सभ्यतामाथि हमला

शुक्रबार, २७ साउन २०७४, ०८ : ५८ युवराज गौतम


महाभारत युद्धको सार, रहस्य र सन्देश गहिराइमा बुझ्न गाह्रो छ । त्रेतायुगको रामायणभन्दा रोचक छ, महाभारत । युद्ध समाप्त भएको छत्तीस वर्षसम्म द्वारकामा राज्य गर्ने श्रीकृष्णको अवसानको कथा अझ रोचक छ । हरेक अध्याय (पर्व) र पात्रहरू रोचक छन् ।

युद्ध विसर्जनपछि द्वारकाको प्रसिद्धि र गाथा सुनेर देश–देशान्तरबाट आएका तपस्वी, ज्ञानी, ऋषि र ध्यानीहरूलाई यदुवंशी राजकुमारहरूले अपमान गर्छन् । संयम, सदाचार, मर्यादा र शिष्टाचार हराउँदै गएको त्यो राज्यमा ‘वंश नै नाश होस्’ भनेर ऋषिहरूले श्राप दिन्छन् । यादवहरूको अभिमान धुलिसात् तुल्याउन ऋषिहरूले “यो राज्यमा मुसल जन्मिन्छ र त्यो नै तिमीहरूको संहारको कारकतत्व बन्छ” भन्ने श्राप दिएपछि साम्ब नामको स्त्रीभेषधारीबाट मुसल जन्मिन्छ । यदुवंशीहरूले मुसललाई खरानी बनाएर समुद्रमा बगाए पनि त्यो खरानी किनारामा पुगेर एरिक नामको घाँस बन्छ । 
सात्यकी र कृतबर्माको दलमा विभाजित भएका यादवहरू रक्सी खाएर आपसमा लडाइँ गर्छन्, घाँसे मैदानमा । घाँस उखेलेर एक अर्कालाई हिर्काउँदा त्यो घाँस पुनः मुसल बन्छ । आफन्तहरू मारामार गरेर सिद्धिए भन्ने खबर सुनेपछि बलरामले प्राण त्याग गर्छन् । श्रीकृष्णलाई पनि असह्य दुःख लाग्छ । उनी रुखमुनि पल्टिएर दिक्क हुँदै सुतेको बेला एउटा सिकारीको दृष्टिभ्रम हुन्छ । उसले श्रीकृष्णलाई हरिण ठानेर बाण प्रहार गर्दा श्रीकृष्णको मृत्यु हुन्छ । महाभारतका महानायक श्रीकृष्ण सामान्य सिकारीको हातबाट मारिन्छन् ।

ऋग्वेदमा चारैतिरबाट आउने विचार मन्थन हुने ठाउँलाई संसद् भनिएको छ । ‘पार्लियामेन्ट’ शब्दभन्दा हजारौँ वर्ष पुरानो हो, संसद् शब्द । भारतका पूर्वसभामुख तथा प्रसिद्ध विद्वान् डा. बलराम जाखडले ‘पिपुल एन्ड पार्लियामेन्ट’ पुस्तकमा यसको सविस्तार व्याख्या गरेका छन् । तर, नेपाललाई केही वर्षअघि मात्र ‘समावेशी’ बनाइएको भनेर सस्तो बनाइएको छ। 

विनाशको समय आएपछि बुद्धिभ्रष्ट हुन्छ भन्ने यस्ता उपमा, उपदेश, कथा र प्रसंग धेरै पाइन्छन् । हजारौँ वर्षसम्म धर्म, सभ्यता, कला, संस्कृति, संस्कार र परम्परा जोगाउन सफल नेपाल आज अर्को कुरुक्षेत्र बन्ने हो कि भन्ने आशंका गर्नेहरूका लागि इतिहास र पुराण पनि पाठ बन्न सक्छन् । भनिन्छ, विवेकीहरू घटना–दुर्घटना, विगत र इतिहासबाट पाठ सिक्छन् । अविवेकीहरू आफैँ सिकार, बन्छन् । त्यसैले पछिल्ला केही वर्षमा नेपालमा जे भइरहेको छ, त्यसमा कतिपय घटना वा प्रसंगले हामीलाई सदैव झस्काइरहन्छन् । 

