१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्लबहरूको महत्वाकांक्षी तयारी

लन्डन- साबिक विजेता चेल्सीलाई चुनौती दिने सबैभन्दा बलियो टोलीका रूपमा सरुवा बजारमा २० करोड पाउन्ड खर्च गरेर खेलाडी भित्र्याएको म्यानचेस्टर सिटीलाई हेरिएको छ। इङ्लिस फुटबलमा पेप ग्वार्डिवलाको पहिलो सिजन सन्तोषजनक हुन सकेन। उपाधि भिडन्तमा दाबेदारी प्रस्तुत गर्न नसकेको सिटीले विजेता चेल्सीभन्दा १५ अंकले पछि रहँदै तेस्रो स्थानमा चित्त बुझायो।

नयाँ सिजनमा उपाधि दाबेदारी बलियो बनाउनका लागि सरुवा बजारमा सिटी आक्रामक रूपमा प्रस्तुत भयो। तीन फुलब्याक (केली वाल्कर, वेन्जामिन मेन्डी र ड्यानिलो), गोलकिपर इडर्सन र प्लेमेकर बर्नान्डो सिल्भासहितको नयाँ अनुहार लिएर सिटीले नयाँ सिजनको सुरुआत गर्दै छ।

‘सबैलाई हराउन सक्ने टिम भनेको म्यानचेस्टर सिटी हो,’ म्यानचेस्टर युनाइटेडका महान् हस्ती रायन गिग्सले भने, ‘गत सिजनको अन्त्यपछि उनीहरूले जुन खेलाडी किनेका छन् त्यो डरलाग्दो छ।’

जति बेला सिटीको आक्रमण बलियो थियो, रक्षापंक्ति त्यति नै कमजोर थियो। त्यसैले पनि ग्वार्डिवलाको ध्यान रक्षापंक्तिमा बढी केन्द्रित भयो। ब्राजिलका इडर्सनले गोलपोस्टमा क्लाडियो ब्राभोको गल्तीलाई पुर्नेछन् भने महँगा रक्षक बनेका वाल्कर र मेन्डी रक्षापंक्तिमा भरपर्दा हुनेछन्। त्यससँगै सिटीसँग जोन स्टोन्स र इलिक्विम मागांला पनि हुनेछन्। सिटी आएर ९० करोड खर्च गरिसके पनि ग्वार्डिवलामा कुनै पछुतोभाव देखिएको छैन।

‘क्लबलाई सकभर कम खर्च गराऊँ भन्ने थियो। तर बजार भनेको बजार नै हो,’ सिटीका प्रशिक्षक ग्वार्डिवलाले भने, ‘हामीले मात्र होइन, सबै क्लबले ठूलो रकम खर्चिएका छन्।’

माउरिन्होको दोस्रो सिजन

ग्वार्डिवलाजस्तै उनकै छिमेकमा रहेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होको पनि ओल्ड ट्राफोर्डमा पहिलो सिजन राम्रो बितेन। युनाइटेड पछिल्लो चार सिजनमा तेस्रो पटक शीर्ष चारमा स्थान बनाउन असफल भयो। तथापि युरोपा लिग जितेर च्याम्पियन्स लिगको बाटो खुला बनायो भने लिग कपको उपाधिले क्लबलाई राहत दियो।

पुरानो पाना पल्टाउने हो भने माउरिन्होले दोस्रो सिजन उपाधि जितेको इतिहास छ। उनले पनि आफ्नो टोलीका सबै पक्षलाई सबल बनाएका छन्। भिक्टर लिन्डोफ, नामिन्जा भिडिच र रोमेलु लुकाकु त्यसका उदाहरण हुन्।

पोर्टो, रियाल मड्रिड र इन्टर मिलानमा छँदा दोस्रो सिजनमा उपाधि उचालेका माउरिन्होले इङ्लिस प्रिमियरमै पनि दुई पटकको चेल्सी बसाइमा दोस्रो सिजनमा उपाधि जितेका थिए। तर उनले यस सिजनको उपाधि दौडलाई भाग्यको जिम्मा लगाएका छन्।

