लाख १ हजार रुपैयाँमा चीनको सीटीसीई र नेपालको कालिका कन्सट्रक्सन संयुक्तले ठेक्का लिएका हुन्। योजनामा ढिलाई हुँदा नगरवासीलाई समस्याभए पनि निर्माण कम्पनीलाई भने घाटा छैन। सम्झौताअनुसार उसले बिलम्बको लागत जोडेर पैसा लिन पाएकै छ।

‘निर्माण कम्पनीको वा उपमाहानगरपालिका कार्यालयका जिम्मेवार व्यक्तिहरुको नोक्सानी भएको भए पो काम हुन्थ्यो,’ कपडा ब्यवसायी सचिन अग्रवालले भने, ‘मेरो गोदाममा पानी पसेर लाखौंको नोक्सानी भइसकेको छ।’ उनीजस्तै गुनासो दर्जनौ व्यापारीको छ। सहरबासीले डुबान समस्याबाट राहत महसुस हुनेगरी काम थालेको सुरुमा दावी गरेका निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट मैनेजर ठाकुर ढकाल सहरका पुराना संरचनाले बाधा पुर्याएको बताए।

एक साताभित्र बेलाबेलामा परेको पानीले मुख्य आर्थिक कारोबार हुने आदर्शनगरका ब्यपारिक प्रतिष्ठान, तिनका गोदामा तथा पसलहरुमा करोडौं मूल्यबराबरका सामान नष्ट भएको छ। सयभन्दा बढी पसल र गोदामभित्र बर्षातको पानीले नोक्सानी पु¥याएको छ। यहाँका ट्रान्सपोर्टहरुमा गतिविधि रोकिएको छ। आदर्शनगरसँगै घडिअर्वा, पानी ट्यांकी मुर्ली, भिस्वालगायतका ठाउँमा पहिलेदेखि नै डुबान समस्या भए पनि योजना सुरु हुँदा स्थानीय वासिन्दा आशाबादी भएका थिए। अहिले योजनाकै अलमलले डुबान बढ्दा निराश छन्।

नाला र ढलको डिजाइन नै यहाँको भौगोलिक बनावटसँग बेमेल भएर समस्या भएको नगरबासीको चिन्ता छ। उपमाहानगरपालिका कार्यालयका तर्फबाट योजनाप्रमुख रहेका इन्जिनियर शैलेन्द्र श्रेष्ठले स्थानीयले शंका र यस्ता गुनासो आफूहरुसँग पनि गरेको बताए। ‘उहाँहरुको बुझाइ र यथार्थ फरक छ, डिजाइनले गर्दा डुबान बढेको होइन्, पुरानो नाला पुरिएकोले समस्या भएको हो, घरहरुको विचमा रहेको मुख्य नाला सफा गर्न एक्साभेटर लैजाने ठाउँ पनि छैन्,’ उनले भने, ‘गीता मन्दीर रोडदेखी ठाकुराम क्यामपस पछाडीसम्म १३ सय मटिर लामो अर्को नालाको काम थालिएको छ, बर्षात सकिनासाँथ पुरा गरिने छ, त्यसपछि आर्दशनगरको डुबान समस्या हट्ने छ।’ पुरै सहरमा पानी निकासको समस्या योजना पुराभएपछि सामाधान हुने उनको दावी छ।
 

प्रकाशित: १० श्रावण २०७३ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App