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकापछिको ‘चौथो अंग’समेत विचलित भइरहेको गुनासो सर्वत्र सुनिछ । हरेक वर्ष विदेशबाट प्राप्त हुने अर्बाैं रुपियाँको ‘गाडधन’ कहाँ, कसरी, किन र कसका लागि खर्च भइरहेको छ भनेर स्पष्ट जवाफ दिने र अनुगमन गर्ने कसले ? बाह्य सहायताका नाममा गृहप्रशासन, राष्ट्रिय सुरक्षा, न्याय प्र्रशासन, समाजसेवा, शिक्षा, स्वास्थ्य, परराष्ट्रनीति लगायतका यावत् क्षेत्रमा मुसल जन्माउने कृत्य सुरु भएको छ । नेपाल कुनै पनि बेला कुरुक्षेत्र बन्न सक्छ भन्ने तर्क कतिपयलाई घोर निराशाजनक, नकारात्मक र अतिरञ्जनापूर्ण लाग्न सक्छ । धेरै शान्त मानिने अफगानिस्तान, कम्बोडिया, इथिपोपिया, श्रीलंका, मोजाम्बिक, रुआन्डा, कंगो र सुडानको गृहयुद्धका कारकतत्व आन्तरिक जस्तो लागे पनि भत्काउने, बिगार्ने, लडाउने सबै बाह्य शक्तिका खेलाडी थिए । त्यसैले नेपालमा पनि विदेशी सहायता आउँदैमा खुसी मनाउनुपर्ने कुनै कारण देखिँदैन । त्यो हाम्रा लागि कालान्तरमा अत्यन्त घातक हुन सक्छ ।
नेपालमा पनि विदेशीको बाजीकरण ओखति र वंशीकरण मन्त्रको प्रयोग यत्रतत्र सर्वत्र पुगेको छ । केही सञ्चारमाध्यममा सीमित लेखक–विश्लेषकले राष्ट्रहितका पक्षमा विचार अभिव्यक्त गर्दै आएका छन् तर यदाकदा त्यस्तो स्वतन्त्र चिन्तनमाथि प्रतिबन्ध लगाउन पनि बाह्यशक्तिकै निर्देशन आउने गरेको पाइन्छ । 

उहिले–उहिले त्रिकालदर्शी, विद्वान्–विदुषी, अत्यन्त ठूला ज्ञानीजनहरूले भविष्यमा हुन सक्ने सबै कुरा पहिले नै बताउँथे । नेपालमै रचना गरिएको मानिने ‘सुमतितन्त्र’ ग्रन्थमा लेखिएको छ, “दुर्योधन राजा भएपछि कलियुग लाग्नेछ । राजा युधिष्ठिर र राजा दुर्योधनको संवत् दुई हजार वर्ष चल्नेछ । त्यसपछि आठ सय वर्ष राजा नन्दको संवत् चल्नेछ । त्यसपछि १३२ वर्ष चन्द्रगुप्तको संवत् चल्नेछ । त्यसपछि २४७ वर्ष शुद्रकदेवको र त्यसपछि ४९८ वर्षसम्म शक राजाको संवत् चल्नेछ । त्यसपछि ३०४ वर्षसम्म राजा मानदेवको संवत् चल्नेछ ।” सुमतितन्त्र गलत थियो भने २०००+८००+१३२+२४७+४९८=३६७७ कलिगत वर्ष बितेपछि मानदेव संवत् (लिच्छवी काल) आउने थिएन । विसं ६३३ देखि मानदेव संवत् चलेको र मानदेव प्रथमले ४१ वर्ष शासन गरेको स्पष्ट प्रमाणित हुन्छ । पाँच हजार वर्ष लामो सभ्यताको लिखित इतिहास भएको नेपालमा ‘नयाँ नेपाल’ कहिले, कसरी र कसका पालामा सुरु भयो भनेर आत्मसन्तुष्टिका लागि बहस गर्न सकिएला तर इतिहास छोप्न, बिर्सन र निमोठ्न सकिँदैन । 