‘सामान्यतया पहिलो सिजनभन्दा दोस्रो सिजन राम्रो भएको छ। तर यो आधुनिक फुटबल हो। सत्यतामा धेरै फरक छ,’ माउरिन्होले भने, ‘सबैका लागि अहिले धेरै गाह्रो छ। त्यसैले केही भन्न सकिँदैन।’

 लिग उपाधि रक्षा गर्दै च्याम्पियन्स लिगमा चुनौती पेस गर्नुपर्ने चेल्सीले तुलनात्मक रूपमा टोलीलाई बलियो बनाउन सकेको छैन। अग्रपंक्तिमा डिएगो कोस्टालाई अल्भेरो मोराटाले प्रतिस्थापन गर्नेछन्। माटिचको स्थान टिइमोउ बाकायोकोले लिनेछन्। एन्टोनियो रुडिगरले रक्षापंक्तिमा सुधार हुनेछ। तर अझै पनि चेल्सीमा केही खेलाडी अभाव छ। चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले पनि आफ्नो मुख्य उद्देश्य ‘माउरिन्होको सिजन’लाई रोक्नु हुने बताएका छन्। उनले अघिल्लो सिजन १०औं स्थानमा रहेको चेल्सीलाई उपाधि जिताएका थिए।

महत्वाकांक्षी एभर्टन

आर्सनलले गत सिजन एफए कप फाइनलमा चेल्सीलाई हराउँदै सनसनी मच्चाएको थियो। आइतबार मात्र पनि कम्युनिटी सिल्डमा चेल्सी आर्सनलसँग स्तब्ध बनेको थियो। तर आर्सनल प्रशिक्षक आर्सेन वेंगरले गत वर्ष टोलीमा देखिएको खाल्डो पुर्न सकेका छैनन्। तथापि वेंगरले एलेक्सजान्ड्रे लाकाजेट्लाई लियोनबाट भित्राएका छन्। एलेक्सिस सान्चेच र मेसुट ओजिलको सम्झौता अन्तिम वर्षमा छ। तत्काल नतिजा दिन नसके समर्थकबाट वेंगरले आलोचना खेप्नुपर्नेछ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको टोटेनह्यामका प्रशिक्षक माउरिको पोचेट्टिनो पुरानै टोलीप्रति विश्वस्त छन्। घरेलु मैदान ह्वाइट हर्ट लेन पुनर्संरचना गर्न लागेकाले टोटेनह्याम वेल्मली रंगशालासँग अभ्यस्त हुनुपर्नेछ।

गत सिजन चौथो स्थानमा चित्त बुझाएको लिभरपुलले मोहम्मद सलाह, डोमिनिक सोलान्के र एन्ड्रयु रोबर्टसनलाई भिœयाएको छ। तर लिभरपुलको उपाधि दाबेदारीमा महŒवाकांक्षी एभर्टनले चुनौती पेस गर्न सक्छ।  शीर्ष ६ स्थानभन्दा माथि उक्लने लक्ष्य राखेको एभर्टन सरुवा बजारमा आक्रामक रूपमा प्रस्तुत भएको थियो। एभर्टनले इङ्ल्यान्डका युवा प्रतिभा जोर्डन पिकफोर्ड र मिचेल केनलाई भिœयाएको छ। १३ वर्षसम्म युनाइटेडमा रहेर कीर्तिमानी गोल गरेका वायन रुनी बाल्यकालको क्लबमा फिरेका छन्। प्रिमियर लिगमा पुनरागमन गरेको न्युक्यासल युनाइटेडसँगै च्याम्पियनसिपबाट बढुवा भएका ब्रिघटन एन्ड होभ अल्वियन र हडर्सफिल्ड टाउनले पनि क्रमशः ३४ र ४५ वर्षपछि शीर्ष लिगमा चुनौती पेस गर्नेछन्।

प्रकाशित: २६ श्रावण २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App