७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

गर्भपतनको औषधि जथाभाबी बिक्री

काठमाडौं- सूचीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन गर्न पाइने औषधि जथाभाबी बिक्री भएको पाइएको छ। गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स, मेरिप्रिस्ट र पे्रग्नोकिट गरी चार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएका छन्। मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुन् भने मेरिप्रिस्ट र पे्रग्नोप्रिस्ट किट्स नेपाली। तर, बजारमा यी बाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन्।

सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्तर्गत नौ हप्ताभित्र मात्र गर्भपतन गर्न मिल्ने कानुनी प्रावधान छ। त्यसका लागि आवश्यक औषधि प्रयोगका लागि स्वास्थ्य संस्थामा 'सुरक्षित गर्भपतन सेवा अंकित वोर्ड र प्रमाणपत्र देखिने गरी सेवा प्रदायक स्वास्थ्य संस्थाले राखेको हुनुपर्छ। सुरक्षित गर्भपतन सेवा कार्यक्रम अन्तर्गत सरकारले २००९ देखि गर्भपतन सेवा सुरु गरेको थियो जुन सेवा देशभरिका ५० जिल्लामा बिस्तार भइसकेको छ।

तर, निजी औषधि पसलले भने सरकारको यी मापदण्ड उल्लंगन गरी आफूखुशी यो औषधि बिक्री गरिरहेका छन्। नागरिक संवाददाता नाम चलेको सरकारी तथा निजी अस्पताल नजिकका फार्मेसीमा पुग्दा सबै जसो औषधी पसलेहरू चिकित्सकको पुर्जीबिनै औषधी दिन तयार भए। 'तालिम लिएको छैन, तर औषधी कसरी खाने बताउन सक्छु,' चाहविल ओम अस्पताल नजिकका एक औषधी पसलेले भने। टिचिङ अस्पताल बाहिरका अर्का औषधी पसलेले पनि  बिनापुर्जी दिन तयार हुँदै भने, 'सात सय पर्ने पनि छ हजार पर्ने पनि छ।'

नर्भिक अस्पताल थापाथली नजिककैको एक औषधी पसलले भने सोही औषधिको मूल्य एक हजार बताए। सोही ठाउँका अर्का औषधी पसलेले भने फरक मूल्य बताए। 'बाह्रदेखि पन्ध्र सयभित्रमा पाइन्छ,' अर्का औषधी पसलेले भने। बजारमा औषधीहरू पनि भारतीय र नेपाली कम्पनीका फरक–फरक मूल्यका छन्। राजधानीका वीर , प्रसूतिगृह , नर्भिक, टिचिङ , मेडिकेयर, ओम अस्पताल छेउछाउका सबैजसो औषधि पसलले यी औषधी फरक–फरक मूल्यमा बिक्री गर्ने गरेका छन्।

मात्रा मिलाएर दिन नजान्नेदेखि सही प्रयोग, हुन सक्ने जोखिमका बारेमा सही परामर्श नदिने समस्याले प्रयोगकर्ता जोखिममा पर्दै आएको आइपास नेपालकी कार्यक्रम संयोजक माधवी बज्राचार्यले भनिन्। उनका अनुसार सही तालिम नपाएका पसलेले उचित परामर्श दिन नसक्ने, गर्भको अवधि पहिचान गर्न नसक्दा प्रयोगकर्ता समस्यामा परेका छन्। 'लोकलाजको कारण गोप्य स्थान खोज्ने क्रममा सिधै पसलेकोमा पुगेको देखिन्छ,' उनले भनिन्, 'यही लुकीछिपी पुग्ने समूह बढी मात्रामा औषधि सेवनको जोखिममा पर्दै आएका छन्।

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठका अनुसार चिकित्सकको पुर्जीबिना औषधि बिक्री गरेको गुनासो आएको बताउँदै औषधि पसललाई पुर्जीबिना औषधी नबेच्न निर्देशन जारी गरिसकिएको बताउँदै त्यसो गरेको पाइएमा कारबाही गरिने बताए। 'त्यसो गरेको पाइएमा औषधि व्यवसायी संघको सदस्यबाटै निलम्बन गर्छौं,' उनले भने। संघले व्यवसायीलाई पटक–पटक तालिमसमेत दिँदै आएको उनले बताए।

त्यस्तै, नेपाल सरकार औषधि व्यवस्था विभागले पनि गर्भपतनको औषधि नियम विपरीत बिक्री वितरण भएको गुनासो आएपछि अनुगमन गर्दै आएको छ। विभागका निर्देशक नारायण ढकालका अनुसार अनुगमनका क्रममा कतिपय औषधी पसलमा विभागबाट अनुमति नपाएका गर्भपतनका औषधी पनि बिक्री गरेको भेटिएको थियो। कतिपयलाई कारबाही प्रक्रिया अघि बढाइए पनि कतिपय पसलहरूले अझै गैरकानुनी बिक्री गरिरहेका सूचना आइरहेको  उनले बताए। 'मुख्य कुरा सरकारको सूचीकृति स्वास्थ्य संस्थाबाट मात्र ती औषधि प्रयोग हुनु पर्‍यो,' उनले भने। यसको पूर्ण नियमनको लागि नेपाल सरकार, सुरक्षित गर्भपतन सेवाका सक्रिय गैरसरकारी निकाय र औषधि पसल मिलेर नीति बनाउन सकेमा मात्र जनचेतना प्रभावकारी हुने उनको सुझाव छ।

प्रकाशित: २६ श्रावण २०७४ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App