गुरु रिम्पोछे पद्म सम्भवले संसारमा कुनै दिन आकाशमा फलामको चरो उड्छ भनेका थिए । विमानको आविष्कार हुनुभन्दा सयौँ वर्षअघि उनले गरेको भविष्यवाणी सफल भयो । नेपालको फर्पिङ र हलेसीमा बसेर ध्यान गरेका पद्म सम्भवले नेपाल, चीनलगायतका कैयन् राष्ट्रबारे भविष्यवाणी गरेका छन् । उनले यी राष्ट्रलाई सभ्यताको भूमि भनेका छन् । अफगानिस्तान र पाकिस्तान नजिक पर्ने स्वाठ उपत्यकामा राजकुलमा जन्मिएका पद्म सम्भवजस्ता विद्वान्ले नेपालबारे गरेका भविष्यवाणी पढ्दा गौरव गर्नुपर्नेमा राज्यका नीति निर्माताहरूले इतिहास, संस्कृति र परम्पराको अपमान गरिरहेको पाइन्छ ।  
‘लिच्छवी संस्कृति’ ग्रन्थमा इतिहासकार जगदीशचन्द्र रेग्मीले आठ सय वर्षसम्म नेपालमा लिच्छवी राजाहरूले गरिमामय शासन गरेको लेखेका छन् । इतिहासका विद्वान् रामजीप्रसाद अर्यालले पाँच हजार वर्ष लामो इतिहासमा १९२ जना राजाले नेपालमा शासन गरेको लेखेका छन् । कला, साहित्य, धर्म परम्परा, रीतिथिति र सभ्यताको रक्षा गर्न उनीहरूले महत्वपूर्ण योगदान गरेको इतिहासकारहरूको तर्क छ । हजारौँ वर्ष स्वतन्त्र रहनु नै गर्वको कुरा हो भने त्यसबीचमा नेपाली सभ्यताको रक्षा गरेर जनतालाई सदैव संरक्षण, सम्पोषण तथा संवद्र्धनको अनुभूति गराउनु राज्यको ठूलो सफलता थियो।

नेपाललाई केही वर्षअघि मात्र ‘समावेशी’ बनाइएको भनेर बुझ्नु गलत हुनेछ । समावेशी (इन्क्लुसिभ) शब्द अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सस्तो बनाएका छन् । ऋग्वेदमा चारैतिरबाट आउने विचार मन्थन हुने ठाउँलाई संसद् भनिएको छ । ‘पार्लियामेन्ट’ शब्दभन्दा हजारौँ वर्ष पुरानो हो, संसद् भन्ने शब्द । भारतका पूर्वसभामुख तथा प्रसिद्ध विद्वान् डा. बलराम जाखडले ‘पिपुल एन्ड पार्लियामेन्ट’ पुस्तकमा यसको सविस्तार व्याख्या गरेका छन् । 

हीनताबोधले थिचिएर हाम्रो (पौरत्स्य) सबै खराब र पश्चिमाहरूको सबै राम्रो ठान्नु उचित होइन । नेपाल सयौँ जातजाति, विविध विचार र परम्पराको साझा थलो मान्नेहरूले अमुक राजनीतिक विचार, अमुक जात र अमुक मानिसहरूलाई जरैसँग मास्नुपर्छ भन्नु ‘समावेशी र लोकतान्त्रिक’ हो कि होइन ? पृथ्वीनारायण शाहले आफ्ना प्रिय विराज बखेतीलाई काजी बनाउनुको सट्टा जनताका प्रिय कालु पाँडेलाई काजी (मन्त्री) बनाएको इतिहासमा पाइन्छ । तर दलका अगुवाहरूले गाउँपालिका र नगरपालिकामा पनि आफ्ना प्रियजनलाई उम्मेदवार बनाउन हुकुम प्रमांगी गरेको कुरा स्थानीय तहको निर्वाचनमै देखियो । जनताका प्रियजन कहाँ छन् भनेर सोच्ने फुर्सद पनि भएन । 

सभ्यतामाथि कसरी हमला हुन्छ भन्ने अध्ययन गर्दा होन्डुरसको इतिहासबाट केही सिक्न सकिन्छ । माया सभ्यतासँग गाँसिएको होन्डुरसमा सन् १५०२ मा क्रिस्टोफर कोलम्बसले पाइला टेके । १५२६ देखि स्पेनको दासराज्य भयो होन्डुरस । सन् १८२१ मा स्वाधीन भए पनि स्वतन्त्रता बचाउन सकेन । निकारागुवासँगको लामो द्वन्द्वले खुसी हराउँदै गयो । ‘सभ्यता बचाउने कि प्राण ?’ भनेर बुद्धिजीवीहरू बहस गर्न थाले । राजनीतिक अस्थिरता रोकिएन भने सभ्यतामाथि निरन्तर प्रहार भइरहन्छ । राष्ट्र कमजोर बन्छ । राष्ट्र डुबोस् तर सत्ता रहोस् भन्ने एरिक होनेकर, निकोलाई चाउनेस्कु, लेन्डुप दोर्जे वा अनबर होजा प्रवृत्तिलाई जनताले प्रोत्साहन दिए भने नेपालको सभ्यता पनि लोप भएर जाने सभ्भावना देखिन्छ ।

