काठमाडौं – आदिवासी समुदायको मौलिकता झल्काउने पहिरनले विश्व समुदायमा बजार नपाइरहेको गुनासो बढिरहँदा आदिवासी फेसनमा चासो राख्ने भारतीय नागरिक आर्बिन शर्माले पनि आदिवासी पहिरनलाई प्राथमिकता दिन जोड दिएका छन् । वल्र्ड इन्डिजेनियस फेसन काउन्सिलका अध्यक्ष शर्माले नेपाली आदिवासी समुदायको पहिरन अन्य देशका आदिवासी समुदायको भन्दा फरक रहेकाले विश्वस्तरमा यसको प्रबद्र्धन गर्न डिजाइनरलाई सुझाव दिए।
सन् २०१८ मा नेपालमा ‘वल्र्ड इन्डिजेनियस फेसन विक’ आयोजना गर्ने तयारीका लागि नेपाल आएका शर्माले स्वदेशको संस्कृतिबारे फेसन डिजाइनरलाई थाहा हुनुपर्ने बताए । ‘म यहाँ आउँदा डिजाइनरहरुलाई आफ्नो संस्कृतिको बारेमा धेरै जानकारी नभएको पाएँ । अब डिजाइनर जाग्ने बेला आएको छ,’ राजधानीमा बिहीबार आयोजित भेटघाट कार्यक्रममा शर्माले भने, ‘राम्रो कन्सेप्ट बनाएर आदिवासी पहिरनको डिजाइन गर्नुपर्छ । आदिवासी पहिरनलाई प्रबद्र्धन गरौं।’
शर्माले डिजाइनरले आफ्नो देशको जातीगत पहिरनका बारेमा बुझ्ने समय आएको बताए । ‘पहिरनका रंग, डिजाइनलगायतका विषयमा ध्यान दिन आवश्यक छ । ठूला देशमा हुने आदिवासी फेशन शोमा सानो देशका डिजाइनरले स्थान पाउँदैनन् । त्यसकारण हामीले उनीहरूलाई काउन्टर दिनका लागि पनि डिजाइनमा नयाँ कन्सेप्ट ल्याउनुपर्छ ।’ शर्मा फेशन फेडेरेशन नेपालको निमन्त्रणमा नेपाल आएका हुन् ।
कार्यक्रममा फेडेरेसनका नेपाल अध्यक्ष नवीन लुइँटेलले नेपालमा हुने फेसन विकमा सात महादेशका डिजाइनर्स, वायर्स, विदेशी पाहुनाको उपस्थिति हुने बताए । ‘देशको संस्कृति, परम्परा, कलालाई विश्वसामु प्रदर्शन गर्न र विश्व बजारमा पोशाक बिक्री गर्न सकिने वातावरण बनाउन फेसन विकले टेवा पुर्याउनेछ,’ उनले भने।
फेडेरेशनका अनुसार यो वर्ष अफ्रिकाको सेसेल्समा आयोजना हुने ‘वर्ल्ड इन्डिजिनियस फेशन विक’मा नेपालका तर्फबाट पाँच फेसन डिजाइनर सुस्मिता आले, सुभासिनी सिंह, कैलाश कुँवर, प्रेमकुमार देव र उत्तम बनेपाली सहभागी हुँदैछन्। उनीहरूले नेपालबाट विशेष किसिमको आदिवासी पहिरनको डिजाइन प्रस्तुत गर्नेछन्।
प्रकाशित: २७ श्रावण २०७४ ०५:०४ शुक्रबार