राष्ट्रनिर्माण (नेसन बिल्डिङ) प्रक्रियामा व्यवधान ल्याएर जात, क्षेत्र, दल र सम्प्रदायका मात्र कुरा गर्नेहरूले राष्ट्रिय एकता र सभ्यताको रक्षा गर्न सक्दैनन् भन्ने जगजाहेर भइसकेको छ । त्यसैले विदेशीको चरम हस्तक्षेप हुँदा पनि उनीहरू मौन बसिरहेका छन् ।

जर्ज बर्नाड शा तथा अस्कर वाइल्डको सुन्दर जीवनी लेखेर प्रसिद्धि कमाएका अमेरिकी पत्रकार प्््रmयांक ह्यारिसले भनेका छन्, ‘राष्ट्रको पहिचान मास्न खोज्नेहरू जघन्य अपराधी हुन् ।’ नेपालमा आफ्नो गोत्र, जात र गाउँको पहिचान खोज्नेहरूले राष्ट्रिय एकता र राष्ट्रिय पहिचानका धरातल र आधार बिर्सन खोजेका छन् । अर्थात भुइँको टिप्न खोज्दा पोल्टाकै पोखिने अवस्था छ ।

नेपालमा प्राचीनकालमा नरबलि दिने प्रचलन थियो भनेर जनकलाल शर्मालगायतका विद्वान्हरूले उल्लेख गरेको पाइन्छ । हरिसिद्धि (ललितपुर) गाउँको मन्दिरमा वर्षैपिच्छे नरबलि दिइन्थ्यो र पछि बाह्र वर्षको  अन्तरालमा मात्र नरबलि दिने प्रचलन बस्यो । देवी देउतालई खुसी पार्न मान्छेको मासु सुकाएर धुप बनाई बाह्रवर्षसम्म मन्दिरमा बाल्ने गरिएको इतिहासकारहरूले लेखका छन् । यस्तै क्षेत्रपाटीको घोप्टे गणेशको मन्दिरमा आज पनि राँगाको बलि दिइन्छ । यो सभ्यताको नाममा बसाइएको गलत प्रचलन थियो । विधर्मीहरूले यस्ता बलिप्रथा, गलत संस्कार, जातीय छुवाछुत आदि देखाएर प्राचीन सनातन संस्कृतिमाथि हमला गरिरहेको पाइन्छ । प्रत्येक वर्ष करोडौँ डलर खर्च गरेर नेपालको सभ्यता निर्मूल गर्न खोज्नेहरूले घरघरमा विभाजन ल्याउन चाहेका छन् । तसर्थ, आफ्ना कमजोरी सच्याउन मार्गदर्शकहरू नै तयार हुनुपर्छ ।

अवतारवादको सिद्धान्त मानेर पुर्खा, माटो र उद्गम खोज्ने हो भने मत्स्य, कुर्म, र वराह अवतारसम्म पुग्नुपर्ने हुन्छ । मत्स्य, कुर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीलाई चौध अवतार मानिएको वराहपुराणमा उल्लेख छ । त्यहीअनुसार जातीय विभाजन गरेर संघीयताको ढाँचामा टाँचा लगाउँदै मत्स्य, कुर्म, बराह आदि प्रदेश बनाउनुपर्ने हुन्छ । पृथ्वीनारायणले ‘सबै जातको फूलबारी’ भनेर राष्ट्रिय एकताको सन्देश जो दिएका छन्, त्यसलाई शिरोधार्य गर्दा मात्र हामी सबै सुरक्षित रहन्छौँ र संरक्षित रहन्छ हाम्रो सभ्यता ।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन्...

थरिथरि भाका, थरिथरि सन्देश

थरिथरि भाका, थरिथरि सन्देश

तीज आउन अझै केही दिन बाँकी छ। तर, तीजका गीत भने महिनाअघि नै घन्किन थालिसकेका छन्। महिनाअघि घन्किन थालेका तीज...

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

अविरल वर्षाका कारण तराईमा भएको डुबानले पीडितको सहयोगार्थ गायक तथा संगीतकार दीप श्रेष्ठ शनिबार ललितपुरको झम्सिखेलस्थित मोक्षमा गुञ्जिने भएका छन्। 'विकेन्ड...

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र...